Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकोरियाका लागि उडान प्रतीक्षामा बस्न युवाहरूलाई आग्रह

कोरियाका लागि उडान प्रतीक्षामा बस्न युवाहरूलाई आग्रह


काठमाडौँ । 
दक्षिण कोरियाली नेपाली कामदार भित्र्याउन चासो दिएको छ । कोभिड महामारीको कारण स्थगन भएको कोरिया रोजगारी खुला गर्न पछिल्लो समय कोरियाले नै चासो व्यक्त गरेसँगै युवाहरूलाई उडान सुचारु हुने प्रतीक्षामा बस्न सरकारले आग्रह गरेको छ । यसअघि नेपाली पक्षले कोरिया रोजगारी खुला गर्नका लागि कोरियाली पक्षलाई आग्रह गर्दै आए पनि त्यसलाई बेवास्ता गर्दै आएको थियो ।

कोरोनालाई मध्यनजर गर्दै कोरियाले राखेको शर्तहरू नेपाल सरकारले स्वीकार गर्ने भएसँगै कोरिया रोजगारी खुला हुने सम्भावना बढेको हो । कोरियन पक्षबाट त्यहाँको रोग नियन्त्रण महाशाखाको विभिन्न स्वास्थ्य मापदण्डलगायतका शर्त पालना गरी कामदार पठाउने प्रयास भइरहेको रोजगार अनुमति प्रणाली (ईपीएस) शाखा, ग्वार्कोका निर्देशक इन्द्र गौतमले जारी गरिएको सूचनामा उल्लेख गरिएको छ । यसैबीच, सरकारले कोरोनाको कारणले विगतमा लकडाउन तथा अन्तर्राष्ट्रिय उडान बन्द भएकोले कोरियामा नियमित तथा कमिटेड व्यक्तिहरूको उडान प्रक्रिया रोकिएको हुँदा कोरिया रोजगारी अन्योलपूर्ण बन्नपुगेको सरकारी अधिकारीहरूको बुझाइ छ ।

नेपाल सरकारको विभिन्न निकायबाट विभिन्न चरणमा एचआरडी सर्भिस अफ कोरियासमक्ष गरिएको प्रयासका बाबजुद पनि प्रक्रिया सुचारु नभएकोमा पछिल्लोपटक नेपाल सरकारले कोरिया पक्षबाट राखेका शर्तहरू (नियमित सिधा उडान, कोरोना बीमालगायत) पूरा गरी पठाउन तयार रहेको भनी कोरिया पक्षलाई जानकारी गराइएको थियो । ती शर्तहरू पूरा गर्ने सन्दर्भमा आवश्यक आन्तरिक तयारी भइरहेको विभागले जनाएको छ । कोरिया संघर्ष समितिले भने नेपाल सरकारले बेवास्ता गरेको कारण कोरिया रोजगारीमा अन्योल सिर्जना भएको बताउँदै आएका छन् । सरकारी अधिकारीहरू भने युवाहरूले विना अर्थ आरोप लगाउन नहुने बताउँदै आएका छन् । अधिकारीहरू भने कोरोनाकै कारण कोरिया रोजगारी खुला हुन नसकेको बताउँछन् ।

कोरिया रोजगारी खुला गरेमा करिब १२ हजार जना नेपाली त्यहाँ जान पाउनेछन् । १० हजार पाँच सय पाँच जना ईपीएस भाषा परीक्षा पास गरेका तथा नियमित प्रक्रियाबाट पाँँच वर्ष काम गरी नेपाल फर्केर अर्को प्रक्रियामार्फत पुनः जान तयार भएका करिब दुई हजार जना कोरिया जानेछन् । २०१७, २०१८ र २०१९ मा १० हजार पाँच सय पाँच जनाले भाषा परीक्षा पास गरेकाहरू कोरोनाको कारणले गर्दा कोरिया जान पाएका छैनन् ।

आकर्षक तलबकै कारण युवाहरू कोरिया जान इच्छुक देखिन्छन् । युवाहरूले कोरियामा मासिक एक लाख ५० हजार तलब बुझ्ने तथा अतिरिक्त समय काम गरेबापत तीनदेखि चार लाख रुपैयाँसम्म कमाइ हुन्छ । कोरियाले विशेष गरी कृषि र उद्योग क्षेत्रका लागि विदेशी कामदार भित्र्याउने गरेको छ । २०२० मा कोरिया भाषा परीक्षामा करिब ९२ हजार जना युवाहरू सहभागी भएको पाइन्छ । सो वर्ष ६६ हजार सात सय जनाले भाषा परीक्षा उत्तीर्ण गरेका थिए । उद्योग (उत्पादन)तर्फ चार हजार सात सय र कृषि तथा पशुपालनतर्फ दुई हजार युवा लैजाने भनिए पनि कोरोनाका कारण रोकिन पुग्यो ।

नेपाली पक्षले रोष्टरमा रहेका युवाहरूको लागि म्याद थप गर्न कोरियाली पक्षसँग आग्रह समेत गरेको पाइन्छ । यसअघि भाषा परीक्षा पास गरेर रोष्टरमा युवाहरूको म्याद थप गर्न कोरियाली पक्षसँग आग्रह गर्दै आएको निर्देशक गौतमले जानकारी दिएका छन् । ईपीएसअन्तर्गत हालसम्म करिब ६५ हजार जनाभन्दा बढी नेपाली युवा कोरिया पुगिसकेका छन् । नेपाली कामदारहरू कर्तव्यनिष्ठ इमानदार, लगनशील र मिहिनेती भएकोले कोरियन रोजगारदाताको छनौटमा उच्च प्राथमिकतामा पर्ने गरेका छन् ।

कोरोना नियन्त्रणका लागि लकडाउन जारी गर्नुभन्दा एक महिनाअगाडि गत वर्ष फागुन २१ देखि नै नेपालले एकतर्फी रुपमा कामदार पठाउने प्रक्रिया स्थगन गरेको थियो । त्यतिबेला कोरियामा कोरोना भाइरस संक्रमण तीव्र गतिमा फैलिरहेको थियो । नेपालमा कोरोना संक्रमितको संख्या उच्च देखिन थालेपछि गत सेप्टेम्बरतिर कोरियाले नेपाललाई अति संवेदनशील मुलुकको सूचीमा राखेसँगै कोरिया रोजगारीमा थप अन्योल छाएको हो । २०२१ को लागि कोरियाले ५२ हजार जना विदेशी कामदार भित्र्याउने तयारी गरेको थियो ।

खाडी मुलुकले खोप अनिवार्य गर्दै नेपाली युवाका लागि खुला गरेका छन् । पछिल्लो समय कुवेत समेत खुला गर्ने तयारीमा बसेको छ । कतारले फाइजर, मोडर्ना, कोभिसिल्ड र जोन्सन एण्ड जोन्सनका खोप लगाई १४ दिन पूरा गरेकालाई क्वारेन्टाइनमा समेत बस्नु नपर्ने गरी खुला गरेको दोहास्थित नेपाली दूतावासले जानकारी दिएको छ । साउदी अरबको हकमा भने जोन्सन एण्ड जोन्सन, फाइजर, अस्ट्राजेनेका र मोडर्ना खोप लगाएको हुनुपर्नेछ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया