Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारचार खर्ब ८९ अर्ब ९८ करोडबराबरको भारतीय रुपैयाँ खरिद

चार खर्ब ८९ अर्ब ९८ करोडबराबरको भारतीय रुपैयाँ खरिद


काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको पछिल्लो ११ महिनाको अवधिमा तीन खर्ब तीन अर्ब २९ करोड रुपैयाँबराबरको तरलता प्रशोचन गरेको छ । राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७७–०७८ को एघार महिनामा रिभर्स रिपोमार्फत एक खर्ब नौ अर्ब ५४ करोड र निक्षेप संकलन उपकरणमार्फत एक खर्ब ९३ अर्ब ७५ करोड गरी कुल तीन खर्ब तीन अर्ब २९ करोड तरलता प्रशोचन गरिएको हो ।

अघिल्लो वर्षको सोही अवधिमा रिभर्स रिपोमार्फत ४८ अर्ब र निक्षेप संकलन उपकरणमार्फत ३० अर्ब गरी कुल ७८ अर्ब तरलता प्रशोचन भएको थियो । समीक्षा अवधिमा रिपोमार्फत ५९ अर्ब २९ करोड र स्थायी तरलता सुविधामार्फत एक खर्ब ३३ अर्ब २७ करोड गरी कुल एक खर्ब ९२ अर्ब ५६ करोड रुपैयाँ तरलता प्रवाह गरिएको छ । अघिल्लो वर्षको सोही अवधिमा रिपोमार्फत एक खर्ब १५ अर्ब ८७ करोड र स्थायी तरलता सुविधामार्फत एक खर्ब तीन अर्ब २८ करोड गरी कुल दुई खर्ब १९ अर्ब १६ करोड तरलता प्रवाह गरिएको थियो ।

राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा विदेशी विनिमय बजार अर्थात् वाणिज्य बैंकहरूबाट अमेरिकी डलर तीन अर्ब १४ करोड खुद खरिद गरी तीन खर्ब ७१ अर्ब १४ करोड तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर तीन अर्ब ५८ करोड खुद खरिद गरी चार खर्ब १६ अर्ब ७६ करोड तरलता प्रवाह गरिएको थियो । समीक्षा अवधिमा अमेरिकी डलर चार अर्ब १६ करोड बिक्री गरी चार खर्ब ८९ अर्ब ९८ करोडबराबरको भारतीय रुपैयाँ खरिद भएको छ । राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर तीन अर्ब ४८ करोड बिक्री गरी चार खर्ब तीन अर्र्ब तीन करोड रुपैयाँबराबरको भारतीय रुपैयाँ खरिद भएको थियो ।

अर्थ मन्त्रालयद्वारा धितोपत्र बोर्ड र नेप्सेसँग जवाफ माग : अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जको नाउँमा पत्र काट्दै जवाफ माग गरेको छ । मन्त्रालयका अनुसार पुँजी बजारसम्बन्धी सञ्चार माध्यमहरूमा आएका विभिन्न समाचारहरूको बारेमा सत्यतथ्य के हो भन्दै धितोपत्र बोर्डसँग जवाफ माग गरिएको हो ।

Open Photo

केही दिनअघि विभिन्न सञ्चार माध्यमहरूमा बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना र नेपाल स्टक एक्स्चेन्ज लिमिटेड (नेप्से)का प्रमुुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले एकाघर परिवारका सदस्यको नाममा प्रिमियममा निष्काशन गर्न अनुमति प्रदान गरिएको सर्वोत्तम सिमेन्टको सेयर राखेको लगायतका समाचारहरू सार्वजनिक भएका थिए । सोही समाचारलाई आधार बनाएर अर्थ मन्त्रालयले धितोपत्र बोर्डसँग स्पष्टीकरण माग गरेको हो ।

मन्त्रालयद्वारा जारी गरिएको पत्रमा भनिएको छ, ‘विभिन्न सञ्चार माध्यममा प्रकाशित भएका तहाँ बोर्डसँग सम्बन्धित समाचारप्रति यस मन्त्रायको ध्यानाकर्षण भएको छ । सञ्चार माध्यमहरूमा आएका उक्त विषयवस्तुको सम्बन्धमा सत्यतथ्य यथार्थता के हो र सोको स्पष्ट र तथ्यपरक विवरण तीन दिनभित्र उपलब्ध गराइदिनुहुन आदेशानुसार अनुरोध छ ।’

बोर्डका अध्यक्ष ढुंगानाले छोरी रेबिका ढुंगानाको नाममा र नेप्सेका प्रमुख कार्यकारी अधिकृत साउदले श्रीमती शुशीला कुमारी बोहराको नाममा बुकबिडिङ प्रक्रियाबाट जारी हुने भनिएको सर्वोेतम सिमेन्टको ११ हजार नौ सय १२ कित्ता सेयर लिइएको लगायतका समाचारहरू सञ्चार माध्यमहरूमा आएपछि अर्थ मन्त्रालयले धितोपत्र बोर्डसँग स्पष्टीकरण माग गरेको हो ।

यसैबीच अर्थ मन्त्रालयले साउन १४ गते बिहीबार नै नेपाल स्टक एक्सचेन्जसँग पनि धितोपत्र बोर्डलाई नै लेखेको पत्रको व्यहोरा उल्लेख गर्दै तीन कार्यदिनभित्र स्पष्ट जवाफ दिन माग गरेको छ । अर्थ मन्त्रालयले नेप्सेको नाउँमा लेखेको पत्रमा भनिएको छ, ‘विभिन्न सञ्चार माध्यममा प्रकाशित भएका तहाँ बोर्डसँग सम्बन्धित समाचारप्रति यस मन्त्रायको ध्यानाकर्षण भएको छ । सञ्चार माध्यमहरूमा आएका उक्त विषयवस्तुको सम्बन्धमा सत्यतथ्य यर्थाथता के हो, र सोको स्पष्ट र तथ्यपरक विवरण तीन दिनभित्र उपलब्ध गराइदिनुहुन आदेशानुसार अनुरोध छ ।’


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया