Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारआज १० देखि ४ बजेसम्म राष्ट्रियसभाको निर्वाचन

आज १० देखि ४ बजेसम्म राष्ट्रियसभाको निर्वाचन


काठमाडौं, माघ ९
आज बिहीबार देशभर राष्ट्रियसभा सदस्यको निर्वाचन हुँदै छ । आयोगले बुधबार पत्रकार सम्मेलन गरी निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । निर्वाचन सम्पन्न गर्नका लागि मतपत्रसहित अन्य आवश्यक निर्वाचन सामग्रीहरू सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयसम्म बुधबारसम्म नै पुगिसकेका छन् । निर्वाचन हुने सात प्रदेशका उच्च अदालत रहेको जिल्लाको सदरमुकाममा तोकिएको मतदान स्थलमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारीलगायत सुरक्षाकर्मीहरू आवश्यक मतदानका सामग्रीहरूसहित खटिई मतदान केन्द्रको निर्माणकार्य समेत सम्पन्न भइसकेको आयोगले जनाएको छ ।

राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्वाचन अधिकृतको कार्यालयहरू मोरङ, धनुषा, ललितपुर, कास्की, दाङ, सुर्खेत र डोटीमा मिति २०७६ पुस १५ गतेदेखि स्थापना गरी सञ्चालन भएको, सम्बन्धित प्रदेशका उच्च अदालत रहेको जिल्लाका सात जना जिल्ला न्यायाधीशलाई न्याय परिषद्को सिफारिसमा निर्वाचन अधिकृतको पदमा गत पुस ११ गतेदेखि नियुक्त गरी खटाइएको थियो ।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेश १ को विराटनगर महानगरपालिकाको वीरेन्द्र सभागृहमा मतदान स्थल तोकिएको छ । यस केन्द्रमा प्रदेशसभा सदस्यतर्फ ९३ र स्थानीय तह सदस्यतर्फ २ सय ८४ गरी ३ सय ६७ जना मतदाता रहेका छन् । प्रदेश २ को जनकपुर उपमहानगरपालिकाको महेन्द्र नारायणनिधि स्मृति भवनमा मतदान स्थल तोकिएको छ । यस स्थलमा प्रदेशसभा सदस्यतर्फ १ सय ७ र स्थानीय तह सदस्यतर्फ २ सय ७२ गरी ३ सय ७९ जना मतदाता रहेका छन् । वाग्मती प्रदेशको ललितपुर महानगरपालिका वडा नं ४ वडा समितिको भवनमा मतदान स्थल तोकिएको छ । यस स्थलमा प्रदेशसभा सदस्यतर्फ १ सय १० र स्थानीय तह सदस्यतर्फ २ सय ३८ गरी ३ सय ४८ जना मतदाता रहेका छन् ।

आयोगका अनुसार गण्डकी प्रदेशको जिल्ला निर्वाचन कार्यालय कास्कीको परिसरमा मतदान स्थल तोकिएको छ । यस स्थलमा प्रदेशसभा सदस्यतर्फ ६० र स्थानीय तह सदस्यतर्फ १ सय ७० गरी २ सय ३० जना मतदाता रहेका छन् । प्रदेश ५ को घोराही उपमहानगरपालिकाकोे कर्मचारी मिलन केन्द्रको भवनमा मतदान स्थल तोकिएको छ । यस स्थलमा प्रदेशसभा सदस्यतर्फ ८७ र स्थानीय तह सदस्यतर्फ २ सय १८ गरी ३ सय ५ जना मतदाता रहेका छन् ।

कर्णाली प्रदेशको जिल्ला निर्वाचन कार्यालय सुर्खेतको परिसर भवनमा मतदान स्थल तोकिएको छ । यस स्थलमा प्रदेशसभा सदस्यतर्फ ४० र स्थानीय तह सदस्यतर्फ १ सय ५८ गरी १ सय ९८ जना मतदाता रहेका छन् । सुदूरपश्चिम प्रदेशको सिलगढी नगरपालिकाको पद्म पब्लिक मुक्ति नारायण उच्च माध्यमिक विद्यालयमा मतदान स्थल तोकिएको छ । यस स्थलमा प्रदेशसभा सदस्यतर्फ ५३ र स्थानीय तह सदस्यतर्फ १ सय ७६ गरी २ सय २९ जना मतदाता रहेका छन् ।

आयोगका अनुसार सातवटा प्रदेशमा प्रदेशसभा सदस्यतर्फका ५ सय ५० र स्थानीय तह सदस्यतर्फ १ हजार ५ सय ६ गरी कुल २ हजार ५६ जना मतदाता रहेका छन् । राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को अनुसूची १ अनुसार प्रदेशसभाका सदस्यको मतभार ४८ र स्थानीय तहका गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुखको मतभार १८ रहेको छ । प्रदेश १ मा महिला, दलित र अन्य समूहमा गरी तीन जना, प्रदेश २ मा महिला, दलित, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समुदाय र अन्य समूहमा गरी चार जना, वाग्मती र गण्डकी प्रदेशमा महिला र अन्य समूहमा दुई/दुई जना गरी चार जना, प्रदेश ५ मा महिला, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समुदाय र अन्य समूहमा गरी तीन जना, कर्णाली र सुदूरपश्चिम प्रदेशमा महिला र अन्य समूहमा दुई/दुई जना चार जना समेत कुल १८ जना राष्ट्रियसभा सदस्य निर्वाचित हुनेछन् ।

राष्ट्रियसभा सदस्य निर्वाचनमा भाग लिन ११ वटा राजनीतिक दलले आयोगमा दल दर्ता गराएकोमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, समाजवादी पार्टी, राष्ट्रिय जनता पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी गरी ६ वटा राजनीतिक दलले यस निर्वाचनमा उम्मेदवारी दिएका छन् ।

प्रदेश १ मा महिला, दलित र अन्य समूहमा ३/३ जनाका दरले जम्मा ९ जना उम्मेदवार, प्रदेश २ मा महिला, दलित, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक र अन्य समूहमा २/२ जनाका दरले ८ जना उम्मेदवार, वाग्मती प्रदेशमा महिला र अन्य समूहमा ३/३ जनाको दरले ६ जना उम्मेदवार, गण्डकी प्रदेशमा महिला समूहतर्फ २ र अन्य समूहतर्फ ३ गरी ५ जना उम्मेदवार, प्रदेश ५ मा महिला समूहतर्फ २ जना, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समूहतर्फ ३ र अन्य समूहतपर्, ४ गरी ९ जना उम्मेदवार, कर्णाली प्रदेशमा महिला र अन्य समूहमा २/२ जनाको दरले ४ जना उम्मेदवार र सुदूरपश्चिम प्रदेशमा महिला र अन्य समूहमा २/२ जनाका दरले ४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् । यसअनुसार सातवटा प्रदेशमा महिला समूहतपर्, १६ जना, दलितसमूहतर्फ ५ जना, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समूहतर्फ ५ जना र अन्य समूहतर्फ १९ गरी कुल ४५ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

प्रदेशसभा सदस्यले मतदान गर्ने प्रयोजनका लागि सेतो कागजमा हरियो रङ्गको मसीले विवरण र निर्वाचन चिह्न तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले मतदान गर्ने प्रयोजनका लागि सेतो कागजमा रातो रङ्गको मसीले विवरण र निर्वाचन चिह्न उल्लेख गरी जम्मा ६ हजार २ सय ६० थान मतपत्र छपाइ गरी राष्ट्रियसभा सदस्यका लागि निर्वाचन हुने प्रदेशगत समूह र मतदाता संख्याको आधारमा सम्बन्धित प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा पठाइसकिएको छ । मतदान बिहीबार बिहान १०ः०० बजेदेखि अपरान्ह ४ः०० बजेसम्म हुनेछ ।

राष्ट्रियसभामा पहिलो दुई वर्षको कार्यकाल पूरा हुने सदस्यमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नौ, नेपाली कांग्रेसका सात, राजपाका दुई र समाजवादी पार्टीका एक छन् । उनीहरुमा सरिता प्रसार्इं, सुरेन्द्रराज पाण्डे, हरिचरण शिवाकोटी, रामप्रीत पासवान, विन्दादेवी आले, वृषेशचन्द्र लाल, बद्रीप्रसाद पाण्डे, बलरामप्रसाद बाँस्कोटा, मीना बुढा, मुक्ताकुमारी यादव, डा. युवराज खतिवडा, युटोल तामाङ, रमेशप्रसाद यादव, राजकुमार यादव, दुर्गाप्रसाद उपाध्याय, धनकुमारी खतिवडा, कमलाकुमारी ओली, कालीबहादुर मल्ल र खेमराज नेपाली हुन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया