Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारप्रत्यक्ष वैदेशिक लगानी बढ्दा उद्योगको संख्या घट्यो

प्रत्यक्ष वैदेशिक लगानी बढ्दा उद्योगको संख्या घट्यो


काठमाडौं, माघ ९
नेपालको उद्योग क्षेत्रमा विदेशी लगानीकर्ताहरुले लगानी गर्ने रकममा पछिल्लो समयमा करिब साढे २६ अर्बले वृद्धि भएको छ । उद्योग विभागका अनुसार चालू आर्थिक वर्ष (२०७६/०७७) को पहिलो छ महिना अर्थात् साउनदेखि पुससम्ममा मुलुकको उद्योग क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) गत आव (२०७५/०७६) को सोही समयको तुलनामा २६ अर्ब ५२ करोड २५ लाखले बढी लगानी प्रतिबद्धता आएको हो ।

चालू आवको छ महिनामा विदेशी लगानीकर्ताहरुले उद्योग क्षेत्रमा ४० अर्ब ६८ करोड ५६ लाख लगानी प्रतिबद्धता जनाएका छन् । प्रतिबद्धताअनुसार एक सय ५० वटा उद्योग स्थापना हुनेछन् र उक्त उद्योगले सात हजार आठ सय ६९ जनालाई रोजगारी दिनेछ । यता लगानी वृद्धि हुँदा उद्योगको संख्यामा भने कमी आएको विभागले जनाएको छ । गत आवको सोही समयमा एक सय ९६ वटा उद्योग स्थापना गर्ने भनेका विदेशी लगानीकर्ताहरुले चालू आवको सोही समयमा एक सय ५० वटा उद्योग मात्र स्थापना गर्ने भन्दै विभागबाट रकम स्वीकृत गराएका छन् ।

गत आवको सोही समयमा विदेशी लगानीकर्ताहरुले उद्योग क्षेत्रमा १४ अर्ब १६ करोड ३१ लाख लगानी गर्ने प्रतिबद्धता जनाएका थिए । उनीहरुले एक सय ९६ वटा उद्योग स्थापना तथा सात हजार चार सय ७७ जनालाई रोजगारी दिने प्रतिबद्धता समेत जनाएका थिए । विभागका महानिर्देशक जीवन प्रकाश सिटौलाका अनुसार मुलुकमा औद्योगिक वातावरण बन्दै जाँदा एफडीआईमा वृद्धि हुनपुगेको छ ।

‘सरकार तथा विभागले उद्योग दर्ता तथा सञ्चालन लागि एकल विन्दु सेवा केन्द्रबाट सहज सेवा, सुविधा प्रदान गरेको कारण विदेशी लगानीकर्ताहरु नेपालमा आकर्षित भएका हुन्’, उनले भने । चालू आवको छ महिनामा लगानीकर्ताहरुले सबैभन्दा धेरै लगानी प्रतिबद्धता ऊर्जामा तथा सबैभन्दा कम कृषिमा गरेका छन् ।

विदेशी लगानीकर्ताहरुले ऊर्जामा ११ अर्ब ८२ करोड २६ लाख तथा कृषिमा ४२ करोड लगानी प्रतिबद्धता जनाएका छन् । उनीहरुले सूचना तथा प्रविधिमा नौ अर्ब ९७ करोड ३३ लाख, पर्यटनमा आठ अर्ब २२ करोड ३२ लाख, उत्पादनमा दुई अर्ब ९३ करोड ३५ लाख, सेवामा सात अर्ब ३१ करोड ३० लाख लगानी प्रतिबद्धता जनाएका छन् । उक्त लगानीबाट कृषिमा तीनवटा, ऊर्जामा पाँचवटा, सूचना तथा प्रविधिमा २५ वटा, उत्पादनमा १९ वटा, सेवामा ३८ वटा, पर्यटनमा ६० वटा गरी एक सय ५० वटा उद्योग स्थापना हुनेछ । ती उद्योग स्थापना भए सात हजार आठ सय ६९ जनाले रोजगारी समेत पाउनेछन् ।

गत आवको सोही समयमा लगानीकर्ताहरुले कृषिमा आठ करोड ४० लाख, सूचना तथा प्रविधिमा ३४ करोड ९ लाख, उत्पादनमा छ अर्ब ५४ करोड ९१ लाख लगानी प्रतिबद्धता जनाएका थिए भने खनिजमा एक करोड ८८ लाख, सेवामा एक अर्ब ७८ करोड ७५ लाख, पर्यटनमा पाँच अर्ब ३८ करोड २८ लाख लगानी प्रतिबद्धता जनाएका थिए । उनीहरुले कृषिमा आठवटा, सूचना तथा प्रविधिमा १३ वटा, उत्पादनमा ३८ वटा, खनिजमा दुईवटा, सेवामा ६७ वटा र पर्यटनमा ६८ वटा उद्योग स्थापना गर्ने तथा सात हजार चार सय ७७ जनालाई रोजगारी दिने बताएका थिए ।

विभागका अनुसार नेपालको उद्योग क्षेत्रमा लगानी गर्ने विदेशी लगानीकर्ताहरुमा चिनियाँ, भारतीय र बेलायती धेरै छन् । पछिल्लो छ महिनामा सबैभन्दा बढी लगानी प्रतिबद्धता चिनियाँबाट आएको छ भने त्यसपछि क्रमशः भारतीय र बेलायती लगानीकर्ताहरु छन् । चिनियाँ लगानीकर्ताले एक सय १८ वटा उद्योग स्थापना गर्न १६ अर्ब ९६ करोड ९७ लाखको लगानी प्रतिबद्धता गरेका छन् । भारतीय लगानीकर्ताले नौ अर्ब ७७ करोड लगानी प्रतिबद्धता जनाएका छन् । उनीहरुले प्रतिबद्धताअनुसार काम गरे १० वटा उद्योग स्थापना हुनेछ ।

त्यस्तै बेलायतका लगानीकर्ताहरुले छ अर्ब ६६ करोड ४३ लाख लगानी प्रतिबद्धता जनाएका छन् । चारवटा उद्योग स्थापना गर्न उक्त लगानी प्रतिबद्धता जनाएको विभागले जनाएको छ । त्यसपछि अष्ट्रेलिया, बंगलादेश, हङकङ, जापान, संयुक्त अरब इमिरेट्स (युएई), पाकिस्तान र मलेसियाका लगानीकर्ताहरुले समेत उद्योग क्षेत्रमा लगानी गर्न चाहेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया