Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनिजी क्षेत्रको संस्थागत सहकार्य र कार्यगत एकतामा जोड

निजी क्षेत्रको संस्थागत सहकार्य र कार्यगत एकतामा जोड


काठमाडौं । मुलुकको समृद्धिका लागि निजी क्षेत्रका संस्थाहरूले संस्थागत सहकार्य र कार्यगत एकता गर्दै साझा एजेन्डामा काम गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघका पदाधिकारीहरूले निजी क्षेत्रको प्रवर्द्धनका लागि काम गर्न अपरिहार्य भएकाले दुवै संस्थाबीच साझा एजेण्डा तय गरेर अगाडि जानुपर्नेमा जोड दिएका हुन् ।

महासंघले परिसंघका नवनिर्वाचित पदाधिकारीहरूको सम्मानमा मंगलबार महासंघ सचिवालयमा आयोजित स्वागत कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छाले परिसंघका पदाधिकारीहरूलाई कार्यगत एकताको प्रस्ताव राखेका थिए । कार्यगत एकताको लागि एउटा स्थायी प्रकृतिको संयन्त्र नै निर्माण गरेर जान सकिने र यसका लागि छिट्टै संस्थागत सहकार्यलाई औपचारिकता दिनुपर्नेमा उनीहरुबीच सहमति भएको छ ।

कोरोना महामारीबाट मुलुकको अर्थतन्त्र उद्योग व्यवसाय कमजोर बनेका समयमा श्रमिक कामदारको तलवको विषय, कृषिमा विदेशी लगानी, बन्द हडताललगायतका इस्यूमा भएका सहकार्यबाट निकै ठूलो सफलता प्राप्त भएकाले आगामी दिनमा पनि प्राथमिकता तय गरी जानुपर्नेमा उनीहरुले जोड दिएका हुन् ।

महासंघका अध्यक्ष शेखर गोल्छाले परिसंघको नयाँ नेतृत्वसँग सहकार्य गर्न महासंघ तत्पर रहेको बताए । ‘सम्मानित निजी क्षेत्र र समुन्नत नेपाल निर्माण हामी सबैको साझा चासो भएकाले हामीले आर्थिक एजेण्डामा बलियो सहकार्य गर्नुपर्नेमा जोड दिए । दुवै संस्थाको स्ट्रेन्थबाट थुप्रै कार्य गर्न सक्छौँ’, गोल्छाले भने, ‘हामीले आउने दिनमा अझ बढी सहकार्यका हातहरू अगाडि बढाउनैपर्छ ।’

‘मुलुकको अर्थतन्त्रको विस्तार, रोजगारी अभिवृद्धि, आर्थिक विकास दोहोरो अंकमा लैजाने र व्यापार घाटा आधा कटौती गर्ने मुख्य लक्ष्यका साथ महासंघले अगाडि सारेको नेट २०३० र परिसंघले अगाडि बढाएको मेक इन नेपाल अभियानलाई कहाँ र कसरी सहकार्यका साथ काम गर्न सकिन्छ पहल गरौँ’, उनले भने ।

परिसंघका नवनिर्वाचित अध्यक्ष विष्णुु कुमार अग्रवालले संस्थागत सहकार्यका लागि महासंघले राखेको प्रस्तावमा सहकार्य गर्न परिसंघ तयार रहेको बताएका थिए । अध्यक्ष अग्रवालले निजी क्षेत्रबीच संस्थागत सहकार्य र कार्यगत एकतामा जोड दिँदै भने, ‘अबका दिनमा हाम्रा प्राथमिकताका क्षेत्रहरू पहिचान गरेर अगाडि बढ्नैपर्छ ।’ निजी क्षेत्रको स्ट्रेन्थ देखाउन पनि सहकार्यबाहेक अर्को केही नहुने उनले बताए ।

सो अवसरमा महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, उपाध्यक्षहरू दिनेश श्रेष्ठ, अन्जन श्रेष्ठ, रामचन्द्र संघई, कोषाध्यक्ष सुुकुुन्तलाल हिराचन, सीएनआईका उपाध्यक्षहरू कृष्ण प्रसाद अधिकारी, राजेश कुमार अग्रवाल, वीरेन्द्रराज पाण्डे, राज बहादुर शाह र हेमराज ढकालले अर्थतन्त्रको करिब ७० प्रतिशत हिस्सा ओगट्ने निजी क्षेत्रमाथि अहिले पनि पुरानै मानसिकताबाट हेर्ने दृष्टिकोण रहेकाले यसमा आमूल परिवर्तन आवश्यक रहेको बताए ।

आउँदा दिनमा अर्थतन्त्रका अगाडि निकै ठूला चुनौतीहरू आउने सम्भावना रहेकाले त्यसका लागि सिंगो निजी क्षेत्रलाई एक बनाएर लैजानुपर्नेमा पनि जोड दिए । कोभिडको सुनामीबाट उद्योग व्यवसायलाई जोगाउन निजी क्षेत्रबीच बलियो सहकार्य र कार्यगत एकता अपरिहार्य रहेको उनीहरुको भनाइ थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया