Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेपालमा सहकारी बैंक एउटै छ, कसरी ‘सहकारी बैंकहरू’ हुन्छ अर्थमन्त्रीज्यू ?

नेपालमा सहकारी बैंक एउटै छ, कसरी ‘सहकारी बैंकहरू’ हुन्छ अर्थमन्त्रीज्यू ?


काठमाडौं । सरकारी उच्च तहमा पुगेका अथवा भनौँ सरकारको नेतृत्व गरिरहेका सबै व्यक्तिहरू, राजनीतिक दलका उच्च तहका नेताहरू एवं सार्वजनिक महत्वका जिम्मेवार निकायमा बसेका प्रमुखहरूले केही कुरा बोल्दा अथवा भनौँ सार्वजनिकरुमा भाषण गर्दा निकै सोचविचार गरेर गर्नुपर्छ । सुझबुझविनाको भाषणले अर्थ हैन अनर्थ लगाउँछ, समस्या निम्त्याउँछ । यसका धेरै उदाहरणहरू हामीले विगतमा सुनेका र भोगेका छौँ । पछि चर्को विरोध भएपछि ती भनाइहरूलाई सच्याइएको पनि पाएका छौँ ।

मंगलबार अर्थमन्त्री जनार्दन शर्माले पनि यस्तै किसिमको भाषण गरे । राष्ट्रिय सहकारी बैंकको १९औँ वार्षिकोत्सवको अवसरमा मंगलबार ललितपुरमा आयोजित सहकारीमा लघुवित्त सम्मलेन–२०७८ लाई सम्बोधन गर्ने क्रममा अर्थमन्त्री शर्माले भनेका थिए, ‘बरु सहकारी बैंकहरूले नाफाको लागि प्रतिस्पर्धा नगर्नुस् । उत्पादन र रोजगारी सृजनामा प्रतिस्पर्धा गर्नुस् ।’

अर्थमन्त्री शर्माले सार्वजनिक रुपमा यसरी भाषण गर्दा नेपालमा सहकारी बैंकहरूको संख्या कति रहेछ भन्ने प्रश्न खडा भएको छ । आजको दिनसम्म सहकारी संस्थाहरू १५ हजारभन्दा धेरै भए पनि सहकारी बैंक भनेको नेपालमा एउटै मात्र छ । त्यो हो राष्ट्रिय सहकारी बैंक । योबाहेक नेपालमा अर्को सहकारी बैंक छैन । एउटा सहकारी बैंक खोल्ने भनेर प्रस्ताव गरिएको छ, त्यो हाल दर्ताको प्र्रक्रियामा नै छ । यस अर्थमा अर्थमन्त्री शर्माले भाषणकै क्रममा नेपालमा धेरै सहकारी बैंकहरू रहेको भन्दै आमनागरिकहरूलाई दिग्भ्रमित पारिदिएका छन् ।

यसैगरी सोही कार्यक्रममा अर्थमन्त्री शर्माले सहकारी बैंकका चेक क्लियरिङ नहुने समस्या अन्त्य हुने घोषणा गरेका छन् । उनले सहकारीको चेक नचल्ने नियम खारेज गरेर सामाजिक सुरक्षाको भत्ता पनि सहकारी बैंक तथा गाउँ गाउँमा रहेका लघुवित्त कम्पनीमार्फत भुक्तानी गर्ने व्यवस्थाका लागि छलफल चलाइरहेको बताएका छन् ।

‘बरु सहकारी बैंकहरूले नाफाको लागि प्रतिस्पर्धा नगर्नुस् । उत्पादन र रोजगारी सृजनामा प्रतिस्पर्धा गर्नुस्’, उनले भनेका थिए । उत्पादनमुखी अर्थतन्त्रको विकास गर्न सहकारी बैंकको साथै लघुवित्त क्षेत्रले जोड दिनुपर्ने भन्दै उनले उत्पादनमुखी अर्थतन्त्रमा टेवा पु-याउन लघुवित्तले उत्पादन क्षेत्रलाई जोड दिनुपर्ने बताएका थिए । त्यसका लागि सरकारले नीतिमा परिवर्तन गरी सहजीकरण गर्ने उनको भनाइ थियो । उत्पादनमा जोड दिँदा त्यसले रोजगारी सिर्जना गर्ने भन्दै उनले सहकारी संस्थाहरूले नाफाको प्रतिस्पर्धा नगरी रोजगारी सिर्जना, गरिबी अन्त्य गर्ने तथा उत्पादन वृद्धिमा प्रतिस्पर्धा गर्नुपर्ने बताएका थिए ।

अर्थमन्त्री शर्माले राष्ट्रिय सहकारी बैंकको कार्यक्रममा सहकारी क्षेत्रलाई उत्पादन एवं रोजगारीमूलक क्षेत्रमा लगानी गर्ने, सहकारी क्षेत्रमा कायम रहेको चर्को ब्याजलाई नियन्त्रणमा राख्नुुपर्ने एवं यस क्षेत्रमा नाफाको लागि हुने अस्वस्थ प्रतिस्पर्धालाई रोक्नुपर्ने बताएका थिए । वास्वतमा अर्थमन्त्री शर्माका यी भनाइहरू सहकारी क्षेत्र सुधारको लागि निकै उपयोगी सुझावहरू हुन् । खालि उनले भाषणमा भनेको सहकारी बैंकहरू र सहकारी बैंकहरूको चेक क्लियरिङ नहुने समस्याको अन्त्य गर्ने बताएका थिए । यो कुरा पनि सहकारी क्षेत्र सुधारको लागि निकै राम्रो हो तर उनले भाषणमा क्रमशः सहकारी बैंकहरू, चेक क्लियरिङ नहुनेलगायतका समस्या समाधान गर्ने आदि बताएका थिए । अर्थमन्त्रीको यो भनाइलाई पनि राम्रै मान्नुुपर्छ । खाली उनी सार्वजिनक महत्वको विषयमा बोल्दा चिप्लिएका हुन सक्छन् ।


क्याटेगोरी : समाचार, सहकारी–कृषि

तपाईको प्रतिक्रिया