Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसुपारी कोटा रद्द गर्न माग

सुपारी कोटा रद्द गर्न माग

कोटा पाएका सुपारी व्यवसायीद्वारा धमाधम सुपारीको आयात


विराटनगर । केपी ओली सरकारबाट वितरण भएको सुपारी कोटा रद्द गर्न व्यवसायीहरूले माग गरेका छन् । तत्कालीन ओली सरकारबाट सुपारी आयातको कोटा पाएका अधिकांस सुपारी व्यवसायी सौर्य एयरलाइन्सका सञ्चालक भएको पाइएको छ ।

ओली सरकारले कोभिड १९ को महामारीका कारण पूरै देश लकडाउन भएको मौका छोपेर वाणिज्य मन्त्रालयबाट सीमित केही सुपारीका व्यवसायीलाई आयात कोटा दिएको थियो । आयात कोटा पाएसँगै पछिल्लो समय विभिन्न भन्सार नाकाहरूको प्रयोग गरी उनीहरूले तेस्रो मुलुकबाट धमाधम सुपारीको आयात गर्न सुरु गरेका छन् । सुपारी कोटा पाएका सौर्य एयरलाइन्सका मुख्य सञ्चालक तथा सुपारी डनको उपनामले चिनिएका व्यवसायीबाट तेस्रो मुलुकबाट सुपारीको आयात सुरु गरेको जानकारहरूले बताउन थालेका छन् । उनीहरूले अहिले आयात गरिएको सुपारीलाई नै नेपाली सुपारी बनाएर भारत निर्यात गर्नेगरेका छन् ।

आयातित सुपारीलाई नेपाली बनाएर बेच्न पल्केका व्यवसायीका लागि नै अघिल्लो सरकार आफैँले कोटा वितरण गरेर सहज गरिदिएको सुपारी व्यवसायीहरू आफैँले बताउन थालेका छन् । यसरी अघिल्लो सरकारबाट अन्यायपूर्ण तरिकाले वितरण गरेको सुपारी कोटा तथा सुपारी आयातलाई वर्तमान सरकारबाट आयात रोकी केही सीमित व्यवसायी पोस्ने गरी भएको कोटा वितरणको कामलाई रोक्नुपर्ने सुपारी व्यवसायीले बताएका छन् ।

नेपाली कृषकलाई नोक्सान भएपछि व्यापक विरोध सुरु भएर रोकिएको सुपारी आयात सर्वोच्च अदालतको आदेशअनुसार निवर्तमान सरकार र सरकारी अधिकारीसँगको मिलेमतोमा आयात खुला गरी २५ हजार मेट्रिक टन सुपारीको कोटा विराटनगर र झापाका सुपारी डनहरूले मात्र हत्याउन सफल भएका थिए । अहिले तिनै सुपारी व्यवसायीहरू धमाधम तेस्रो मुलुकको सुपारी नेपाल भित्र्याउन थालेका छन् । ओली सरकारले सुपारीको कोटा वितरण गरेपछि सुपारी आयातमा व्यवसायीको डरलाग्दो सेटिङको रहस्य सार्वजानिक भएको थियो ।

सुपारीको सेटिङ सार्वजनिकपश्चात् तत्कालीन सरकारले राष्ट्रियसभाका सांसद रमेशजंग रायमाझीको नेतृत्वमा संसदीय छानबिन समिति समेत बनाएको थियो । उक्त संसदीय समितिले मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, भन्सार विभाग र वाणिज्य विभागलाई लिखित रूपमा छानबिन पूरा नहुन्जेल आयात रोक्का गर्न निर्देशन समेत दिएको थियो । तर ओली सरकारले संसदीय समितिको निर्देशन अमान्य रहेको भन्दै सुपारी तेस्रो मुलुकबाट सुपारी आयात गर्न कोटा वितरण गरेपछि सुपारी व्यवसायीले नै व्यापक विरोध गरेका थिए । व्यापारीको विरोधका बीच पनि सरकारले जबर्जस्ती कोटा वितरण गरेका कारण अहिले तेस्रो मुलुकबाट धमाधम सुपारी आयात हुन थालेको सुपारी व्यवसायीले नै बताएका छन् ।

तत्कालीन प्रधानमन्त्री ओलीको ठाडो निर्देशनमा वाणिज्य विभागले देशभित्र सुपारीको अभाव भएको झुटो प्रतिवेदन तयार गरी तेस्रो मुलुकबाट २५ हजार मेट्रिक टन आयातका लागि कोटा निर्धारणको सूचना जारी गरेको थियो । साथै उनले आफना निकटका सुपारी व्यवसायीलाई कोटा वितरण गरेको घटना सार्वजनिक भएको थियो । त्यस बेला पनि आयातका लागि ८५ वटा फर्म तथा कम्पनीले आवेदन दिएकोमा ओली सरकार र सरकारी अधिकारीसँग सेटिङ मिलाउन सफल सुनसरी मोरङका ६ व्यवसायीलाई मात्रै अनुमति दिएर हतार–हतार कोटा स्थगन भएको थियो ।

सुपारीको कोटा वितरण गर्दा वाणिज्य विभागले झापाको तान्वी ट्रेडर्स र श्यामजी सप्लायर्ससहितका फर्म तथा कम्पनीलाई मात्रै देशभित्र आवश्यक नै नरहेको सुपारी आयातको अनुमति दिएको थियो । झापाका सुपारी व्यवसायी प्रदिप मित्तल, शंकर अग्रवाल, श्याम अग्रवाल, दिपक पोखरेल अनि मोरङका प्रदिप कुमार मुरारका र दिनेश राठीले मात्रै आयात अनुमति पाएपछि देशभरका सुपारी व्यवसायीले विरोध गरेका थिए ।

कोटा पाएका सबै सुपारी व्यवसायीलाई आयातको अनुमति दिलाउन तत्कालीन ओली सरकार र व्यवासयीबीचको सेटिङ सौर्य एयरका सञ्चालक दिपक पोख्रेलले मिलाइदिएको समाचारस्रोतले दाबी गरेको छ । त्यति मात्र नभएर सौर्य एयरलाइन्स व्यापक घाटामा गएका भन्दै मुख्य सञ्चालक तथा सुपारी व्यवसायी दिपक पोखरेल र दिनेश राठीले सबै २५ हजार मेट्रिक टनको सुपारी कोटा समेत सबै सञ्चालकहरूलाई बाँडेर दिएका थिए ।

सौर्य एयरलाइन्सका सञ्चालक दिनेश राठीको सहयोगमा व्यवसायी प्रदिप मुरारकाको पनि पाँच हजार मेट्रिक टन सुपारी आयातको कोटा सौर्य एयरलाइन्सका मुख्य सञ्चालक दिपक पोखरेलसँगबाट किनेका थिए । सबै सुपारी व्यवसायीले तेस्रो मुलुकबाट आयात गरेको सुपारी भारतको पश्चिम बंगाल सीलिगुडीका सुपारी व्यवसायी नारायण अग्रवालमार्फत नै खरिद गर्ने व्यवस्था पनि दिपक पोखरेलले नै मिलाउने गरेको समाचारस्रोतको दाबी छ । यसरी तेस्रो मुलुकबाट आयात भएको सबै सुपारी वैधानिक र अवैधानिक बाटो हुँदै भारत नै लाने गरिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया