Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारआयात प्रतिस्थापन कसरी ?

आयात प्रतिस्थापन कसरी ?


प्रवीण राउत
काठमाडौं, माघ १०
पछिल्लो समयमा नेपालको भारत लगायत तेस्रो मुलुकसँगको व्यापार अवस्थामा केही सुधार आएको छ । भन्सार विभागका अनुसार चालू आर्थिक वर्ष (२०७६/०७७) को प्रथम पाँच महिना अर्थात् साउनदेखि मंसिरसम्मको अवधिमा नेपालको भारत लगायत तेस्रो मुलुकसँगको व्यापारघाटामा कमीे छ । विभागका अनुसार चालू आवको प्रथम पाँच महिनाको अवधिमा नेपालको कुल वैदेशिक व्यापार अघिल्लो वर्ष (२०७५/७६) को सोही अवधिको तुलनामा दुई दशमलव चार प्रतिशतले कमी आई छ खर्ब २८ अर्ब ८७ करोडमा सीमित हुनपुगेको छ ।

कुल व्यापारमा निकासी तथा पैठारीको योगदान क्रमशः सात दशमलव छ प्रतिशत र ९२ दशमलव चार प्रतिशत रहेको छ । समीक्षा अवधिमा नेपालको कुल निकासी २७ प्रतिशतले वृद्धि भई ४७ अर्ब ६२ करोड तथा कुल पैठारीमा चार दशमलव दुई प्रतिशतले ह्रास आई पाँच खर्ब ८१ अर्ब २६ करोड सीमित भएको छ । गत आवको प्रथम पाँच महिनाको अवधिमा निकासी—पैठारी व्यापारको अनुपात १ः१६.२ रहेकोमा चालू आवको सोही अवधिमा निकासी—पैठारी व्यापारको अनुपात १ः१२.२ रहेको छ । उक्त अवधिमा नेपालबाट निकासी भएका प्रमुख वस्तुहरुमा पाम आयल, पोलिष्टर तथा अन्य धागो, ऊनी गलैंचा, भटमासको तेल, तयारी पोशाक, जुट तथा जुटका सामानहरु, अलैंची, जुस, चिया, कपडा, फलाम तथा स्टिल, फेल्ट र पश्मिना सल प्रमुख रुपमा रहेको विभागले जनाएको छ ।

समीक्षा अवधिमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा पाम आयलको निर्यातमा ७५६ दशमलव १ प्रतिशतले वृद्धि भई ११ अर्ब ५२ करोड पुगेको छ । पोलिष्टर तथा अन्य धागोमा ५ दशमलव १ प्रतिशतले ह्रास आई तीन अर्ब ६२ करोडमा सीमित भएको छ । ऊनी गलैंचाको निर्यातमा दुई दशमलव पाँच प्रतिशतले ह्रास आई तीन अर्ब २२ करोडमा सीमित रहेको छ । भटमासको तेलको निर्यातमा २७७३ दशमलव ४ प्रतिशतले वृद्धि भई तीन अर्ब नौ करोड पुगेको छ । तयारी पोशाकको निर्यातमा ०.६ प्रतिशतले ह्रास आई दुई अर्ब ९९ करोडमा सीमित भएको छ ।

जुट तथा जुटका उत्पादनको निर्यातमा १४ दशमलव ३ प्रतिशतले वृद्धि भई दुई अर्ब ४२ करोड पुगेको छ । फलाम तथा स्टिल र तिनका उत्पादनहरुको निर्यातमा ५६.३ प्रतिशतले ह्रास आई एक अर्ब ३४ करोडमा सीमित भएको छ । यसैगरी समीक्षा अवधिमा एक अर्ब ५७ करोडको जुस, एक अर्ब ४५ करोडको चिया, एक अर्ब ४१ करोडको टेक्सटाइल, एक अर्ब ८६ करोडको अलैंची, एक अर्ब छ करोडको पश्मिना सल, एक अर्ब १७ करोडको फेल्ट, ५१ करोडको जडीबुटी निकासी भएको देखिन्छ ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार चालू आवको प्रथम पाँच महिनामा पाम आयल र भटमासको तेलको निर्यात उत्साहजनक देखिएको छ । ती वस्तुहरुको हिस्सा नेपालको कुल निर्यातमा क्रमशः २४ दशमलव दुई प्रतिशत र छ दशमलव पाँच प्रतिशत रहेको छ । समीक्षा अवधिमा कच्चा पाम आयलको आयातमा २०३ दशमलव ४ प्रतिशतले वृद्धि भई नौ अर्ब ९५ करोड पुगेको छ । चालू आवको प्रथम पाँच महिनामा कच्चा भटमासको तेलको आयातमा २३ दशमलव एक प्रतिशतले वृद्धि भई छ अर्ब ६२ करोड रहेको छ । नेपालको निकासी व्यापारमा भारत, संयुक्त राज्य अमेरिका, जर्मनी, बेलायत, टर्की, चीन, बंगलादेश, फ्रान्स, जापान, इटाली, क्यानडा, अष्ट्रेलिया, स्विट्जरल्याण्ड आदि प्रमुुख रुपमा रहेका छन् ।

पैठारीतर्फ समग्रमा चालू आवको प्रथम पाँच महिनामा अघिल्लो आवको सोही अवधिको तुलनामा पेट्रोलियम पदार्थको आयात १३ दशमलव पाँच प्रतिशतले ह्रास आई ७६ अर्ब १४ करोडमा सीमित भएको छ । यसैगरी समीक्षा अवधिमा फलाम तथा स्टिल र तिनका उत्पादनहरुको आयातमा २५ दशमलव तीन प्रतिशतले ह्रास आई ५४ अर्ब ७४ करोड, मेसिनरी तथा पार्ट्समा दुई दशमलव छ प्रतिशतले ह्रास आई ४७ अर्ब १२ करोड, यातायातका साधन र तिनका पार्टपुर्जामा छ दशमलव तीन प्रतिशतले ह्रास आई ४१ अर्ब ३५ करोड, इलेक्ट्रिक र इलेक्ट्रोनिक सामग्रीहरुमा २६ दशमलव सात प्रतिशतले वृद्धि भई २९ अर्ब ४३ करोड, अन्नको आयातमा पाँँच दशमलव तीन प्रतिशतले ह्रास आई २० अर्ब २२ करोड, हवाइजहाज तथा हवाइजहाजका पार्ट्सको आयातमा २१ दशमलव तीन प्रतिशतले ह्रास आई १४ अर्ब ३८ करोड, तयारी पोसाकको आयातमा चार दशमलव तीन प्रतिशतले वृद्धि भई १७ अर्ब १८ करोड पुगेको छ । सुनको आयातमा ६० दशमलव चार प्रतिशतले ह्रास आई छ अर्ब ९० करोडमा सीमित भएको छ ।

यसैगरी औषधिको आयातमा आठ दशमलव आठ प्रतिशतले ह्रास आई १३ अर्ब २७ करोडमा सीमित भएको छ । पोलिथिन ग्रेन्युल्सको आयातमा १३ दशमलव दुई प्रतिशतले ह्रास आई नौ अर्ब नौ करोड सीमित भएको छ । समीक्षा अवधिमा दश अर्ब ८९ करोडबराबरको रासायनिक मल र एक अर्ब ७३ करोड बराबरको सिमेन्ट क्लिङ्कर पनि आयात भएको देखिन्छ । दूरसञ्चारका सामग्रीहरुको आयातमा ३५ दशमलव दुई प्रतिशतले वृद्धि भई १६ अर्ब ३७ करोड पुगेको छ । नेपालको पैठारी व्यापारमा भारत, चीन, इण्डोनेसिया, युनाइटेड अरब इमिरेट्स (युएई), संयुक्त राज्य अमेरिका, क्यानडा, स्विट्जरल्याण्ड, दक्षिण अफ्रिका, थाइल्याण्ड, साउदी अरेबिया, अर्जेन्टिना, दक्षिण कोरिया, युक्रेन, फ्रान्स प्रमुुख रुपमा रहेका छन् । समीक्षा अवधिमा समग्र निकासीमा उल्लेख्य रुपमा सुधार तथा आयातमा भएको कमी अर्थात् ह्राससँगै व्यापारघाटामा छ दशमलव तीन प्रतिशतले कमी आई नेपालको कुल व्यापारघाटा पाँच खर्ब ३३ अर्ब ६४ करोडमा सीमित भएको छ ।

पाम आयलको निर्यात क्षणिक ! उद्योगी, अर्थविज्ञ लगायतका व्यक्तिहरुले पाम आयालको कारण व्यापार घाटामा केही सुधार देखिए पनि यो क्षणिक भएको बताउँदै आएका छन् । अर्थविद् डा. डिल्लीराज खनालले पाम आयलले व्यापारमा सुधार देखिनु भनेको क्षणिक हुनसक्ने बताए । भारत र मलेसियाको सम्बन्ध बिग्रिँदा नेपालबाट पाम आयलको निर्यातमा वृद्धि भएको हो, उनले भने, कुनै कारणवश भारतले पाम आयाल खरिदमा कमी गरेमा नेपालको व्यापारमा मध्य तथा दीर्घकालीन असर पर्छ । त्यसैले यो क्षणिक हो ।

भारतीय नागरिकता विधेयक सम्बन्ध र मुस्लिम समुदायको बाहुल्य रहेको काश्मिर क्षेत्रबारे मलेसियाली प्रधानमन्त्री महाथिर मोहम्मदले आलोचना गरेपछि यी दुई देशबीचको सम्वन्ध बिग्रिएको थियो । सोसँगै भारतले मलेसियाबाट आउने पाम तेल आयातमा अघोषित प्रतिबन्ध लगाएको थियो । जसले गर्दा नेपालका उद्योगीहरुलाई पाम तेल निर्यातमा राहत मिलेको थियो ।

‘मलेसिया र भारतबीचको सम्बन्धको कारण नेपाली उद्योगीले पाम आयल निर्यात गरे पनि भोलि सम्बन्ध सुधार भएको खण्डमा निर्यातमा कमी आउन सक्ने जसले गर्दा नेपालको व्यापारमा असर पुग्छ’, उनले भने, ‘त्यसैले यस्ता क्षणिक कुराभन्दा पनि आयात प्रतिस्थापनतर्फ ध्यान दिनु आवश्यक छ ।’ उनले नेपाल र भारतबीच १९९० को दशकमा भएको व्यापार सम्झौताअनुसार नेपालको निर्यात वृद्धिमा भारतले सदैव चासो राख्ने गरेको तथा सो सम्झौताअनुरुप भारतले दिने गरेको छुटमा नेपाली उद्योगीहरुले गलत प्रयोग गरेको बताए ।

भारतले नेपालको सन्दर्भमा कच्चा पदार्थमा पनि छुट तथा भारतीय बजारमा निर्यात समेत गर्न पाउने हुँदा तेस्रो मुलुकबाट कच्चा पदार्थ ल्याई भारतको बजारमा निर्यात गर्नु जोखिमपूर्ण हो । पाम आयलको कच्चा पदार्थ आयात गरेर निर्यात गर्नु भनेको नेपाल र भारतबीच भएको सम्झौताभन्दा गलत बाटोमा जानु हो । भारतले घ्यूउजन्य कच्चा पदार्थलगायत विभिन्न वस्तुमा छुट दिने गरेको छ । उनले हामीले भारत तथा अन्य मुलुकबाट हुने आयातलाई समेत रोक्ने हिसाबले औद्योगिक उत्पादन गर्नु आवश्यक रहेको बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया