Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकर्णाली प्रदेशका बैंक तथा वित्तीय संस्थामा ४३ अर्ब ४३ करोड रुपैयाँ मात्र जम्मा

कर्णाली प्रदेशका बैंक तथा वित्तीय संस्थामा ४३ अर्ब ४३ करोड रुपैयाँ मात्र जम्मा


काठमाडौं । कर्णाली प्रदेशमा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप सामान्यरुपमा बढेको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको प्रादेशिक आर्थिक गतिविधि अध्ययनअन्तर्गत कर्णाली प्रदेशको प्रथम अर्धवार्षिक प्रतिवेदनअनुसार सो प्रदेशमा बैंक तथा वित्तीय संस्थाहरुले संकलन गरेको कुल निक्षेप पुस मसान्तसम्ममा ३७ दशमलव ३७ प्रतिशतले बढेर ४३ अर्ब ४३ करोड रुपैयाँ पुगेको हो । गत वर्षको सोही अवधिमा यस्तो निक्षेप १९ दशमलव १९ प्रतिशतले बढेको थियो ।

प्रतिवेदनअनुसार यस अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले कर्णाली प्रदेशमा प्रवाह गरेको कुल कर्जा रकम भने पुस मसान्तसम्ममा २१ दशमलव ३९ प्रतिशतले बढेर ४२ अर्व ६४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो कर्जा ३२ दशमलव ४५ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिको अन्त्यमा कर्जा निक्षेप अनुपात ९८ दशमलव २० प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अनुपात एक सय ११ दशमलव १३ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ । यसैगरी प्रदेशका बैंक तथा वित्तीय संस्थाले सेवा क्षेत्रमा प्र्रवाह गरेको कर्जा तीन दशमलव चार प्रतिशतले बढेर ३२ अर्ब ३३ करोड पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो कर्जा ८६ दशमलव ८२ प्रतिशतले बढेको थियो ।

यस अवधिमा प्रवाहित कुल कर्जामध्ये सेवा क्षेत्रमा प्रवाहित कर्जाको अंश ७६ दशमलव ३९ प्रतिशत रहेको छ । कुल सेवा कर्जामध्ये वित्त, बीमा तथा अचल सम्पत्ति क्षेत्रमा प्रवाहित कर्जा सबैभन्दा बढी अर्थात् २० दशमलव ४९ प्रतिशतले वृद्धि हुँदा सबैभन्दा कम अन्य सेवा क्षेत्रमा नौ दशमलव ४४ प्रतिशतले वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ । साथै, स्थानीय सरकार कर्जा क्षेत्रमा ९६ दशमलव नौ प्रतिशत र अन्य कर्जा क्षेत्रमा ११ दशमलव ५३ प्रतिशतले ह्रास आएको छ । यसैगरी, यातायात, भण्डारण र सञ्चार क्षेत्रमा १९ दशमलव ७१ प्रतिशत, थोक तथा खुद्रा बिक्रेता क्षेत्रमा १४ दशमलव एक प्रतिशत र पर्यटन क्षेत्रमा १४ दशमलव २५ प्रतिशतले वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनअनुसार यस अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट कृषि र वन क्षेत्रमा प्रवाहित कर्जा ३२ दशमलव ८८ प्रतिशतले वृद्धि भई तीन अर्ब २८ करोड पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो कर्जा ७९ दशमलव ५३ प्रतिशतले वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ । त्यसैगरी, माछापालनसम्बन्धी क्षेत्रमा प्रवाहित कर्जा १० दशमलव ४५ प्रतिशतले वृद्धि भई एक करोड ५२ लाख पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो कर्जा ८१ दशमलव ७९ प्रतिशतले वृद्धि भएको थियो, प्रतिवेदनमा भनिएको छ ।

राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरुबाट कर्णाली प्रदेशको कृषि क्षेत्रमा प्रवाहित कर्जा भने ३२ दशमलव ७५ प्रतिशतले वृद्धि भई तीन अर्ब २९ करोड पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो कर्जा ७९ दशमलव ५४ प्रतिशतले वृद्धि भएको थियो । यस प्रदेशमा बैंक तथा वित्तीय संस्थाहरुले कुल प्रवाहित कर्जामध्ये सात दशमलव ७४ प्रतिशत कर्जा कृषि क्षेत्रमा प्रवाह गरेको प्रतिवेदनमा उल्लेख छ ।

यसैगरी औद्योगिक क्षेत्रअन्तर्गत विद्युत्, ग्यास तथा पानीसम्बन्धी उद्योगमा प्रवाहित कर्जा सबैभन्दा बढी ६२ दशमलव २४ प्रतिशतले वृद्धि भएको छ भने सबैभन्दा कम कृषि, वन तथा पेय पदार्थ उत्पादनसम्बन्धी उद्योेगमा एक दशमलव चार प्रतिशतले वृद्धि भएको छ । खानीसम्बन्धी उद्योगमा प्रवाह भएको कर्जा ५२ दशमलव ४६ प्रतिशत, गैरखाद्य वस्तु उत्पादनसम्बन्धी उद्योगमा प्रवाह भएको कर्जा ३९ दशमलव २२ प्रतिशत, निर्माणसम्बन्धी उद्योगमा प्रवाह भएको कर्जा १६ दशमलव ८१ प्रतिशत र धातुका उत्पादन, मेसिनरी तथा इलेक्ट्रोनिकसम्बन्धी उद्योगमा नौ दशमलव ६९ प्रतिशतले बढेको छ ।

प्र्रतिवेदनअनुसार कर्णाली प्रदेशमा उद्योग क्षेत्रमा प्रवाहित कुल औधोगिक कर्जामध्ये सबैभन्दा बढी ७४ दशमलव ५५ प्रतिशत निर्माणसम्बन्धी उद्योगहरुमा प्रवाहित भएको छ भने सबैभन्दा कम शून्य दशमलव ५५ प्रतिशत कर्जा खानीसम्बन्धी उद्योगहरुमा लगानी भएको छ । त्यस्तै, कृषि, वन तथा पेय पदार्थ उत्पादनसम्बन्धी उद्योगहरुमा आठ दशमलव सात प्रतिशत र गैरखाद्य वस्तु उत्पादनसम्बन्धी उद्योगहरुमा १० दशमलव २१ प्रतिशत कर्जा प्रवाहित भएको छ । साथै, विद्युत्, ग्यास तथा पानीसम्बन्धी उद्योगहरुमा एक दशमलव ४८ प्रतिशत र धातुका उत्पादन, मेसिनरी तथा इलेक्ट्रोनिकसम्बन्धी उद्योगहरुमा पाँच दशमलव १५ प्रतिशत औधोगिक कर्जा प्रवाहित भएको देखिन्छ ।

बैंक तथा वित्तीय संस्थाले कर्णाली प्रदेशका औद्योेगिक क्षेत्रमा प्र्रवाह गरेको कर्जा १७ दशमलव ५० प्रतिशतले बढेर अर्ब ६९ करोड पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो कर्जा ४७ दशमलव ४२ प्रतिशतले बढेको थियो । राष्ट्र बैंकका अनुसार कर्णाली प्रदेशमा प्रवाह भएको कुल कर्जामध्ये औद्योगिक क्षेत्रमा प्रवाहित कर्जाको अंश १५ दशमलव ७० प्रतिशत रहेको छ ।

कर्णाली प्रदेशमा बैंक तथा वित्तीय संस्थाहरुको कुल शाखा संख्या भने चार सय छ वटा रहेको छ । जसअन्तर्गत वाणिज्य बैंकका एक सय ९०, विकास बैंकका १७, वित्त कम्पनीका चार तथा लघुवित्त वित्तीय संस्थाका एक सय ९५ गरी कुल चार सय छ वटा शाखा सञ्चालनमा रहेका हुुन्, प्रतिवेदनमा भनिएको छ । सोमध्ये सुर्खेतमा सबैभन्दा बढी अर्थात् एक सय ३२ तथा मुगुमा सबैभन्दा कम १० शाखा सञ्चालनमा रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया