Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारऋण अपचलनको कीर्तिमान

ऋण अपचलनको कीर्तिमान

लालीगुराँस सहकारीका प्रमुख भण्डारीले आफ्नै कम्पनीलाई दिए अर्बौं ऋण


काठमाडौं । बैंक तथा वित्तीय संस्थाले आफ्ना सहायक कम्पनी खडा गरेर ऋण दिनु भनेको ऋण अपचलन मात्रै हाइन आर्थिक अपराध हो । यस्ता आर्थिक अपराध गरेको मुद्दामा कयौँ ठूला बैंकर जेलमा छन् ।

कयौँले जेल सजाय भोगेका छन् । तर, ललितपुरको पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीले विभिन्न सहायक कम्पनी खडा गरेर अर्बौँ ऋण अपचलन गरे पनि सरोकारवाला निकायले कुनै कारबाही गरेको छैन ।

भण्डारीले सहकारीबाट विभिन्न सहायक कम्पनी खडा गरेर ऋण अपचलन गरे पनि कुनै कारबाही नभएको पाइएको हो । त्यस्ता कम्पनी एक वा दुई होइन दर्जनौँ रहेको तथ्य भेटिएको छ । ती कम्पनीमा अस्वाभाविक रुपमा ऋण प्रवाह भएको समेत देखिएको छ ।

आर्थिक दैनिकले फेला पारेको श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाको मास्टरलिस्ट अफ लोनमा अधिकांश कम्पनी भण्डारीकै रहेको देखिएको छ । शंखमूलमा कलेज रहेको श्री लालीगुराँस एजुकेसन फाउन्डेसन, जय लालीगुराँस इन्भेष्टमेन्ट एण्ड ट्रेडिङ सेन्टर, लालीगुराँस हस्पिटल प्रालि, श्री लालीगुराँस जनस्वास्थ्यलगायत दर्जनौँ कम्पनीमा सहकारीको अर्बौँ ऋण अपचलन भएको छ ।
प्राप्त स्टेटमेन्टमा सन् २०१४ डिसेम्बर १० मा श्री लालीगुराँस एजुकेसन फाउन्डेसनको नाममा सहकारीबाट ४५ लाख रुपैयाँ ऋण निकालिएको छ । फाउन्डेसनकै नाममा सोही दिन फेरि ५२ लाख रुपैयाँ ऋण निकालिएको छ ।

एकै मितिमा अर्को ७१ लाख रुपैयाँ ऋण निकालिएको स्टेटमेन्टमा उल्लेख छ । पटक–पटक गरेर एकै दिन उक्त फाउन्डेसनको नाममा एक करोड ६८ लाख रुपैयाँ ऋण निकालिएको छ । जबकि श्री लालीगुराँस राष्ट्रिय कलेजको अध्यक्ष नै सुरेन्द्र भण्डारी स्वयं छन् ।

सन् २०१५ अक्टोबर ९ मा सोही एजुकेसन फाउन्डेसनको नाममा अर्को ५० लाख ऋण प्रवाह भएको देखिएको छ । सन् २०१७ अप्रिल २० मा फाउन्डेसनकै नाममा दुई पटक गरी दुई करोड ८० लाख रुपैयाँ निकालिएको छ । सन् २०१६ अक्टोबर २ मा सोही एजुकेसन फाउन्डेसनले ५५ लाख ८ हजार ७ सय १६ रुपैयाँ ऋण लिएको देखिन्छ ।

सन् २०१६ जुलाई १५ मा श्री लालीगुराँस प्रोफेसनलको नाममा ४७ लाख रुपैयाँ सहकारीबाट ऋण निकालिएको छ । यसरी एजुकेसन फाउन्डेसनकै नाममा पटक–पटक गरी ६ करोडभन्दा बढी ऋण निकालिएको छ ।

ललितपुरको सातदोबाटोस्थित ताल्छिखेलमा एउटा अस्पताल छ । जसको नाम हो लालीगुराँस अस्पताल । यो अस्पताललाई समेत ऋण अपचलनको केन्द्र बनाइएको छ । भण्डारी नै अध्यक्ष रहेको यो अस्पतालको नाममा पनि करोडौँ ऋण अपचलन गरिएको छ ।

वर्षौँदेखि अस्पतालको रुपमा सेवा नै दिन नसकेको उक्त अस्पतालको नाममा पाँच वर्षअघि नै करोडौँ रुपैयाँ मनोमानी रुपमा ऋण निकालिएको छ । स्टेटमेन्टअनुसार लालीगुराँस जनस्वास्थ्यको नाममा सन् २०१६ जुलाई १५ मा चार करोड ९३ लाख रुपैयाँ ऋण निकालिएको छ । त्यस्तै सोही नाममा सोही मितिमा अर्को नौ करोड रुपैयाँ ऋण निकालिएको छ । सन् २०१७ मार्च १२ मा लालीगुँरास हस्पिटलको नाममा एक करोड ५० लाख ऋण निकालिएको देखिन्छ ।

त्यस्तै सोही दिन अर्को पटक १ करोड ४० लाख रकम ऋण निकालिएको छ । लालीगुराँस हस्पिटलको नाममा सन् २०१७ जुलाई १३ मा अर्को एक करोड रुपैयाँ निकालिएको छ । सन् २०१७ जुन १३ मा लालीगुराँस हस्पिटलकै नाममा अर्को २० लाख रुपैयाँ ऋण निकालेको देखिन्छ । सन् २०१५ मे २६ मा हस्पिटलकै नामबाट १५ लाख रुपैयाँ ऋण निकालिएको देखिन्छ । लालीगुराँस हस्पिटलकै नाममा सन् २०१६ डिसेम्बर १८ मा ५८ लाख रुपैयाँ निकालेको देखिएको छ ।

त्यस्तै सन् २०१३ अगस्ट २२ मा हस्पिटलकै नाममा ८ लाख १३ हजार २ सय १३ रुपैयाँ ऋण निकालिएको छ । यसरी पटक–पटक गरेर उक्त अस्पतालको नाममा मात्रै केही चार आर्थिक वर्षभित्रै २० करोड रुपैयाँभन्दा बढीको ऋण अपचलन गरेको स्मेटमेन्टमै देखिन्छ । सर्वसाधारणको ऋण धितो कमसल मूल्यांकन गरेर धितो सकार्ने कम्पनी हो जय जया लालीगुराँस इन्भेष्टमेन्ट एण्ड ट्रेडिङ कम्पनी । सोही कम्पनीको नाममा समेत करोडौँको ऋण अपचलन भएको छ ।

उक्त कम्पनीको नाममा पनि करोडौँ अपचलन भएको प्रमाणमा देखिन्छ । स्टेटमेन्टअनुसार सन् २०१५ जुलाई १५ मा उक्त कम्पनीको नाममा लालीगुराँस सहकारीबाट १ करोड ११ लाख रुपैयाँ ऋण निकालिएको छ । त्यसको एक दिनअघि १४ जुलाईमा २० लाख रुपैयाँ ऋण निकालिएको छ । सन् २०१६ मे ६ मा जय श्री लालीगुराँस इन्भेष्टमेन्ट एण्ड ट्रेडिङ प्रालिको नाममा ९५ लाख रुपैयाँ ऋण निकालिएको छ । यो कम्पनीको नाममा पनि श्री लालीगुराँस सहकारीको नाममा २ करोडभन्दा बढी ऋण निकालिएको छ । यो कम्पनीले श्री लालीगुराँस सहकारीबाटै ऋण लिएका ऋणीहरुको धितो कमसल मूल्यांकन गरेर हत्याउँदै आएको छ ।

श्री लालीगुराँस डेरी फार्म एण्ड रिसर्च सेन्टरको नाममा लालीगुराँस सहकारीले चितवन जिल्ला खैरहनी नगरपालिका वडा नम्बर ११ मा गाई फार्म सञ्चालन गरेको छ । यो सहकारीको नाममा समेत सहकारीको करोडौँ ऋण दुरुपयोग गरिएको छ । सन् २०१२ मे ५ मा कृषि प्रोजेक्टको नाममा १५ करोड ९२ लाख ७९ हजार २ सय ८९ रुपैयाँ ऋण प्रवाह भएको देखिन्छ । तर, १५ करोड लगानीको कुनै भौतिक संरचना वा अन्य भौतिक वस्तु केही नभएको चितवनकै एक स्थानीयले बताए । यतिका रकम निकाल्दा ब्याजदर भने शून्य प्रतिशत उल्लेख छ । त्यस्तै सन् २०१७ जुन २२ मा श्री लालीगुराँस डेरी प्रोसेसनको नाममा ७९ हजार ४ सय ४४ रुपैयाँ ऋण निकालिएको छ ।

डुबेको हाइड्रोपावरमा करोडौं लगानी ! सिन्धुपाल्चोक जिल्ला साविक लार्चा गाविस १ तातोपानीमा निर्माण भएको भैरव कुण्ड हाइड्रोपावरमा सहकारीबाट सन् २०१७ जुन ५ मा ३ करोड ३५ लाख ऋण देखिएको छ । तर, यो हाइड्रोपावर केही वर्षअघि मात्रै सानिमा बैंकले लिलामी गरेको हो । सानिमा बैंकबाट समेत ४० करोडभन्दा बढी ऋण निकालिएको थियो । तर, ऋण नतिरेपछि श्री लालीगुराँस सहकारी नै कालोसूचीमा राख्ने भन्दै बैंकले दैनिक पत्रिकामा सूचना निकालेको थियो । तर, यो हाइड्रोपावरको नाममा भण्डारीले डेढ अर्बभन्दा बढी रकम हिनामिना गरेको उच्च स्रोतले बतायो । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया