Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारएयरलाइन्स कम्पनीहरूलाई कालोसूचीमा राख्ने तयारी

एयरलाइन्स कम्पनीहरूलाई कालोसूचीमा राख्ने तयारी


काठमाडौँ ।नागरिक उड्डयन प्राधिकरण (क्यान) ले एयरलाइन्स कम्पनीहरूले बक्यौता रकम नतिरेपछि उनीहरूलाई कालोसूचीमा राख्ने तयारी गरेको छ । बक्यौता तिर्न प्राधिकरणले सार्वजनिक सूचनामार्फत आग्रह गरेको थियो । तर ती कम्पनीहरूले चासो दिएका छैनन् ।बक्यौता रकम तिर्नको लागि गरिएको आग्रहमा एक÷दुई वटा एयरलाइन्स कम्पनी सम्पर्कमा आए पनि अरुले बेवास्ता गरेको प्राधिकरणले जानकारी दिएको छ । अब पनि बक्यौता रकम नतिर्ने एयरलाइन्स कम्पनीका सञ्चालकलाई कालोसूचीमा राख्ने तयारी प्राधिकरणको रहेको छ । बक्यौता नतिर्नेलाई नियमअनुसार कालोसूचीमा राख्ने तयारी गरिएको वित्तीय विभाग प्रमुख गोविन्द दाहालले बताए । ‘बक्यौता रकम तिर्न आग्रह गरेपछि एयरलाइन्स सञ्चालकहरू सम्पर्कमा आएका छन्’, उनले भने, ‘कसैले म्याद थपका लागि आग्रह गरेका छन् । तर म्याद थप गर्न सकिने अवस्था नहुँदा त्यो सम्भव छैन ।’

विमानस्थल प्रयोग गरेबापत नेकोन एयर, शिवानी एयर, अल्पाइन एयरसहित १० वटा कम्पनीले प्राधिकरणलाई बक्यौतास्वरुप करिब १० करोड रुपैयाँ तिर्न बाँकी छ । बन्द रहेका ११ वटा एयरलाइन्स कम्पनीहरूले नौ करोड ६८ लाख ७४ हजार बक्यौता रकम छ । जसमध्ये सबैभन्दा बढी नेकोन एयरको चार करोड ७० लाख ६० हजार रहेको छ भने शिवानी एयरको ५५ लाख, अल्पाइन एयरको ७२ हजार, गोरखा एयरको २० लाख ३५ हजार, कर्णाली एयरको १७ लाख ४६ हजार बक्यौता रकम छ ।

यस्तै माउण्टेन एयरको एक लाख २७ हजार, कस्मिक एयरको तीन करोड ४७ लाख ५८ हजार, सांग्रिला एयरको १५ लाख ३७ हजार, स्काईलाइन एयरवेजको १५ लाख ५० हजार र काष्ठमाण्डप एयरलाइन्सको सात लाख ३८ हजार बक्यौता रकम तिर्न बाँकी रहेको प्राधिकरणका उपमहानिर्देशक राजकुमार क्षेत्रीले बताए । एयरलाइन्स कम्पनीहरूले विगतमा विमानस्थलमा ल्यान्डिङ, पार्किङ र नेभिगेसनलगायतका सुविधाहरू लिएका थिए ।

यसैबीच नेपाल एयरवेजले भने आप्mनो बक्यौता रकम तिरेको वित्तीय विभाग प्रमुख दाहालले बताए । ‘नेपाल एयरवेजले पाँच लाख ५० हजार बक्यौता रकम तिरेको छ । शिवानी एयर र स्काईलाइन एयरवेजले तिर्ने प्रतिबद्धता जनाएका छन्’, उनले भने, ‘बक्यौता तिर्नका लागि थप समय माग गरेका छन् । तर हामी समय थप गर्ने पक्षमा छैनौँ ।’प्राधिकरणले असोज दोस्रो हप्तासम्मको लागि बक्यौता रकम तिर्नको लागि समय उपलब्ध गराएको छ । सो अवधिमा बक्यौता रकम नतिरेको खण्डमा एयरलाइन्स सञ्चालकहरूको घरजग्गा रोक्का, राहदानी रोक्का तथा विदेशीस्थित नियोगलाई समेत जानकारी गराउने तयारी गरेको छ ।

यसअघि बक्यौता रकम तिर्नको लागि गरिएको आग्रहमा करिब २० देखि २५ लाख रुपैयाँ उठेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार तोकिएको समयभित्रमा पनि हिसाबमिलान वा रकम बुझाउन नआएमा सम्बन्धित संस्थाका सञ्चालकलाई नागरिक उड्डयन प्राधिकरण विमानस्थल सेवा शुल्क नियमावली २०७६ को नियम ३० को उपनियम (३) बमोजिम भविष्यमा हवाइ सेवा, विमानस्थल तथा प्राधिकरणसँग सम्बद्ध कुनै किसिमको काम कारबाही तथा व्यापार व्यवसायमा सहभागी हुन नपाउने गरी कालोसूचीमा राख्न तथा अन्य प्रचलित ऐन कानुनअनुसार सञ्चालक, निज एकाघरका परिवारको एवं जमानी बस्नेहरूको जायजेथाबाट सरकारी बाँकीसरह असुलउपर गरिनेछ ।

यस्तै प्राधिकरणले बक्यौता रकम सम्बन्धमा कुनै फरक परेको आधार र प्रमाण भएमा पुष्ट्याइँसहित पेश गरी हिसाबमिलान गर्न समेत एयरलाइन्स कम्पनीहरूलाई आग्रह गरेको छ । एउटै एयरलाइन्स कम्पनीका संस्थापकहरूको संख्या धेरै हुँदा समेत बक्यौता रकम तिर्न समस्या भएको प्राधिकरणका अधिकारीहरूको भनाइ छ । एयरलाइन्स कम्पनीहरूले करिब २०÷२२ वर्ष अघिदेखि बक्यौता रकम तिरेका छैनन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया