Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार४१ प्रतिशत मात्र बजेट खर्च गरेको क्यानको नियमित आम्दानी २७ प्रतिशतले वृद्धि !

४१ प्रतिशत मात्र बजेट खर्च गरेको क्यानको नियमित आम्दानी २७ प्रतिशतले वृद्धि !


काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को नियमित आम्दानी २७ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०७७/०७८ मा प्राधिकरणले नियमित आम्दानी २७ प्रतिशले बढेको छ अर्थात् दुई अर्ब ६४ करोड १६ लाख भएको छ । सो वर्ष उसले सोही शीर्षकमा दुई अर्ब सात करोड ३२ लाख आम्दानी हुने प्रक्षेपण गरेको थियो । यस्तै प्राधिकरणले नियमित आम्दानी र विमानस्थल विकास शुल्क गरेर प्रक्षेपित आम्दानीको तुलनामा ११ प्रतिशत बढी आम्दानी गरे पनि विमानस्थल विकास शुल्कमा भने घटेको छ ।

आर्थिक वर्ष २०७७/०७८ मा विमान विकास शुल्क भने ५४ प्रतिशतले कमी आएको छ अर्थात् ३१ करोड ६० लाख भएको छ । सो वर्ष उसले विमानस्थल विकास शुल्कबापत ६० करोड २८ लाख आम्दानी हुने प्रक्षेपण गरेको थियो । प्राधिकरणले कोभिडको प्रभावलाई दृष्टिगत गरी प्राधिकरणले सोहीबमोजिम आर्थिक वर्ष २०७७/०७८ को आम्दानी प्रक्षेपण गरेको थियो ।

प्राधिकरणले नियमित आम्दानी र विमानस्थल विकास शुल्क गरेर प्रक्षेपित आम्दानीको तुलनामा ११ प्रतिशत बढी आम्दानी गरेको प्राधिकरणका महानिर्देशक राजन पोखरेलले बताए । प्राधिकरणले आर्थिक वर्ष २०७७/०७८ मा नियमित र विमानस्थल विकास शुल्क गरेर दुई अर्ब ९५ करोड ६७ लाख खुद आम्दानी गरेको छ । सो वर्ष उसले सोही शीर्षकमा दुई अर्ब ६७ करोड ६० लाख आम्दानी गरिने प्रक्षेपण गरेको थियो । यद्यपि विमानस्थल विकास शुल्कबापत प्राप्त हुने आम्दानी भने ५२ प्रतिशतले घटेको छ ।

यस्तै प्राधिकरणले विनियोजित बजेटको ४१ प्रतिशत मात्र रकम खर्च गरेको छ । आर्थिक वर्ष २०७७/०७८ का लागि सरकारले ४१ अर्ब ११ करोड तीन लाख बजेट विनियोजन गरेकोमा प्राधिकरणले १६ अर्ब ८२ करोड ४८ लाख खर्च गरेको छ । कोभिडको कारण विकास आयोजनाहरु बढी प्रभावित हुँदा पुँजीगत खर्च अपेक्षाकृत बढ्न नसकेको महानिर्देशक पोखरेलको भनाइ छ ।

हवाइ सेवाबाट हुने आम्दानीमा निर्भर रहने प्राधिकरण कोभिडको परिस्थितिको कारण हवाइ सेवा प्रभावित भएकोले प्राधिकरणको आम्दानीमा गम्भीर असर परेको हो । त्यस्तै विमानस्थलबाट प्राप्त हुने विभिन्न सेवाहरु अर्थात् पसल, पार्किङलगायतको आम्दानी समेत गुमेको छ । कोभिडका कारण नेपाल सरकार तथा विदेशी दातृसंस्थाको ऋण तथा सहयोगमा सञ्चालित ठूला आयोजनाहरुले निरन्तरता प्राप्त गरेका छन् । तर, प्राधिकरणको स्रोतबाट गरिने विमानस्थल सञ्चालनसँग सम्बन्धित नियमित निर्माण सुधारको कार्य भने प्रभावित भएका थिए । यता अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)ले पनि कोभिडका कारण सबैभन्दा बढी प्रभाव एसिया प्रशान्त क्षेत्रको हवाइ सेवामा पर्ने बताएको थियो । आईकाओका अनुसार गर्न वर्षको जनवरीदेखि अगष्ट २०२० सम्म वायुसेवा कम्पनीहरुले यात्रुबाट हुने आम्दानी ८६ प्रतिशतले गुमाएको बताएको थियो ।

कोभिडको समयमा हवाइ यातायात क्षेत्र तथा यात्रुमा समेत असर परेको थियो जुन प्राधिकरणको आम्दानीमा पर्ने कारक हो । सन् २०१९ मा अन्तर्राष्ट्रिय उडानतर्फ हवाइ यात्रु संख्या ४१ लाख ३८ हजार पाँच सय ६३ जना रहेको थियो भने सन् २०२० मा सो संख्या ७३ प्रतिशतले घटेको थियो । सन् २०२० मा ११ लाख पाँच हजार नौ सय २९ जना यात्रु संख्या कायम रहेको थियो ।

यस्तै, आन्तरिक उडानतर्फ सन् २०१९ मा ३१ लाख ८८ हजार चार सय २९ जना हवाइयात्रु आवागमन भएकोमा सन् २०२० मा सो संख्या ५९ प्रतिशतले घटेको थियो । सन् २०२० मा १२ लाख ९२ हजार पाँच सय २१ जना आन्तरिक हवाइ यात्रु रहेका थिए । नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको हुँदा सो वर्ष उल्लेखनीय संख्यामा विदेशी यात्रुको आगमन भई प्राधिकरणको आम्दनीमा वृद्धि हुने प्रक्षपेण गरिए पनि कोभिडका कारण हवाइ तथा पर्यटन क्षेत्र धराशायी हुन पुगेको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया