Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबजेट होलिडेसँगै बैंकहरूमा अस्वस्थ प्रतिस्पर्धा

बजेट होलिडेसँगै बैंकहरूमा अस्वस्थ प्रतिस्पर्धा

निक्षेप तान्न चर्कोे ब्याजको होडबाजी


काठमाडौं । नेपालको इतिहासमा नै पहिलोपटक बजेट होलिडे भएसँगै बैंकहरुमा अस्वस्थ प्रतिस्पर्धा सुरु भएको छ । बजेट होलिडेका कारण सरकारले आफ्नो ढुकुटीमा पैसा भएर पनि खर्च गर्न नपाएपश्चात् बजारमा तरलताको अभाव हुनसक्ने भन्दै बैंकहरुले बजेट होलिडे सुरु भएको केही घण्टा नबित्दै चर्को ब्याज दिएर निक्षेप तान्न सुरु गरेका हुन् ।

अर्थमन्त्री जनार्दन शर्माले बजेट होलिडे त्यति लामो समयसम्म जारी नरहने भने पनि बैंकहरुले अर्थमन्त्रीको उक्त भनाइलाई विश्वास गर्न नसक्दा निक्षेप तान्ने होडबाजी चलेको हो । यता राष्ट्र बैंकले भने बजेट होलिडेको पहिलो दिन अर्थात् बिहीबार नै २० अर्ब रुपैयाँको रिपो जारी गरेको छ । अपराह्न ३ बजेसम्ममा बोलकबोलका माध्यमद्वारा उक्त परिमाणमा रिपो जारी गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ । रिपोको परिपक्व हुुने अवधि १४ अर्थात् यही असोज १४ गते तोकिएको छ । रिपो खरिदका लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिएका थिए ।

रिपो जारी गर्नुको प्रमुुख कारण पनि अहिले बैंकहरुसँग निक्षेप रकम रहेको र बजेट होलिडेसँगै वित्तीय प्रणालीमा आंशिकरुपमा प्रभाव देखिनसक्ने भन्दै राष्ट्र बैंकले रिपो जारी गरी बैंकहरुमा रहेको लगानीयोग्य रकम केही समयको लागि खिचेको हो । अहिले वाणिज्य बैंकहरुसँग मात्र ४१ खर्ब ५९ अर्ब रुपैयाँ निक्षेप रहेको छ भने कुल कर्जा रकम ३८ खर्ब ६४ अर्ब रुपैयाँ रहेको छ ।

यसैगरी विकास बैंक र फाइनान्स कम्पनीहरुसँग अहिले पाँच खर्ब ४२ अर्ब रुपैयाँ निक्षेप रहेको छ भने कुल कर्जा रकम चार खर्ब ७३ अर्ब रुपैयाँ छ । वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनी समेतहरुको कुल निक्षेप अहिले ४७ खर्ब एक अर्ब रुपैयाँ रहेको छ भने कुल कर्जा रकम ४३ खर्ब ३७ अर्ब रुपैयाँ रहेको छ । तर बजेट होलिडेसँगै बैंकिङ प्रणालीमा बैंकको यो निक्षेपमा कमी आउन सक्ने देखिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया