Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनियमविपरीत महाप्रबन्धक पौडेलले रोके कर्मचारीको तलब

नियमविपरीत महाप्रबन्धक पौडेलले रोके कर्मचारीको तलब

करिब ३ महिनासम्म निगममा निरन्तर आन्दोलन, सुनुवाइ कहिले ?


काठमाडौं । नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिमप्रसाद पौडेलले नियमविपरीत निगम कर्मचारीको तलब रोकेका छन् । महाप्रबन्धक पौडेलले आफूखुसी निगम कर्मचारीको तलब रोकेको भन्दै तत्काल सो कार्य बन्द गराउन कर्मचारी, कर्मचारी संगठन तथा ट्रेड युनियन समूहले माग गरेका छन् ।

संविधान तथा श्रम ऐनअनुरुप कर्मचारीले पाउनुपर्ने तलब भत्ता उपलब्ध गराइदिने निगम कर्मचारी, निगम कर्मचारी युनियन, नेपाल राष्ट्रिय कर्मचारी संगठन र निगम कर्मचारी संघले संयुक्त रुपमा श्रम कार्यालय, भन्सार मार्ग, टेकुलाई आग्रह गरेका छन् । गत मंगलबार कर्मचारी तथा तीनवटै ट्रेड युनियनले श्रम कार्यालयलाई पत्राचार गर्दै श्रमिकहरुले श्रम गरेबापतको पारिश्रमिक तत्काल संविधान, श्रम ऐनलगायत निगमको निगम कर्मचारीहरुको सेवा शर्तसम्बन्धी विनियमावली २०५८ ले सुनिश्चितता गरेको तलबभत्ता तत्काल उपलब्ध गराउन व्यवस्था हुँदा निगम कर्मचारीलाई तत्काल तलब उपलब्ध गराउन आग्रह गरेका छन् ।

‘गत असार ३१ गते सञ्चालक समितिको बैठक बसी निगमकै आर्थिक विनियमावली परिच्छेद ३ को विनिमय १२ बमोजिम प्रस्तावित बजेटको २५ प्रतिशत रकममा नबढ्ने गरी सम्पूर्ण बजेट शीर्षक समेट्न गरी पेश्की बजेट स्वीकृत गर्नुपर्नेमा नियमविपरीत अख्तियारीको दुरुपयोग गर्दै नेपाल वायुसेवा निगमको इतिहासमा नै धब्बा लाग्ने गरी प्रचलित कानुनविपरीत दुराशययुक्त तरिकाले कर्मचारीहरुको तलब भत्ता शीर्षकबाहेक अन्य शीर्षक बजेट सञ्चालक समितिबाट अनुमोदन गरी आम कर्मचारीहरुको तलब भत्ता रोकिराखेको अनुरोध गरिन्छ । त्यसकारणले गर्दा श्रमिकहरुले श्रम गरेबापतको पारिश्रमिक तत्काल संविधान, श्रम ऐनलगायत निगमको निगम कर्मचारीहरको सेवा शर्तसम्बन्धी विनियमावली २०५८ ले सुनिश्चितता गरेको तलब भत्ता तत्काल उपलब्ध गराउन भनी क्रियाशील तीन टे«ड युनियन संयुक्त रुपमा आग्रह गर्दछ’, श्रम कार्यालयलाई लेखिएको पत्रमा भनिएको छ ।

यस्तै कर्मचारी तथा ट्रेड युनियनले कामकाजलाई निरन्तरता दिँदै शान्तिपूर्ण धर्ना गरेको समेत जानकारी गराएको छ । ‘निगममा कार्यरत कर्मचारीहरु श्रम ऐन २०७४ अनुसार भएको व्यवस्थाबमोजिम प्रतिष्ठानस्तरको ट्रेड युनियन रहेको सहर्ष अवगत गराउँछौँ । संस्था सुधारका माग राखी शान्तिपूर्ण धर्ना, आन्दोलन कार्यालयको सम्पूर्ण कामकाज पूर्ण रुपमा सञ्चालन गर्दै गरेको अनुरोध छ । श्रमिकले श्रम गरेबापत पारिश्रमिक पाउने व्यवस्था नेपालको संविधान तथा श्रम ऐन २०७४ लगायत यस संस्थाको निगम कर्मचारीहरुको सेवा शर्तसम्बन्धी विनियमावली २०५८ परिच्छेद विनियम १२९ मा महिना समाप्त भएपछि तत्काल तलब भत्ता पाउने व्यवस्थाको सुनिश्चिता गरिएको अवगत गराउँछौँ’, पत्रमा भनिएको छ ।

तीनवटै संगठनले गत भदौ २९ गते श्रम कार्यालयलाई पारिश्रमिक उपलब्ध गराइदिन पत्र लेखेका हुन् । हवाइमाफियाको इसारामा चलेको शतप्रतिशत सेयर निजी क्षेत्रलाई बिक्री गर्न लागेको, गैरकानुनी तरिकाले सञ्चालक समितिको अध्यक्षले राजीनामा दिएको मौका छोपी गैरकानुनी तरिकाले सञ्चालक समितिका सदस्य बुद्धिसागर लामिछानेलाई नक्कली अध्यक्ष बनाई निजको अध्यक्षतामा बैठक राखी निगमलाई कम्पनीकरण गर्ने बहानामा निजीकरण गरी मोटो रकम लिने तयारी गरेको महाप्रबन्धक पौडेलमाथि कर्मचारी तथा ट्रेड युनियनहरुको आरोप छ । यस्तै उनले कर्मचारीको तलब भत्ता रोक्नुको साथै सरकारको निर्देशनविना निगमलाई कम्पनीमा रुपान्तरण गर्न खोजेको, बन्द गर्नलागेको, निगमको सम्पत्तिमाथि नीतिगत भ्रष्टाचारलगायतका आर्थिक हिनामिनाको काम गरेको आरोप छ ।

नेपाल सार्वजनिक सेवा कर्मचारी संघका अध्यक्ष जनार्दन शर्माले पनि आन्दोलनलाई ऐक्यबद्धता जनाउँदै आएका छन् । उनले नेपाल वायुसेवा निगम राष्ट्रिय गौरवको संस्था भएको उल्लेख गर्दै राज्यले यसलाई नाफा, घाटासँग हेर्नु नहुने धारणा राख्दै महाप्रबन्धक पौडेलले गैरकानुनी रुपमा अघि बढेको बताउँदै आएका छन् । करिब तीन महिना हुन लागेको शान्तिपूर्ण आन्दोलन महाप्रबन्धक पौडेलेको राजीनामा नभएसम्म निरन्तर जारी राख्ने कर्मचारी तथा संगठनहरुको भनाइ छ ।

‘सबै तहबाट महाप्रबन्धक पौडेलको विरोध, सरकार अझै मौन’
यसैबीच, कर्मचारी तथा संगठनहरुले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन सचिव, निगम महाप्रबन्धक, निगम निर्देशक (सम्पूर्ण विभाग), श्रम कार्यालय, राष्ट्रिय कर्मचारी महासंघ, पेशागत महासंघ, नेपाल ट्रेड युनियन कांग्रेसलाई महाप्रबन्धक पौडेलको कामकारबाहीबारे पत्र लेखेका छन् । सबै तहबाट महाप्रबन्धक पौडेलको कार्यशैलीलाई लिएर विरोध हुँदा सरकारले भने कुनै कदम चालेको छैन ।

डिम प्रसाद पौडेलेको बर्खास्तगी किन ? निगम कर्मचारी युनियन, नेपाल राष्ट्रिय कर्मचारी संगठन, निगम र निगम कर्मचारी संघले कानुनविपरीत निगमलाई अघि बढाउन खोजेको भन्दै महाप्रबन्धक पौडेलको राजीनामा माग गरेका हुन् । उनीहरुले नेपाल वायुसेवा निगमको सञ्चालक समितिको अध्यक्षले राजीनामा दिएको मौका छोपी, नेपाल सरकारको योजना एवम कार्यक्रम वा कुनै निर्देशनविना निगम(लाई कम्पनीमा रुपान्तरण गर्न, निगम ऐन २०१९ को भावना र मर्मविपरीत, निगमलाई बेची मोटो रकमको हिस्सा हत्याउन गैरकानुनी तरिकाले सञ्चालक समितिका सदस्य बुद्धि सागर लामिछानेलाई नक्कली अध्यक्ष बनाई निजको अध्यक्षतामा बसेको बैठकले संस्थालाई गर्ने बहानामा निजीकरण गरी बन्द गराउने योजना गरेको, निगमको भइरहेको संगठनात्मक संरचनालाई मनोमानी तरिकाले कटौती गरी निगमको व्यापार क्षेत्र समेत संकुचित बनाई बन्दको स्थितिमा पु-याएको लगायतका कारण गर्दा महाप्रबन्धका पौडेललाई बर्खास्त गर्नुपर्ने बताएका छन् ।

उनीमाथि देशभरि भएका निगमको चल–अचल सम्पत्तिको ‘ड्यु डिलिजेन्स अडिट’ (डीडीए)बाट प्रचलित दरभन्दा अत्यन्त न्यूनदरमा मूल्यांकन गरी राज्यको सम्पत्तिमाथि नीतिगत भ्रष्टाचार गराएको, आन्तरिक उडानमा प्रयोग हुने जहाजहरुलाई सुनियोजित ढंगले हाल भूमिस्थ गरिरहेको, निगमले गर्दै आएको ‘ग्राउन्ड ह्यान्डलिङ, फरेन ह्यान्डलिङ र आन्तरिक उडान बन्द गर्ने उद्देश्यअनुरुप अन्तर्राष्ट्रिय उडानतर्फका चारवटा जहाजहरुलाई मात्र हिसाब गर्दै ५५० स्थायी कर्मचारी समेत काटौती गर्ने गृहकार्य गरेको, संस्थाको आर्थिक अवस्था कमजोर भएको बेला महाप्रबन्धकको आफ्नो तलब तीन सय प्रतिशतभन्दा बढीले वृद्धि गरी, करिब चार लाखभन्दा बढी पु¥याई आयकरबापतको कर निगमले तिर्ने गलत व्याख्या गर्दै संस्थालाई थप आर्थिक भार गराएको आरोप छ ।

नेपाल सरकारको पूर्ण स्वामित्वमा भएको अविच्छिन्न स्वायत्त संस्थालाई डिम प्रसाद पौडेलेका व्यवस्थापकीय कमजोरीको कारण निगमको ऋण भार बढेको, निगम सञ्चालक समितिबाट आन्तरिक उडानमा प्रयोग भइरहेको जहाजहरुलाई भूमिस्थ गर्ने निर्णय गराई निगमको आन्तरिक उडानलाई शून्यको अवस्थामा पुराउने कार्य गरेको आरोप छ ।

जीएसए नियुक्तिमा स्पष्ट कार्यविधि नअपनाई आफूनिकट जीएसए नियुक्ति गरी करोडौँ रकमको चलखेल गरेको, आंशिक बजेटमा मनोरञ्जन, मसलन्द खर्च, आफ्नो आतिथ्य खर्च, दीर्घकालीन छापालगायतका विषय शीर्षक राखी बजेट पास गरेको तर कार्यालयका सम्पूर्ण कामकाज सुचारु राखेर मर्यादित आन्दोलन गरिराखेका स्थायी कर्मचारीहरुको मात्र तलब जस्तो आधारभूत आवश्यकता रोक्का गर्नेजस्तो अपराध गरेको, कोभिडको समयमा सम्भाव्य यथेष्ट उडानहरु गर्न गराउन नसकी निजी वायुसेवा कम्पनीको तुलनामा निगमको अत्यन्तै न्यून उडानहरु भएको र त्रिभुवन विमानस्थलमा भएको वाइडबडी जहाजको आवश्यक बीमादाबी तथा मर्मतसम्भार ढिलासुस्ती गरी करिब छ महिनापछि अगस्ट २५ मा मात्र मर्मतसम्भार गरी कोभिडको समयमा निगमले भर्नसक्ने उडानमा क्षति पु¥याएको महाप्रबन्धक पौडेलमाथि आरोप छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया