Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारप्रहरीको चाडपर्वलक्षित सुरक्षा योजना सुरु

प्रहरीको चाडपर्वलक्षित सुरक्षा योजना सुरु

काठमाडौंको सुरक्षा व्यवस्था चुस्त राख्न पाँच हजार सुरक्षाकर्मी परिचालन


काठमाडौं । चाडपर्व नजिकिँदै गर्दा चाडपर्वअघि र पछि हुुनसक्ने सम्भावित आपराधिक गतिविधिहरुलाई नियन्त्रणमा राख्न र आमनागरिकको जिउधनको सुरक्षा गर्न महानगरीय प्रहरी परिसर काठमाडौंले चाडपर्वलक्षित सुरक्षा योजना लागू गरेको छ । काठमाडौं उपत्यका, त्यसमाथि पनि मुख्य जिल्ला काठमाडौंको सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन पाँच हजार सुरक्षाकर्मी परिचालन गरिएको महाननगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।

परिसरका प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार चाडपर्वको समयमा विशेष गरी चोरी, लुटपाट, डकैती, लागूऔषध सेवन, झैँझगडा, जुवातास, मादकपदार्थ सेवन, दुर्घटनालगायतका घटनाहरु हुन सक्छन् । ‘यी सबै घटनाहरुबाट आमनागरिकलाई सुरक्षित राख्नु अथवा भनौँ सुरक्षाको प्रत्याभूति दिनु नेपाल प्रहरीको कर्तव्य हो, यो कर्तव्य पूरा गर्न नेपाल प्रहरी सक्षम छ’, उनले भने, ‘जहाँसम्म महानगरीय प्रहरी परिसर काठमाडौंको कुरा छ, यहाँको सुरक्षा प्रणालीलाई चुस्त दुरुस्त बनाउनको लागि बिहान, दिउँसो, बेलुकी, राति सबै सिफ्ट गरी पाँच हजार सुरक्षाकर्मीहरु परिचालन गरिएको छ । हामीले यही असोज १ गतेदेखि नै चाडपर्वलक्षित सुरक्षा योजना सुरु गरिसकेका छौँ । यसअन्तर्गत हामीले कुनै पनि किसिमको आपराधिक क्रियाकलाप हुनसक्ने सम्भावित ठाउँहरुको सूची बनाएका छौँ, बसपार्क, सपिङ मल, बैंक, वित्तीय संस्था, गहना पसल, मठमन्दिर, खसी बजार, लगायतका क्षेत्रहरुमा सुरक्षा व्यवस्था कडा पारेका छौँ ।’

चाडपर्वलक्षित कार्यक्रमअन्तर्गत ३६ वटा फरक–फरक ठाउँमा चेक प्वाइन्ट राखेको प्रहरीले जनाएको छ । ६० ठाउँमा पैदल गस्ती, ३५ ठाउँमा साइकल गस्ती, ८३ ठाउँमा मोटरसाइकल गस्ती र सिल एण्ड सर्च ३० ठाउँमा राखेको प्रहरीले जनाएको छ । ‘यसबाहेक आपराधिक गतिविधि नियन्त्रणको लागि हामीले गर्नुपर्ने सबै किसिमका योजना प्रभावकारी रुपमा लागू गरेका छौँ । यी सबै योजनाहरुको कार्यान्वयनको लागि म आफैँ पनि दिनको १८ घण्टासम्म ड्युटीमा खटिएको हुन्छ’, परिसर प्रमुख सिंहले भने ।

चाडपर्वमा आमनागरिकले पनि चाडपर्वलाई खुसियाली साटासाट गर्न पर्वको रुपमा लिनुुपर्ने उनले बताए । काठमाडौंमा धेरै मानिसहरु डेरावाल रहेको र चाडपर्व मनाउनको लागि लामो समयको लागि आफ्नो थातथलो जाने हुुँदा घर, कोठा खाली हुने गरेका छन् । यस्तो अवस्थामा घर अथवा कोठा छोडेर आफ्नो थातथलो जाँदा घर, कोठा नजिकको प्रहरी कार्यालय, सम्बन्धित वडा कार्यालमा सूचित गराएर जान आग्रह गरेको समेत उनले बताए । यसका अतिरिक्त समाजमा जनचेतना बढाउने उद्देश्यले तपाईंको मास्क खोई अभियानलाई चाडपर्वको समयमा पनि प्रभावकारीरुपमा अगाडि बढाइएको प्रहरी प्रमुख सिंहले बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया