Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारउपठेकेदारका इन्जिनियरलाई आयोजना निर्देशक भन्दै झूटो विवरण देखाएर पदक

उपठेकेदारका इन्जिनियरलाई आयोजना निर्देशक भन्दै झूटो विवरण देखाएर पदक


काठमाडौं । संविधान दिवसका अवसरमा नौ सय तीन जनालाई विभिन्न विभूषण, अलङ्कार र पदक प्रदान गर्न सरकारले सिफारिस गर्दा चरम लापरबाही गरेको भेटिएको छ । नागढुंगा सुरुङमार्ग आयोजनाको टनेलको सिभिल वक्र्सको उपठेकेदारका एक इन्जिनियरलाई नागढुंगा सुरुङमार्ग आयोजनाको आयोजना निर्देशकको रुपमा ‘प्रबल जनसेवाश्री’ पदकबाट विभूषित गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष शेरबहादुर देउवा नेतृत्वको सरकारले सिफारिस गरेको छ ।

उपठेकेदारका इन्जिनियर भएर पनि सरकारी सहसचिवस्तरको पदको रुपमा पदक पाउन सिफारिस पाउने व्यक्ति हुन्, पुल्चोक इन्जिनियरिङ क्याम्पस इकाइका नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष श्रीराम न्यौपाने ।

सरकारले एउटा गैरसरकारी कर्मचारीलाई आयोजनाको निर्देशकको रुपमा पदकका लागि सिफारिस गरे पनि आयोजनाका वास्तविक आयोजना निर्देशक भने नरेशमान शाक्य हुन् । आयोजनालाई सफलतापूर्वक अगाडि बढाएको कारण आयोजना निर्देशक शाक्यको नाममा पदक सिफारिस हुनुपर्नेमा सरकारले ठेकेदारको पनि नभई उपठेकेदारको एउटा इन्जिनियरलाई पदक पाउने लिष्टमा सिफारिस गरेपछि पदकहरुको सिफारिस गर्दा कति लापरबाही भएको छ भन्ने प्रष्ट भएको छ । शाक्यको नाम भने पदक पाउने लिष्टमा छैन ।

नेपालको संविधानको धारा २७७ को उपधारा (१) बमोजिम गत भदौ २९ गतेको मन्त्रिपरिषद्को बैठकले विभिन्न मानपदवीका लागि देशको राजनीतिक, आर्थिक, सामाजिकलगायत विविध क्षेत्रमा योगदान गर्ने विभिन्न व्यक्तिलाई पदकका लागि सिफारिस गरेको थियो ।

पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई नेपाल रत्न प्रदान गरिनेछ भने मन्त्रिपरिषद्का पूर्वअध्यक्ष सुवर्णशमशेर राणा र पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनाललाई राष्ट्रगौरव पदवी दिइने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, स्व. तुलसीलाल अमात्य, स्व. मङ्गलादेवी सिंह, मोहनचन्द्र अधिकारी, स्व. दुर्गानन्द झा र स्वरसम्राट् स्व नारायणगोपाल गुरुबाचार्यलाई महाउज्ज्वल राष्ट्रदीप प्रदान गरिनेछ ।

सुप्रसिद्ध प्रबल जनसेवाश्री प्रथम श्रेणी पाँच जनालाई, उज्ज्वल कीर्तिमय राष्ट्रदीप द्वितीय श्रेणी एक जनालाई, प्रसिद्ध प्रबल जनसेवाश्री द्वितीय श्रेणी २४ जनालाई, सुकीर्तिमय राष्ट्रदीप तृतीय श्रेणी ३९ जनालाई, सुप्रबल जनसेवाश्री तृतीय श्रेणी एक सय ६१ जनालाई, कीर्तिमय राष्ट्रदीप चतुर्थ श्रेणी आठ जनालाई, प्रबल जनसेवाश्री चतुर्थ श्रेणी तीन सय १९ जनालाई र जनसेवाश्री पञ्चम श्रेणी एक सय ९० जनालाई प्रदान गर्ने गृह मन्त्रालयले सार्वजनिक गरेको सूचनामा उल्लेख छ । कतिपयले सरकारले दिने भनेको पदक बहिष्कार गरेको घोषणा गरेका छन् ।

दर्जन बढी उद्योगी व्यवसायीलाई विभूषण पदक प्रदान गरिने
सरकारले संविधान दिवसको अवसरमा उद्योगी व्यवसायी र बैंकरहरुलाई मानपदवी (विभूषण) प्रदान गर्ने निर्णय गरेको छ । सरकारले संविधान दिवसको अवसर पारेर उद्योगी व्यवसायी र बैंकरहरुलाई विभिन्न मानपदवी, अलंकार र पदकले सम्मान गर्ने घोषणा गरेको हो ।

सुप्रबल जनसेवाश्रीबाट उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल, शंकर समूहका प्रबन्धनिर्देशक साहिल अग्रवाल, खेतान समूहका राजेन्द्रकुमार खेतान, ध्रुवकुमार श्रेष्ठ र सारडा समूहका अध्यक्ष शिवरतन सारडालाई प्रदान गरिने भएको छ । गोल्छा समूहका अध्यक्ष रहेका उनको समूहले धागो, कपडा, जुट, कृषि, प्रविधि र ट्रेडिङको उद्योग तथा व्यवसाय सञ्चालन गर्दै आएको पाइन्छ । यस्तै अग्रवाल समूहले होटल, हेलिकप्टर, स्वास्थ्य सामग्री, ट्रयाक्सी सेवा, ग्यास, बैंक तथा वित्तीय, शिक्षा लगायतका उद्योग तथा व्यवसाय सञ्चालन गर्दै आएको छ । खेतान, श्रेष्ठ र सारडा समूहले पर्यटन, उत्पादनमूलकलगायत क्षेत्रका उद्योग तथा व्यवसाय सञ्चालन गर्दैै आएको पाइन्छ ।

यस्तै, सुकीर्तिमय राष्ट्रदीप पदवीबाट उद्यमी डा.उपेन्द्र महतो, देवीप्रकाश भट्टचन र सुरेन्द्रवीर मालाकारलाई सम्मान गरिने भएको छ । डा.महतो गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष हुन् । उनले मेडिसिटी अस्पताल सञ्चालनमा नेतृत्वदायी भूमिका खेलका छन् । देवीप्रकाश भट्टचन भने प्रभु समूहका अध्यक्ष हुन् । उनले बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, पर्यटन उद्योग, पानीजहाज कम्पनी लगायतमा लगानी गरेका छन् । मालाकार नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष हुन् ।

प्रबल जनसेवाश्री पदवीबाट सम्मानित हुने व्यवसायीहरुमा भने रमेश शर्मा, मोतिलाल दुगड, उद्योगी विष्णुप्रसाद न्यौपाने, पर्यटन व्यवसायी राजु ढकाल, गोकुल भण्डारी, अर्जुनमान सैंजू, गोविन्दा गोइन्का, नारायण अग्रवाल, कुञ्ज अग्रवाल, अम्बिका प्रसाद पौडेल, देवकिशन मुन्दडा रहनेछन् । यस्तै सरकारले उद्योगी तथा व्यवसायीहरुलाई जनसेवाश्री पदवीबाट समेत सम्मान गर्ने भएको छ । जनसेवाश्री पदवीबाट सम्मानित गरिने उद्योगी तथा व्यवसायीहरुमा राधेश्याम हलुवाई, कृषि व्यवसायी अम्मर बहादुर बानियाँ, उद्योग कमल किशोर मालपानी, राजेन्द्र मल्ल रहेका छन् ।

उद्योगी तथा व्यवसायीहरुले मुलुकको उत्पादन, पर्यटन, सेवा, निर्माणलगायतका क्षेत्रमा उद्योग स्थापना तथा व्यवसाय सञ्चालन गरी मुलुकको अर्थतन्त्रलाई बढोत्तरी गर्नका लागि भूमिका खेलेको भन्दै मानपदवी, अलंकार र पदकहरुद्वारा विभूषित गर्नलागेको हो । उनीहरुलाई गणतन्त्र दिवसको दिन उक्त मानपदवी प्रदान गरिनेछ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया