Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेवार समुदायको भावनामाथि खेलबाड गर्दै सुरेन्द्र भण्डारी

नेवार समुदायको भावनामाथि खेलबाड गर्दै सुरेन्द्र भण्डारी


काठमाडौं । नेवार समुदायको आस्थाको धरोहर ‘समय् फल्चा’ले चर्चेको जग्गा हत्याउन सहकारीका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीले विभिन्न किर्ते हर्कत जारी राखेका छन् । भण्डारीले जिल्ला अदालत ललितपुरलाई मात्रै होइन उच्च अदालत पाटनलगायत विभिन्न निकायलाई झूटो निवेदन र उजुरी हालेर फाल्चा निर्माणमा अवरोध गरिरहेका छन् ।

ललितपुर महानगरपालिकाले स्थानीय टोल सुधार समितिको सिफारिसको आधारमा फल्चा निर्माणका लागि ३० लाख रुपैयाँ विनियोजन गरेपछि निर्माण थालिएको थियो । निर्माण रोक्न उनले जिल्ला अदालत ललितपुरमा यसअघि सर्वोच्च अदालतबाट भएका फैसला तथा आदेशलाई लुकाएर निवेदन दिएका हुन् । उनले झूटो निवेदन दिएको विषय जिल्ला अदालत ललितपुरका न्यायाधीश देव कुमार गिरीले आफ्नो आदेशमै उल्लेख गरेका छन् । यससम्बन्धी समाचार आर्थिक दैनिकले यसअघि नै प्रशासन गरिसकेको छ । अदालत अड्डालाई समेत झूटो विवरणको आधारमा आदेश गर्न बाध्य बनाउने भण्डारीले श्री लालीगुराँस सहकारीभित्र आफ्नो संस्थाभित्र कति किर्ते काम गरेका होलान् ? भन्ने आम प्रश्न उठेको छ ।

सहकारीले सार्वजनिक गरेको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदनअनुसार कुल सम्पत्ति तथा दायित्व सात अर्ब १० करोड १३ लाख रुपैयाँभन्दा बढी छ । त्यसमध्ये आधा हिस्सा पुल्चोककै स्थानीयवासी नेवार समुदायको छ । तर, उनले बचत रकममा मनोमानी गरेका छन् । नेवार समुदायको आस्थाको धरोहर नै हडप्न लागिपरेका भण्डारीले रकम हिनामिना गरेकामा धेरैले आशंका गरेका छन् ।

भण्डारीले आफूनिकट व्यक्ति र आफू स्वयंलाई शून्य प्रतिशतमा ऋण निकालेर घरजग्गामा लगानी गरेका छन् । तर, त्यहाँका ऋणीलाई भने २१ प्रतिशत ब्याज र १५ प्रतिशत पेनाल्टी लगाएका छन् । यतिका महँगो ब्याज तिर्न नसक्ने ऋणीको घर जग्गा किर्ते मूल्यांकनको आधारमा हत्याउने गरिएको छ । त्यसको शिकार गायक रामकृष्ण ढकालदेखि अभिभावक संघका अध्यक्ष केशव पुरीसम्म बन्न पुगेका छन् । चितवनका लेखनाथ पौड्याल भैँसेपाटीका रविन्द्र थापाहरुको आँशुले भण्डारीलाई चैनसँग सुत्न भने दिँदैन । उनले आफ्ना विभिन्न सहायक कम्पनी खडा गरेर अर्बौँ ऋण अपचलन गरेको प्रमाण पनि आर्थिक दैनिकले प्रकाशन गरिसकेको छ ।

स्टेटेमेन्टसहितका समाचार प्रकाशित हुँदा पनि सरोकारवाला निकायको मौनता झनै रहस्यमय बन्दै आएको छ । त्यसो त सहकारीको बचत रकम उनले आफ्नो कालो कर्तुत लुकाउन उच्च तहका राजनीतिक नेतामाथि लगानी गर्दै आएका छन् । नेपाली कांग्रेसका उपसभापति तथा भावी सभापतिका उम्मेदवार विमलेन्द्र निधि संरक्षक रहेको महेन्द्र नारायण निधि मेमोरियल ट्रष्टलाई करोडौँ रुपैयाँ लगानी गरिदिएका छन् । निधिले फल्चा निर्माण रोक्न ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु मेयरलाई चर्को दबाब दिए पनि मेयर महर्जनले अस्वीकार गरेको भण्डारीले नै भन्दै आएका छन् । त्यस्तै कांग्रेस नेताहरु आनन्द ढुंगाना, गृहमन्त्री बालकृष्ण खाँड लगायत नेताहरुले मेयर महर्जनमाथि चर्को दबाब दिइरहेका छन् ।

प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवालाई समेत उनले दुरुपयोग गरेका छन् । तर, मेयर महर्जनले सम्पदा बचाउनका खातिर सबै घेराबन्दी तोड्दै अघि बढिरहेका छन् । अनौठो त उनलाई सबैभन्दा ठूलो घेराबन्दी उनीसम्बद्ध दल नेपाली कांग्रेसकै नेताहरुले गरेका छन् । भण्डारीले माओवादीको कालोधन त व्यवस्थापन गरिदिएका छन् नै नेकपा एमालेका नेताहरुलाई समेत मिलाएका छन् । उनको सहकारी भवन रहेको वडाको वडाध्यक्षलाई उनले आर्थिक प्रभावमा पारेर चुपचाप राखेका छन् । ती वडाध्यक्षले नक्सा नै गायब पार्न भूमिका निभाएको बताइएको छ ।

भक्तपुरमा नेवार समुदायको भावनामा ठेस पु-याउँदा २०४६ भदौ ५ गते कर्ण हेजुको हत्या भयो । भूकम्पपछि राहत बाँड्ने क्रममा विभेद भएको भन्दै स्थानीय नेवार समुदाय उठेर हेँजुको हत्या गरियो भन्ने चर्चा अहिले पनि व्याप्त छ । त्यसो त माओवादीले सात दिने आम हडतालमा ललितपुरका नेवार समुदायको भावना ठेस पु¥याएको भन्दै उनीहरुले प्रतिरोध गरेका थिए ।

श्री लालीगुराँस बहुउद्देश्यीय सहकारीका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीले समय् फल्चा निर्माणमा अवरोध गरेपछि उपत्यकाका नेवार समुदाय एक ठाउँमा आइसकेका छन् । उनीहरुले सम्पदाविरोधी हर्कतको विरोध गर्दै लालीगुराँस सहकारीकै भवनअगाडि पटक पटक नाराबाजी गर्दै प्लेकार्ड बोकेर उभिइसकेका छन् । ‘यदि लालीगुराँसको आर्थिक प्रभावमा परेर हाम्रो सम्पदा र आस्थामाथि कसैले धोकाधडी गर्छ भने हामी प्रतिरोध गर्न तयार छौँ’, एक सम्पदा अधिकारकर्मी भन्छन् ।

‘विस्फोट हुन मात्रै बाँकी’ समय् फल्चा पुनर्निर्माण उपभोक्ता समितिका अध्यक्ष रोविन महर्जन ललितपुरका नेवार समुदायको आक्रोशलाई विस्फोट हुनमात्रै बाँकी रहेको बताउँछन् । ‘हामीले अहिले रोकेर राखेका छौँ । नेवार समुदायले ऐन र नियमलाई मान्नुपर्छ । विस्फोट हुनेवाला थियो । हामीलाई रोक्न गाह्रो भइसकेको छ’, महर्जनले भने, ‘यदि कसैले कुनै पनि कानुनी छिद्र प्रयोग गरेर लामो समयसम्म फल्चा निर्माणमा रोक्यो भने नेवार समुदायले त्यसलाई घेरा हालेर राख्नेछ ।’ उनका अनुसार लालीगुराँस सहकारीले अहिले प्रयोग गरिरहेको सटर समेत अवैधानिक जग्गामा छ । ‘एक आना एक पैसा जग्गा रहेको क्षेत्रभित्र त्यो सहकारीको सटर पनि पर्छ । त्यो पनि भत्कनुपर्छ,’ महर्जन भन्छन्, ‘हामी उच्च अदालतको आदेशको प्रतीक्षामा छौँ ।’

सर्वोच्च अदालतको पटक पटकको फैसला र जिल्ला अदालत ललितपुरको आदेशअनुसार निर्माण थालिएको समय फल्चा निर्माण फेरि अवरुद्ध भएको छ । लालीगुराँस सहकारीबाटै करोडौँ ऋण लिएर अपचलन गर्दै आएकी सब्बु सिंह भण्डारीले आफ्नो पसलको फर्निचर सार्न पाउनुपर्ने भन्दै उच्च अदालतमा मुद्दा दायर गरेपछि निर्माण रोकिएको थियो । उच्च अदालतले निर्माण रोक्न भन्दै सर्वोच्च अदालतको आदेशलाई समेत लत्याएर फैसला गरिदिएपछि फल्चा निर्माण अवरुद्ध भएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया