Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारहोटल अन्नपूर्णका मजदुरको बिचल्ली !

होटल अन्नपूर्णका मजदुरको बिचल्ली !


काठमाडौं । होटल संघ नेपालकी अध्यक्ष समेत रहेकी होटल डेला अन्नपूर्णकी कार्यकारी निर्देशक सृजना राणाले कोरोनाको कारण बन्द गरेको होटल मजदुरहरुलाई दिनुपर्ने करोडौँ रुपैयाँ नदिई अन्ना क्यासिनोका मजदुरलाई जस्तै बिचल्ली बनाउने भएकी छिन् र मजदुर युनियनसँग संवाद नै नगरी मजदुरलाई स्वैच्छिक अवकाश लिन एकतर्फी सूचना जारी गरेकी छन् ।

यसअघि राणाले तप्तबहादुर विष्ट र कल्पदीप राईलाई नक्कली मालिकका रुपमा खडा गरेर क्यासिनो अन्नाका नौ सय २२ जना मजदुरलाई दिनुपर्ने तलब भत्ता, उपदान, आवास कोष, कल्याणकारी कोषलगायतको ४२ करोड रुपैयाँ नदिई भूकम्पले भवन चर्किएको बहानामा भवन भत्काई ती मजदुरको बिचल्ली बनाएकी थिइन् । अहिले राणाले कोभिड १९ को कारण बन्द भएको होटल डेला अन्नपूर्ण सधैँका लागि बन्द गर्न एकतर्फी रुपमा स्वैच्छिक अवकाश योजना सार्वजनिक गरेकी छिन् । होटल डेला अन्नपूर्णमा एक सय ९६ जना स्थायी र ३४ जना करारका कर्मचारी रहेका छन् ।

ती मजदुरले पाउनुपर्ने आवास कोष, उपदान कोष र कल्याणकारी कोषको करोडौँ रुपैयाँ पनि वर्षौँदेखि कार्यकारी निर्देशक राणाले नै अपचलन गर्दै आएकी छन् । मजदुरले उपदान कोषबापत २० करोड, आवास कोषबापत लगभग १३ करोड र कल्याणकारी कोषबापत लगभग सात करोड रुपैयाँ पाउनुपर्ने देखिएको छ तर लगभग उक्त ४० करोड रुपैयाँ कार्यकारी निर्देशक नै सम्बन्धित कर्मचारीको नाममा खोलिएको खातामा जम्मा गर्नुपर्ने रकम आफैँ अपचलन गर्दै आएकी छिन् । उनले कोरोना संक्रमणपछि होटलका ८१ जना मजदुरलाई जबर्जस्ती निष्काशन गरिसकेकी छन् र अहिले बाँकी २३ जना मजदुरलाई निष्काशन गर्ने योजना बनाइरहेकी छिन् ।

राणाले होटल डेला अन्नपूर्णको पुनर्निर्माण गर्ने नाममा मजदुरलाई निष्काशन गर्ने योजना बनाएकी हुन् । नेपाल सरकारको समेत स्वामित्व रहेको होटल अन्नपूर्णमा नेपाल ट्रष्टकी अध्यक्ष एन्जिला शेर्पासँगको मिलेमतोमा उनले होटलमा रहेका करोडौँ मूल्यका पुराना बहुमूल्य सामान नेपाल ट्रष्टलाई समेत आधिकारिक रुपमा जानकारी नै नदिई मुन्नी राणाको सहयोगमा भित्रभित्रै बिक्री गरिसकेकी छिन् । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया