Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार३७ प्रतिशतले बढ्यो विदेशी लगानी

३७ प्रतिशतले बढ्यो विदेशी लगानी


काठमाडौं । उद्योग क्षेत्रमा गरिने विदेशी लगानी रकम ३७ प्रतिशतले बढेको छ । चालू आर्थिक वर्ष २०७८/०७९ को दुई महिना (साउन/भदौ)को अवधिमा विदेशी लगानीमार्फत उद्योग क्षेत्रमा १२ अर्ब छ करोड २७ लाख लगानी प्रस्ताव आएको छ । विदेशी लगानीकर्ताहरुले उक्त लगानी ७२ वटा उद्योग स्थापना गर्न लागि प्रस्ताव गरेको उद्योग विभागले जानकारी दिएको छ ।

जुन गत आर्थिक वर्ष २०७७/०७८ को दुई महिनाको अवधिमा उद्योग क्षेत्रमा आएको विदेशी लगानीभन्दा ३७ प्रतिशत अर्थात् चार अर्ब ४० करोड ७२ लाखले बढी हो । गत आर्थिक वर्ष २०७७/०७८ को उक्त अवधिमा विदेशी लगानीमार्फत उद्योग क्षेत्रमा सात अर्ब ६५ करोड ५५ लाख आएको थियो । विभागले कृषि तथा वनजन्य, ऊर्जा, सूचना तथा प्रविधि, उत्पादन, सेवा र पर्यटन गरी छ प्रकारको उद्योग दर्ता गर्ने गर्छ ।

चालू आर्थिक वर्ष २०७८/०७९ को उक्त अवधिमा विदेशी लगानी सबैभन्दा धेरै पर्यटन उद्योगमा पाँच अर्ब ८५ करोड १५ लाख र त्यसपछि क्रमशः सेवा उद्योगमा तीन अर्ब ४० करोड ५० लाख, उत्पादनजन्य उद्योगमा एक अर्ब ९५ करोड, कृषि तथा वनजन्य उद्योगमा ६० करोड, सूचना तथा प्रविधिजन्य उद्योगमा १५ करोड र सबैभन्दा कम ऊर्जा उद्योगमा १० करोड ६२ लाख प्रस्ताव गरेका छन् ।

विदेशी लगानीकर्ताहरुले ३० वटा पर्यटनमूलक, २० वटा सेवामूलक, १५ वटा उत्पादनमूलक, चारवटा कृषि तथा वनजन्य, दुईवटा सूचना तथा प्रविधिजन्य र एउटा ऊर्जाजन्य उद्योग स्थापनाका लागि सो लगानी प्रस्ताव गरेका हुन् । उनीहरुले ती उद्योग स्थापनासँगै चार हजार नौ सय ८३ जनालाई रोजगारी दिने प्रस्ताव समेत गरेको विभागले जनाएको छ । कोभिडका बाबजुद पनि अर्थतन्त्र चलायमान बनाउनका लागि सरकारले बजार, यातायात, उड्डयनलगायतका अधिकांश क्षेत्र खुला गरेसँगै विदेशी लगानी नेपाल आएको विभागका अधिकारीहरुको भनाइ छ । सोहिीअनुरुप लगानी देखिएको उनीहरुले बताए ।

गत आर्थिक वर्ष २०७७/०७८ को दुई महिनाको अवधिमा पर्यटन उद्योगमा पाँच अर्ब ५५ करोड ५५ लाख र सेवा उद्योगमा दुई अर्र्ब १० करोड लगानी प्रस्ताव आएको थियो । सो लगानी प्रस्ताव ३४ वटा पर्यटन र १४ वटा सेवा उद्योग स्थापना तथा एक हजार दुई सय ४७ जनालाई रोजगारी दिने उद्देश्यका साथ आएको विभागले जनाएको छ । गत वर्ष लकडाउनका कारण बजार, उद्योग, व्यापार, हवाइलगायतका क्षेत्र बन्द हुँदा विदेशी लगानीकर्ता नेपाल आउन सम्भव थिएन । जसले गर्दा लगानी प्रस्तावमा असर परेको देखिन्छ ।

यद्यपि विभागका अधिकारीहरुका अनुसार विदेशी लगानीकर्ताहरुले नेपालमा रहेका आफ्ना एजेन्टहरुमार्फत लगानीको काम अघि बढाउँदै आउने गरेको कारणले गर्दा उनीहरु प्रत्यक्ष नेपाल नआउने गरेको बताउँछन् । एजेन्टमार्फत सम्पूर्ण काम हुने हुँदा विदेशी लगानीकर्ता भौतिक रुपमा विभागसमक्ष उपस्थित नहुने उनीहरुको भनाइ छ ।

चिनियाँ लगानी सबैभन्दा धेरै
चालू आर्थिक वर्ष २०७८/०७९ को दुई महिनाको अवधिमा सबैभन्दा बढी चिनियाँ लगानी आएको विभागले जनाएको छ । दुई महिनाको अवधिमा ६२ वटा उद्योगका लागि भन्दै ११ अर्ब १५ करोड ९० लाख त्यसपछि क्रमशः भारतीय लगानीकर्ताले ४९ करोड ७५ लाख, अमेरिकी लगानीकर्ताले १५ करोड लगानी प्रस्ताव गरेका छन् ।

यस्तै, नेदरल्यान्डका लगानीकर्ताले १० करोड ६२ लाख, जापान, बेलायत र भियतनामका लागानीकर्ताहरुले क्रमशः पाँच/पाँच करोड लगानी प्रस्ताव गरेका छन् । भारतीयले चारवटा, अमेरिकाले दुईवटा र बाँकी नेदरल्यान्ड, जापान, भियतनामलगायतका सम्पूर्ण मुलुकले एउटा उद्योग स्थापनाका लागि लगानी प्रस्ताव गरेका हुन् । नेपालमा प्रत्यक्ष विदेशी लगानीमार्फत विदेशी लगानी भित्र्याएको पाइन्छ । विदेशी लगानीको लागि सरकारले पर्याप्त प्रयास नगर्नुको साथै जग्गाप्राप्ति, सडक, स्थानीयको अवरोधलगायतका कारण आउन नसकेको जानकारहरु बताउँछन् ।

‘औद्योगिक व्यवसाय ऐन–२०७५’ अनुसार १० करोडसम्म स्थिर पुँजी भएको साना, १० देखि २५ करोडसम्मको स्थिर पुँजी भएको मझौला र २५ करोडभन्दा बढी स्थिर पुँजी भएको ठूला उद्योग विभागले दर्ता गर्छ  । यता विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावली, २०७७ कार्यान्वयनमा आएसँगै विभागबाट लगानी स्वीकृति गराएको एक वर्षभित्र एफडीआई ल्याउनुपर्ने व्यवस्था छ ।

नियमावलीअनुरुप उद्योगमा विदेशी लगानी भएमा एक वर्षको समयसीमाभित्र ५ देखि २५ प्रतिशतसम्म लगानी रकम भित्र्याउनुपर्ने बाध्यात्मक व्यवस्था गरिएको छ जसले गर्दा विदेशी लगानीकर्ताहरुले लगानी स्वीकृत गराएसँगै लगानी भित्र्याउनुपर्ने हुन्छ ।

नियमावलीअनुरुप विदेशी लगानीअन्तर्गत पाँच करोड लगानी गर्ने लगानीकर्ताले स्वीकृत लगानी रकमको २५ प्रतिशत, पाँच करोडभन्दा माथि २५ करोडसम्म लगानी गर्ने लगानीकर्ताले स्वीकृत लगानी रकमको १५ प्रतिशत, २५ करोडभन्दा माथि एक अर्बसम्म लगानी गर्ने लगानीकर्ताले स्वीकृत लगानी रकमको १० प्रतिशत र एक अर्बभन्दा माथि लगानी गर्ने लगानीकर्ताले स्वीकृत लगानी रकमको ५ प्रतिशत रकम एक वर्षको समयसीमामा भित्र्याउनुपर्ने हुन्छ । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया