Techie IT
×
गृहपृष्ठbreakingमहाकाली सिँचाइको बेहाल

महाकाली सिँचाइको बेहाल


महेन्द्रनगर । महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत १५ किलोमिटर मूल नहरको निर्माण अझै अधुरै छ । तीन वर्षअघि पूरा गर्ने लक्ष्यसहित २०७४ माघमा आयोजनाको तेस्रो चरणअन्तर्गत थालिएको १५ किलोमिटर मूल नहरको निर्माण अझै अधूरै रहेको हो । डेढ दशकअघि महाकाली नदीको पानी सिँचाइका लागि कैलालीको मालाखेतीसम्म पु¥याउने उद्देश्यसहित सुरु भएको कञ्चनपुरको ठूलो आयोजना महाकाली सिँचाइ तेस्रो चरणको गति सुस्त छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेव क्षेत्रमा पर्ने नेपाल–भारत सीमा क्षेत्रबाट यसअघि झण्डै १३ किलोमिटर मूल नहर निर्माण भइसकेको छ । उक्त नहर निर्माण सकिएपछि महाकाली सिँचाइले थप १५ किलोमिटर मूल नहर निर्माण थालेको लामो समय बितिसक्दा पनि पूरा हुनसकेको छैन ।

तीनवटा प्याकेजमा मूल नहरको निर्माण थालिएको थियो । शुक्लाफाँटाको फुलेलीसम्म निर्माण ठेक्का भए पनि कोरोना कहर, रुख कटान र मुआब्जा वितरणमा भएको ढिलाइले नहर निर्माण प्रभावित बनेको हो । महाकाली सिँचाइ आयोजना तेस्रो चरणका निर्देशक रणबहादुर बमले गर्त वर्ष गुरुयोजना स्वीकृत गरेर आयोजनाको काम अघि बढेको बताए । उनले दश वर्षभित्र मूल नहर निर्माण सक्ने गरी ३५ अर्बको योजना बनाइएको जानकारी दिए । ‘हामीले गत वर्षदेखि आगामी दश वर्षमा आयोजना पूरा गर्ने योजनासहित अघि बढेका छौँ’, उनले भने, ‘लगानी र फिल्डमा काम गर्ने वातावरण बने समयमा सकिन्छ ।’ उनले आयोजनाको हालसम्म १३ प्रतिशत मात्रै भौतिक प्रगति भएको बताए ।

उनले विभिन्न समस्यासित जुधिरहेको आयोजनालाई सरकारले प्राथमिकतामा राख्नुपर्ने बताए । ‘रकम माग गर्दै मन्त्रालय धाउनुपर्ने अवस्थाले आयोजनाको काम छिटो होला भन्न सकिन्न’, उनले भने, ‘राष्ट्रिय गौरवको आयोजनामा पारिए पनि ध्यान दिइएको छैन ।’ त्यसैगरी हाल निर्माणाधीन १५ किलोमिटर मूल नहरको ६५ प्रतिशत काम सकिएको छ । ‘अहिले बर्सातले केही समय काम प्रभावित भयो’, उनले भने, ‘अवस्था सामान्य भएसँगै निर्माण व्यवसायी काम थाल्ने तयारीमा छन् ।’ एक सय ५१ किलोमिटर मूल नहर निर्माण भए कञ्चनपुर र कैलालीको मालाखेती क्षेत्रको ३३ हजार पाँच सय हेक्टर जमिनलाई सिँचाइ सुविधा पुग्नेछ ।

त्यसैगरी आयोजनाले २२ वटा शाखा नहर निर्माणको तयारी गरिरहेको आयोजना कार्यालयले जनाएको छ । निर्माणाधीन १५ किलोमिटर मूल नहर निर्माणका लागि दुई अर्ब ३० करोडको ठेक्का सम्झौता भएको थियो । अहिले उक्त कामको म्याद आगामी चैत २८ गतेसम्म थपिएको छ । त्यसैगरी भारतीय पक्षले महाकाली नदीबाट एक हजार दुई सय मिटर मूल नहर निर्माण र हेड रेगुलेटर निर्माणको काम गर्नुपर्ने जिम्मा हो । सोहीअनुसार भारतीय पक्षले नहर निर्माणको काम थालेको भए पनि निर्माण कार्य सुस्त गतिमा अघि बढाइएको छ ।

कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष जङ्गबहादुर मल्लले सिँचाइ सुविधाको अभावले अझै धेरै क्षेत्रका किसान आकाशे पानीका भरमा खेती गर्दै आएको बताए । ‘ब्रह्मदेव क्षेत्रको मूल नहर बनेको ठाउँमा शाखा नहर बनाएर सिँचाइ सुविधा दिनुपर्ने थियो’, उनले भने, ‘नहर बनाउने तर पानी कहिले आउने टुङ्गो नै भएन ।’ यहाँको भीमदत्त नगरपालिका, बेदकोट, बेल्डाँडी, बेलौरी क्षेत्रमा महाकाली सिँचाइ आयोजना पहिलो र दोस्रो चरणअन्तर्गत सिँचाइ सुविधा रहे पनि अधिकांश पालिका अझै सो सुविधाबाट वञ्चित छन् ।

यहाँको वेदकोट नगरपालिका–५ धरमपुरका स्थानीय रामबहादुर डगौंराले सिँचाइका लागि समस्या रहेको बताए । ‘चौधरी नदीको पानीले बर्खामा धान रोप्न पुगे पनि हिउँदमा गहँु सिँचाइका लागि निकै गाह्रो हुन्छ’, उनले भने, ‘धरमपुर शिविरमा त धारामा पानी नै आउँदैन ।’ उनले सो क्षेत्रमा खानेपानीको समय समस्या रहेको दुःखेसो पोखे । रासस


क्याटेगोरी : breaking, समाचार

तपाईको प्रतिक्रिया