Techie IT
×
गृहपृष्ठbreakingजातीय सद्भाव भड्काउने सुरेन्द्र भण्डारीको दुष्प्रयास !

जातीय सद्भाव भड्काउने सुरेन्द्र भण्डारीको दुष्प्रयास !


काठमाडौँ । श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीले जातीय सद्भाव भड्काउने दुष्प्रयास गरेका छन् ।ललितपुरको कुपण्डोल–जावलाखेल सडकखण्ड अन्तर्गत पुल्चोकमा रहेको दुई सय वर्ष पुरानो नेवारी सम्पदा समय् फल्चाको भग्नावशेषमाथि अवस्थित सहकारीको भवनअगाडि समय् फल्चा पुनर्निर्माण हुने भएपछि उनले जातीय सद्भाव भड्काउने दुष्प्रयास गरेका हुन् ।

उनले नेवार समुदायको ऐतिहासिक फल्चा हडप्न विभिन्न अड्डा अदालतमा मुद्दा दायर गरेका छन् । उनले आर्थिक प्रभावमा पारेर मुद्दा मामिला गर्ने र समय् फल्चा निर्माणमा अवरोध गरिरहेको विषयमा आर्थिक दैनिकले यसअघि नै पटक–पटक समाचार सार्वजनिक गरेको छ ।समाचार प्रकाशित भएपछि सहकारीका प्रमुख कार्यकारी निर्देशक भण्डारीले विभिन्न अपरिचित नम्बरबाट आर्थिक दैनिकको कार्यालयको टेलिफोनमा धम्की दिनथालेका छन् ।

उनले अपरिचित मान्छेहरु आर्थिक दैनिकविरुद्ध परिचालन गर्दै फोनमार्फत धम्की दिनथालेका हुन् ।श्री लालीगुराँस सहकारीमा रहेको सर्वसाधारणको अर्बौँ बजेटमा मनोमानी रुपमा भ्रष्टाचार गरी राजनीतिक दलका नेताहरु खरिद गर्दै आएका भण्डारीले पछिल्लो समय कांग्रेस नेताहरु परिचालन गर्नथालेका छन् । उनले नेपाली कांग्रेसका नेता आनन्द ढुंगाना, सभापतिका उम्मेदवार पूर्वगृहमन्त्री विमलेन्द्र निधि, हालका गृहमन्त्री बालकृष्ण खाँड, प्रधानमन्त्री शेरबहादुर देउवालाई दुरुपयोग गर्दै फल्चा निर्माणमा प्रशासनिक अवरोध गर्दै आएका छन् ।

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई सबैभन्दा ठूलो घेराबन्दी कांग्रेस नेताहरुबाटै गराएका छन् । तर, सम्पदा संरक्षणमा कटिबद्ध मेयर महर्जनले शक्तिशालीहरुको दबाब अस्वीकार गर्दै आएका छन् । उनकै अडानका कारण दुई सय छ वर्ष पुरानो समय् फल्चा निर्माणकार्य सुचारु भएको थियो ।

सर्वोच्च अदालतको फैसलालाई समेत गलत व्याख्या गरेर उनले जिल्ला प्रशासन कार्यालय ललितपुरका सीडीओलाई समेत भ्रमजालमा पारेका थिए । गृहमन्त्री बालकृष्ण खाँडको निर्देशनमा सीडीओले फल्चा निर्माणमा अवरोध गरेका थिए । तर, मेयर महर्जनले गृहसचिव टेकनारायण पाण्डेलाई तस्बिरसहित घटना विवरण र सर्वोच्चको फैसला देखाएपछि सर्वोच्चको फैसलाकै आधारमा पुनर्निर्माण गर्न निर्देशन जारी भएको थियो ।

त्यसपछि भण्डारीले जिल्ला अदालत ललितपुरमा यसअघि सर्वोच्च अदालत र उच्च अदालतका आदेश तथा फैसलालाई लुकाएर निवेदन दिएर अन्तरकालीन आदेश ल्याउन सफल भएका थिए । तर, जिल्ला अदालतले भण्डारीको झूटो निवेदनका आधारमा अन्तरकालीन आदेशलाई निरन्तरता दिन अस्वीकार गरेपछि उनको झूट पराजित भएको थियो । त्यसपछि समय् फल्चा निर्माण कार्य पुनः सुचारु भएको थियो । तर, उनले फेरि आफ्नै सहकारी भवनमा व्यापार गरेर ऋण अपचलनमा संलग्न सब्बु सिंह भण्डारीलाई प्रयोग गरेर फेरि उच्च अदालतमा झूटो मुद्दा दायर गरेका छन् । उक्त निवेदनका आधारमा फल्चा निर्माणमा पुनः अवरोध भएको छ ।

भण्डारीले मछिन्द्रनाथसँग जोडिएको ललितपुरबासीको सांस्कृतिक सम्पदा फल्चा निर्माणमा गरेको अवरोधका कारण उपत्यकाका ज्यापु समाज नै आक्रोशित भएका छन् । उनले नेवार समुदायमा विभाजन ल्याउनका लागि पुल्चोककै केही नेवार समुदायका व्यक्तिहरुलाई जागिर दिएका छन् । जागिर पाएका ती महिलाहरुले केही दिनअघि फल्चा निर्माणमा प्रत्यक्ष अवरोध गरेका थिए । तर, नगरप्रहरीले उनीहरुलाई कब्जामा राखेको थियो ।

भण्डारीले नेवार समुदायभित्रका केही व्यक्तिलाई प्रयोग गरेर जातीय सद्भाव भड्काउने दुष्प्रयासको एक उदाहरण हो बुधबार अपरिचित नम्बर र आफ्नो परिचय नै नखुलाई धम्कीपूर्ण फोन आर्थिक दैनिकमा आउनु ।गृहप्रशासनको दोक्ला निर्देशनका बीचमा खेल्न सफल भएका लालीगुराँस सहकारीका कार्यकारी निर्देशक भण्डारीले ललितपुरका नेवार समुदायको पक्षमा समाचार आएपछि अन्य ठाउँका मानिसहरु प्रयोग गरी समाचारको विषयमा आर्थिक दैनिकलाई धम्की दिन लगाएका थिए ।

समय् फल्चा ललितपुरका मात्र नभई काठमाडौं, भक्तपुर तथा ललितपुर सबै ठाउँका व्यक्तिहरु र विशेषगरी नेवार समुदायहरुको सम्पदा हो । कार्यकारी निर्देशक भण्डारीले त्यही समुदायभित्र बसी व्यवसाय गर्दैगर्दा त्यही समुदायको भावनामा चोट पु¥याउने कार्य गरेको र सहकारीको आवरणमा आफूखुसी जनताको पैसा ठूलो मात्रामा अनियमितता गरेको प्रमाणहरुसहित आर्थिक दैनिकमा समाचारहरु प्रकाशित हुँदै आएको छ ।

स्थानीय आदिवासी नेवार समुदायको सांस्कृतिक परम्पराको भावनाविपरीत भण्डारीले अड्डा अदालत प्रशासन सबैलाई गुमराहमा पारी फल्चा निर्माणमा अवरोध गर्न सफल हुँदै आएका छन् । आफ्नो संस्कृति रक्षाको लागि स्थानीय नेवार समुदायहरु सडकमा उत्रने अवस्था सिर्जना हुँदै गएको छ र त्यसले जातीय दंगा हिंसामा परिणत नहोस् भन्ने आर्थिक दैनिकको खबरदारीका बीच कार्यकारी निर्देशक भण्डारीले त्यही समुदायका केही व्यक्तिहरुलाई प्रयोग गरी स्थानीय मात्र नभई सिंगो नेवार समुदायको जितको पहल गर्ने आर्थिक दैनिकलाई नै धम्क्याउन अनेक हत्कण्डा प्रयोग गर्दै आएका छन् ।


क्याटेगोरी : breaking, समाचार

तपाईको प्रतिक्रिया