Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार‘प्रतिबद्ध’ कामदारलाई कोरियाली पक्षको प्राथमिकता

‘प्रतिबद्ध’ कामदारलाई कोरियाली पक्षको प्राथमिकता

अक्टोबरभित्र रोजगारी सुरु गर्ने कोरियाको तयारी, आधिकारिक पत्रको पखाईमा नेपाल


काठमाडौँ ।स्थगित दक्षिण कोरियाली रोजगारी खुला गराउने सरकारी प्रयास अन्तिम चरणमा पुगेको छ । सरकारी प्रयासअनुरुप नै पछिल्लो समय अर्थमन्त्री जर्नादन शर्माले नेपाली युवाको लागि कोरियाली रोजगारी खुला गराउनका लागि नेपालस्थित कोरियाली राजदूतसँग आग्रह गरेका थिए । नेपालका लागि कोरियाका राजदूत पार्क चोङ–सूकले रोकिएको इपिएसको काम अघि बढाउन आफूल पहल गर्ने अर्थमन्त्री शर्मासमक्ष बताएका थिए ।

यसैबीच कोरियाली पक्षले प्रतिबद्ध कामदारलाई प्राथमिकता दिने बताएको छ । प्रतिबद्ध कामदार अर्थात् कोरियामा काम गरेर फर्किएका, रोजगारदाताले मन पराएका कामदारलाई कोरियाली पक्षले प्राथमिकतामा राखेको रोजगार अनुमति प्रणाली (ईपीएस) शाखा, ग्वार्कोका निर्देशक सुरेश राउतले आर्थिक दैनिकलाई बताए । तर, नेपाली पक्षले भने भाषा पास परीक्षा पास गरेर, श्रम स्वीकृति प्राप्त भएकाहरुलाई समेत प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका छन् ।

‘कोरियाली पक्षले प्रतिबद्ध कामदारलाई प्राथमिकतामा राखे पनि अन्तिम निर्णय भने भइसकेको छैन । नेपाली पक्षले भने ईपीएस भाषा परीक्षा पास गरेर कोरियाको पर्खाइमा रहेकालाई पनि प्राथमिकतामा राख्नुपर्ने अडान लिएको छ’, उनले भने, ‘हालसम्म आधिकारिक निर्णय नहुँदा दुवै पक्षको सहमतिअनुरुप कोरियाली रोजगारी अघि बढ्नेछ । त्यसैले गर्दा हाम्रा माग र उनीहरुको शर्तको विषयमा छलफल गरी अघि बढ्ने तयारी छ ।’

यस्तै, अक्टोबरभित्र कोरिया रोजगारी सुरु गर्ने गरी कोरियाली पक्ष अघि बढेको छ । ‘अक्टोबरमा कोरिया पठाउने तयारी गर्ने योजनामा दुई पक्ष छौँ । अझै नेपाली पक्ष त यसअघि नै तयारी अवस्थामा छ । कोरियाली पक्षले कुनै आधिकारिक पत्र नपठाउँदा निर्णय सार्वजनिक गर्न नसकिएको निर्देशक राउतको भनाइ छ ।

यद्यपि शाखाले कोरिया पठाउनको लागि भन्दै टिकट आपूर्तिको लागि बोलपत्र आह्वान गरेको थियो । काठमाडौंबाट कोरियाको सोलसम्मको नेपाली युवा लैजानको लागि शाखाले भदौ २ गते बोलपत्र आह्वान गरेको थियो । ‘कोरियाले पक्षको आग्रहअनुरुप नै काठमाडौं–सोल सिधा उडानको तयारी गरेका हौँ’, उनले भने, ‘हाल बोलपत्र आह्वानको मूल्यांकनको काम भइरहेको छ ।’

कोभिडकै कारण दुवै पक्षको सहमतिअनुरुप सिधा उडान गर्न लागिएको हो  । यस्तै कोरियाली जान चाहने युवाहरुलाई कोभिडविरुद्धको स्वास्थ्य सुरक्षा मापदण्ड समेत अनिवार्य गरिएको छ । कोरिया जाने युवाहरुले कोभिडविरुद्धको पूर्ण खोप (एक÷दुई डोज) लगाउनुपर्ने र कोरिया पुगेपछि आफ्नै खर्चमा क्वारेन्टाइन बस्नुपर्ने बाध्यकारी शर्त राखेको छ । क्वारेन्टाइन दुई साताको हुनेछ । युवाहरुको बीमा सम्झौता समेत अनिवार्य गरिएको छ ।

कोभिडकै कारण यसअघि कोरियाली रोजगारी सुरु हुन नसकेको तथा विभिन्न शर्तहरु युवाहरुले पूरा गर्नुपर्ने देखिएको निर्देशक राउतले बताए । ‘खोप लगाउँदैमा कोभिड नदेखिने होइन त्यसैले गर्दा दुवै पक्ष सतर्क रहनु जरुरी छ भने स्वास्थ्य मापदण्ड अपनाउनु आवश्यक छ’, उनले भने ।सरकारी बेवास्ताकै कारण कोरिया जान नपाएको युवाहरुको आरोप छ । गैरआवासीय संघ कोरियाका सदस्य रन्जनराज कुवँरले नेपाली पक्षको ढिलासुस्तीको कारणले गर्दा युवाहरु कोरिया जानबाट वञ्चित हुनपुगेको बताए । ‘कोरियालीहरु नेपाली कामदार लैजान चाहेका छन् । तर, सरकारी अधिकारीहरुले आवश्यक समन्वय, वार्ता तथा रुचि नदेखाउँदा समस्या देखिएको हो’, उनले भने ।

यता निर्देशक राउत भने सरकारी अधिकारीलाई लागेको आरोप निराधार भएको बताउँछन् । आधिकारिक निर्णय नभएसम्म कोरिया पठाउन नसकिने उनले बताए । ‘दुवै पक्षबीच आधिकारिक निर्णय भई पत्र आएको खण्डमा कोरिया रोजगारी जुनसुकै समयमा खुला हुन्छ’, निर्देशक सुरेश राउतले आर्थिक दैनिकसँग भने, ‘सरकारी तहबाट पर्याप्त प्रयास भएका छन् । अब निचोडमा चाँडै पुग्छौँ ।’

कोरिया जानका लागि १२ हजार जना युवाहरु प्रतीक्षारत छन् । जसमध्ये १० हजार पाँच सय पाँच जना ईपीएस भाषा परीक्षा पास गरेका तथा नियमित प्रक्रियाबाट पाँच वर्ष काम गरी नेपाल फर्केर अर्को प्रक्रियामार्फत पुनः जान तयार भएका करिब दुई हजार जना छन् । सन् २०१७, २०१८ र २०१९ मा १० हजार पाँच सय पाँच जनाले भाषा परीक्षा पास गरेकाहरु कोरोनाको कारणले गर्दा कोरिया जान पाएका छैनन् । आकर्षक तलबकै कारण युवाहरु कोरिया जान इच्छुक देखिन्छन् । युवाहरुले कोरियामा मासिक एक लाख ५० हजार तलब बुझ्ने तथा अतिरिक्त समय काम गरेबापत तीनदेखि चार लाख रुपैयाँसम्म कमाइ हुन्छ ।

कोरियाले विशेष गरी कृषि र उद्योग क्षेत्रका लागि विदेशी कामदार भित्र्याउने गरेको छ । २०२० मा कोरिया भाषा परीक्षामा करिब ९२ हजार जना युवाहरु सहभागी भएका थिए । सो वर्ष ६६ हजार सात सय जनाले भाषा परीक्षा उत्तीर्ण गरेका थिए । उद्योग (उत्पादन)तर्फ चार हजार सात सय र कृषि तथा पशुपालनतर्फ दुई हजार युवा लैजाने भनिए पनि कोरोनाका कारण रोकिन पुग्यो । ईपीएसअन्तर्गत हालसम्म करिब ६५ हजार जनाभन्दा बढी नेपाली युवा कोरिया पुगिसकेका छन् । नेपाली कामदारहर कर्तव्यनिष्ठ इमानदार, लगनशील र मिहिनेती भएकोले कोरियन रोजगारदाताको छनौटमा उच्च प्राथमिकतामा पर्ने गरेका छन् । यस्तै, राजदूत सूकले भाषा परीक्षा उत्तीर्ण गरी पालोमा बसेका श्रमिकलाई काममा पठाउने प्रक्रिया अघि बढाउने अर्थमन्त्री शर्मालाई जानकारी गराएका थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया