Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारपर्यटक र सीमा नियमन गर्न नेपाली पोर्ट

पर्यटक र सीमा नियमन गर्न नेपाली पोर्ट


काठमाडौं, माघ १४
सरकारले अध्यागमन र सीमा नियमन गर्नका लागि भन्दै सफ्टवेयर प्रणाली नेपाली पोर्ट विकास गरेको छ । नेपाली विज्ञ र विभागका प्राविधिक सम्मिलित टोेलीले एक वर्ष लगाएर निर्माण गरिएको सो सफ्टवेयर प्रणालीको सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट उद्घाटन गरेका हुन् ।

उद्घाटनको क्रममा प्रधानमन्त्री ओलीले सफ्टवेयर प्रणाली नेपाली पोर्ट विकास गरी गृह मन्त्रालयअन्तर्गत अध्यागमन विभागले सरकारको आधुनिकीकरणतर्फको यात्रालाई सफलता प्रदान गरेको बताए । अध्यागमनले भने नेपालभित्र विदेशीहरुको प्रवेश, उपस्थिति र प्रस्थानलाई नियमन एवं नेपाली नागरिकहरुको प्रस्थान र अनुगमनलाई व्यवस्थापन गर्नुपर्ने जिम्मेवारी रहेको छ । सो जिम्मेवारीलाई व्यवस्थित गर्नको लागि विभागले नेपाली पोर्ट निर्माण गरेको जनाएको छ ।

नेपाली पोर्ट निर्माण गरी त्रिभुवन विमानस्थलमा प्रयोगमा ल्याएसँगै विदेशी पर्यटक आगमन र प्रस्थानलाई बायोमेट्रिक प्रणालीसहित विकास गर्नु प्रशंसायोग्य काम भएको प्रधानमन्त्री ओलीले बताए । उक्त काम मुलुकको आधुनिकीकरण तर्फको यात्रा भएको उनको भनाइ छ । ‘विदेशी पर्यटक आगमन र नेपालीहरु विदेश प्रस्थान गर्दा प्रविधिको प्रयोग गरी जानकारी राख्नु अध्यागमनलाई व्यवस्थित गर्नको साथै आधुनिकीकरण गर्नु हो’, उनले भने, ‘अध्यागमन सुधारअन्तर्गत बायोमेट्रिक प्रणाली लागू हुँदा अध्यागमन सेवा समेत मर्यादित बन्न सहयोग पुग्नेछ । प्रविधिको प्रयोग गरी विमानस्थललाई सुरक्षित बनाउनु महत्वपूर्ण विषय हो ।’

प्रविधिको प्रयोग गर्दै छिमेकी मुलुक भारत र चीन आर्थिक विकासमा लागेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने, ‘हामीले पनि एउटा क्षेत्र अर्थात् अध्यागमनमा मात्र होइन सबै क्षेत्रमा प्रविधिको प्रयोग गर्नु आवश्यक छ ।’ योसँगै सरकारले विश्वस्तरको प्रविधिको प्रयोग गरी विमानस्थलमार्फत विदेशी तथा स्वदेशीलाई प्रविधिमैत्री सेवा प्रदान गरेको छ । सरकारले डिजिटल नेपाल बनाउने घोषणा गरेको छ । अध्यागमनको यो कामले सरकारलाई सहयोग पुगेको प्रधानमन्त्री ओलीले बताए ।

यस्तै उनले विमानस्थलामा प्रविधिको प्रयोग गर्नु बुटिक विमानस्थल निर्माण गरी विमानस्थलमा आधुनिकता देखिएको बताए । ‘विमानस्थलमा नेपाली पोर्ट प्रयोग हुनु, बुटिक विमानस्थल निर्माण हुनु हो, विमानस्थलमा आधुनिकता झल्किनु हो’, उनले भने, ‘विमानस्थलमा मौलिकतासँगै आधुनिकता झल्किनुपर्छ ।’

कार्यक्रममा गृहमन्त्री रामबहादुर थापाले मुलुकमा शान्ति, सुरक्षा र अमनचैन कायम गर्दै समृद्ध र स्वाधीन अर्थतन्त्रको रुपमा स्थापित गर्ने सरकारको दृढ संकल्पअनुसार गृह मन्त्रालयले गृह प्रशासन सुधारको स्पष्ट नतिजासहितको कार्ययोजना तयार गरी अघि बढिरहेको बताए । यो प्रणाली पनि यसैको अंग भएको उनको भनाइ छ । कार्यक्रममा उनले मुलुकको शान्ति सुरक्षासँग प्रत्यक्ष सरोकार राख्ने अध्यागमन र सीमा व्यवस्थापनलाई सुरक्षित, विश्वसनीय, यात्रुमैत्री र सूचना प्रणालीमा आधारित बनाउन नेपाली पोर्ट सफ्टवेयर प्रणालीलाई निर्धारित समयभित्रै तयार गर्न समेत सफल भएको बताए ।

इन्टरनेटमा आधारित साइबर अपराध विश्वव्यापी रुपमा बढ्दै गएको र अपराधीहरुले सञ्जाल विस्तार गर्ने सिलसिलामा नेपालका नाकाहरुलाई समेत प्रयोग गर्नसक्ने सम्भावनालाई दृष्टिगत गरी त्यस्तो हर्कतलाई समयमै नियन्त्रण गर्न नेपाली स्वामित्व र स्वदेशी क्षमता तथा विश्वसनीयतासहितको नेपाली पोर्टको निर्माण गरी सञ्चालनमा ल्याउन सफल भएको मन्त्रालयले जनाएको छ ।

अध्यागमनमा स्थापना गरिएको फर्जरी डिटेक्सन युनिट (एफडीयू), बायोमेट्रिक प्रणाली, मोबाइल एप्सको सुविधा र थप तालिम प्राप्त जनशक्तिको व्यवस्थाबाट नेपालका नाकाहरु सुरक्षाको हिसाबले पनि अब्बल हुने विश्वास लिएको गृहमन्त्री थापाको भनाइ छ । ‘यही प्रविधि र प्रणाली सीमानाकास्थित सबै नाकाहरुमा एकैसाथ स्थापना र सञ्चालन हुनु अझ ठूलो गर्वको विषय हो’, उनले भने, ‘आन्तरिक स्रोत, क्षमता र दक्षताको संयोजन एवं परिचालनबाट एक वर्षको कठोर मिहिनेतबाट नतिजा प्राप्त गर्न सफल भएका छौँ ।’

सरकारले अर्थतन्त्रको एक प्रमुख आधारशिलाको रुपमा रहेको पर्यटन उद्योगको सम्भावनालाई यथार्थतामा बदल्ने अभियानसाथ सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउने कार्ययोजना कार्यान्वयनमा ल्याएको छ । यसबाट अध्यागमन कार्यालय, विमानस्थल र अन्य नाकाहरुमा समेत विदेशी पाहुनाहरुको आगमन र प्रस्थानमा उल्लेख्य बढोत्तरी हुनेछ । स्वदेशी तथा विदेशीहरुको आगमन र प्रस्थानलाई सरल, सहज, सुरक्षित र छरितो बनाउन गृहबाट अन्तर्मन्त्रालय र निकायगत समन्वय एवं सहकार्य गरी काम भइरहेको छ । यात्रुहरुको सहजीकरणको लागि नेपाली सेना र सशस्त्र प्रहरीका अवकाशप्राप्त जनशक्ति र होटल व्यवस्थापन विषयका विद्यार्थीहरुलाई स्वयंसेवकको रुपमा परिचालन समेत गरिएको छ ।

लामो समयदेखि समस्याको रुपमा रहेका संगठित अपराधहरु अवैध सुन तस्करी, मानव तस्करी, लागूऔषध तथा अवैध हातहतियार बेचबिखन जस्ता विषयहरुमा कार्ययोजना तयार गरी सुरक्षा निकायको समन्वय र अपरेसनहरुको निरन्तरता बढेको समयमा पोर्ट निर्माणसँगै यस्ता अपराध सन्जाल ध्वस्त पार्ने कार्यमा महत्वपूर्ण सफलता प्राप्त हुने मन्त्रालयले जानकारी दिएको छ ।

हालै गरिएको अध्यागमन सुधार एवं सुदृढीकरणले आपराधिक मनोवृत्ति र अपराधको शृंखलामा उल्लेख्य कमी आउने मन्त्रालयको भनाइ छ । अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले अध्यागमन सुधार कार्यक्रमअन्तर्गत सो प्रणाली निर्माण गरेको बताए । ‘छोटो समयमा आंकलन गरेभन्दा निकै कम खर्चमा पोर्ट निर्माण गर्न सफल भएको छौं, उनले भने, ‘दुई वर्षमा निर्माण हुने र पाँच करोड रुपैयाँ लाग्ने भन्दै आएकोमा विभाग एक वर्षमा ८० लाख रुपैयाँमा पोर्ट निर्माण गर्न सफल भएका छौँ ।’

छोटो समयमा पोर्ट निर्माण गर्न सफल हुनुमा अर्थ मन्त्रालयको वित्तीय सहयोग र अन्य मन्त्रालयहरुसँगको समन्वयको कारणले सम्भव भएको हो । सरकारले मुलुकका आमूल परिवर्तन गर्नुपर्छ भन्ने उद्देश्यका साथ अघि बढेकै कारण विभागले सो प्रगति गर्न सकेको हो । उनले पोर्ट सञ्चालनमा आएसँगै मिनि सेकेन्ड पनि बन्द नहुने बताए । ‘पोर्टमा २४ घण्टा विद्युत् आपूर्ति हुने तथा इन्टरनेटको समेत व्यवस्था हुनेछ’, उनले भने, ‘संकलित विवरणहरु भण्डार गर्नको लागि विमानस्थलका साथै हेटौंडामा समेत ल्याबको स्थापना गरेका छौँ ।’ विभागले अध्यागमन ऐन २०४९ र नियमावली २०५१ अनुसार नेपालभित्र विदेशी नागरिकहरुको प्रस्थान र आगमनलाई व्यवस्थित गर्नुपर्ने हुन्छ ।

के गर्छ नेपाली पोर्टले ? नेपाली पोर्टले नेपाल प्रवेश गर्ने र बाहिरिने सबै विदेशीहरुको बायोमेट्रिक सूचना अर्थात् विदेशीहरुको आँखाको रेटिना, औँठाछापा, तस्बिर संकलन गर्छ । जसले गर्दा व्यक्ति र उसको कागजात सही भए÷नभएको चेकजाँच गर्छ । सरकारका सम्बद्ध निकायका सूचनाहरुजस्तै राहदानी विभागबाट जारी हुने राहदानी, वैदेशिक रोजगार विभागबाट जारी हुने श्रम स्वीकृति, शिक्षा मन्त्रालयले जारी गर्ने नो अब्जेक्सन लेटर (एनओसी) र इन्टरपोल सम्बद्ध सूचनाहरु एकआपसमा पोर्ट प्रणालीमार्फत हेर्न मिल्ने गरी अन्तराबद्धताको व्यवस्था ।

विदेशस्थित नियोगहरुबाट समेत यसै प्रणालीमार्फत भिसा जारी हुने हुँदा नेपालको भिसा दुरुपयोग तथा राजस्व चुहावट हुने सम्भावनाको अन्त्य हुनेछ । भिसाको आवदेन अनलाइनमार्फत नै गर्ने र विकल्पको रुपमा मोबाइल एप्लिकेसनको विकास हुँदा भिसा आवदेन गर्न लामो लाइन बस्नुपर्ने बाध्यताको अन्त्य हुने विभागले जनाएको छ । विदेशी नागरिकको नेपाल बसाइको अनुगमन गर्ने र आन्तरिक बसाइको ट्र्याकिङ गर्ने छुट्टै मोडुलको विकास गरिएको छ । भिसा दस्तुर समेत अनलाइनमार्फत तिर्न सकिने गरी अनलाइन भुक्तानी प्रणाली विकास गरिएको छ । पोर्ट उच्च क्षमताको नेटवर्क, विद्युत् आपूर्तिको स्वचालित वैकल्पिक प्रबन्धसहित २४ घण्टा विना अवरोध सञ्चालन हुनेछ ।

पोर्टमा संकलन भएको तथ्यांक भण्डारण गर्नका लागि विभागले काठमाडौंका साथै हेटौंडामा समेत ल्याब निर्माण गरेको छ । अध्यागमन सुधार कार्यक्रमअन्तर्गत पोर्ट निर्माण गरिएको हो भने सुधार कार्यक्रमअन्तर्गत २२ करोड खर्च हुने अनुमान रहेकोमा हालसम्म १६ करोड खर्च भएको छ । पोर्ट विकाससँगै पर्यटन प्रवद्र्धन, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण, वैदेशिक रोजगार, आतंकवादी तथा आपराधिक गतिविधि नियन्त्रणलगायतका काम गर्न सहज हुनेछ ।

पोर्टले विदेशी नागरिकहरु रहेको होटेलसम्मको ट्र्याक समेत गर्छ । विभागले शंकास्पद यात्रु तथा सामग्री छुट्याई अनुसन्धान अघि बढाउन आइसोलेसन कक्षसहित कार्यकक्षहरुको डिजाइन गरेको छ भने सीमा नाकास्थित भैरहवाको सुविधा सम्पन्न कार्यालय भवन निर्माण गर्न डिजाइन र अनुमान लागत तयार भई बोलपत्र आह्वान अन्तिम चरणमा पुगेको जनाएको छ । विमानस्थलमा शंकास्पद कागजातको पहिचानका लागि अत्याधुनिक उपकरणसहितको फर्जरी डिटेक्सन ल्याबको स्थापना गरेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया