Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारएक महिनामा एक खर्ब २९ अर्बको व्यापारघाटा

एक महिनामा एक खर्ब २९ अर्बको व्यापारघाटा

एक खर्ब ५० अर्बको आयात/२० अर्ब ७६ करोडको मात्र निर्यात


काठमाडौँ । नेपालको वैदेशिक व्यापार कमजोर देखिएको छ । आयात र निर्यातबीचको असन्तुुलन उच्च भएकै कारण पनि मुुलुकको वैदेशिक व्यापार कमजोर देखिएको हो । नेपाल राष्ट्र बैंकको बिहीबार सार्वजनिक गरेको मुुलुकको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी पहिलो महिनाको तथ्यांकअनुसार कुल वस्तु निर्यात एक सय १५ दशमलव नौ प्रतिशतले बढेर २० अर्ब ७६ करोड रुपैयाँ पुगेको छ । । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात जम्मा आठ दशमलव नौ प्रतिशतले मात्र बढेको थियो ।

राष्ट्र बैंकका अनुसार चालू आवको पहिलो महिनामा मुुलुकको कुल वस्तु आयात भने ७५ दशमलव सात प्रतिशतले बढेर एक खर्ब ५० अर्ब ७३ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १९ दशमलव छ प्रतिशतले घटेको थियो । सोही आधारमा चालू आवको पहिलो महिनामा कुल वस्तु व्यापारघाटा ७० दशमलव छ प्रतिशतले बढेर एक खर्ब २९ अर्ब ९७ करोड रुपैयाँ पुुगेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २२ दशमलव दुई प्रतिशतले घटेको थियो राष्ट्र बैंकले उक्त प्रतिवेदनमार्फत भनेको छ ।

राष्ट्र बैंकका अनुसार चालू आवको पहिलो महिनामा गन्तव्यका आधारमा भारत, चीन तथा अन्य मुलुकमार्फत क्रमशः एक सय ६७ प्रतिशत, ४७ दशमलव आठ प्रतिशत र १७ दशमलव पाँच प्रतिशतले निर्यात बढेको छ । वस्तुगत आधारमा सोयाबिन तेल, पाम तेल, धागो पोलिष्टर तथा अन्य), जुस, पिना लगायतका वस्तुको निर्यात बढेको देखिए पनि अलैँची, आयुर्वेदिक औषधि, जडीबुटी, तार, तयारी छालाका सामानलगायतका वस्तुको निर्यात भने घटेको छ, प्रतिवेदनमा भनिएको छ । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ५८ दशमलव सात प्रतिशत, ८७ दशमलव छ प्रतिशत र एक सय २० दशमलव आठ प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुर्जा, कच्चा सोयाबिन तेल, एमएस बिलेट, सुनलगायतका वस्तुको आयात बढेको देखिए पनि रासायनिक मल, सिमेन्ट, सुर्ती, हवाइजहाजका पार्टपुर्जा, तयारी पोशाकलगायतका वस्तुको आयात भने घटेको छ ।

राष्ट्र बैंकका अनुसार चालू आवको पहिलो महिनामा कञ्चनपुर, मेची र नेपालगञ्ज भन्सार कार्यालयबाहेकका नाकाबाट गरिएको निर्यात बढेको छ । त्यसैगरी, कैलाली भन्सार कार्यालयबाहेकका नाकाबाट भएको आयात पनि बढेको छ ।
राष्ट्र बैंकका अनुसार चालू आवको पहिलो महिनामा खुद सेवा आय १० अर्ब १२ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय तीन अर्ब नौ करोड रुपैयाँले घाटामा रहेको थियो । सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय एक सय १८ दशमलव छ प्रतिशतले वृद्धि भई एक अर्ब ३३ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ६० करोड ८० लाख रहेको राष्ट्र बैंकले जनाएको छ । समीक्षा अवधिमा सेवा खाताअन्तर्गत भ्रमण व्यय भने दुई सय १७ दशमलव नौ प्रतिशतले वृद्धि भई पाँच अर्ब १२ करोड कायम भएको छ । यसमध्ये शिक्षामार्फतको व्यय तीन अर्ब ४७ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय एक अर्ब ६१ करोड रहेकोमा शिक्षातर्फको व्यय एक अर्ब ४१ करोेड रहेको थियो, राष्ट्र बैंकले भनेको छ ।

एक महिनामा भित्रियो ७५ अर्ब ९६ करोड रुपैयाँ रेमिट्यान्स
चालू आर्थिक वर्षको पहिलो महिनामा विप्रेषण आप्रवाह अर्थात् रेमिट्यान्स रकम घटेको छ । राष्ट्र बैंकका अनुसार यस अवधिमा रेमिट्यान्स रकम १८ दशमलव एक प्रतिशतले घटेर ७५ अर्ब ९६ करोड रुपैयाँमा सीमित हुुनपुुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २३ प्रतिशतले बढेकोे राष्ट्र बैंकले जनाएको छ । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७ दशमलव पाँच प्रतिशतले कमी आई ६३ करोड ८२ लाख पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४ दशमलव पाँच प्रतिशतले बढेकोे राष्ट्र बैंकले जनाएको छ ।

Open photo

 

यसैगरी चालू आवको पहिलो महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या बढेर १३ हजार आठ सय पुुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९९ दशमलव दुई प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ । यसैगरी वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा दुुई सय ८६ दशमलव एक प्रतिशतले बढेर १२ हजार छ सय २८ पुगेको छ ।

विदेशी  मुद्रा सञ्चितिमा तीन दशमलव दुई प्रतिशतले गिरावट
विदेशी मुद्राको सञ्चितिमा गिरावट आएको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब तीन करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति तीन दशमलव दुई प्रतिशतले कमी आई २०७८ साउन मसान्तमा १३ खर्ब ५३ अर्ब ८२ करोड कायम भएको हो । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७८ साउन मसान्तमा दुई दशमलव आठ प्रतिशतले कमी आर्ई ११ अर्ब ४२ करोड रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

Open photo

 

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७८ असार मसान्तमा १२ खर्ब ४४ अर्ब ६३ करोड रहेकोमा २०७८ साउन मसान्तमा तीन दशमलव एक प्रतिशतले कमी आई १२ खर्ब छ अर्ब ५१ करोड रुपैयाँ कायम भएको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७८ असार मसान्तमा एक खर्ब ५४ अर्ब ३९ करोड रहेकोमा २०७८ साउन मसान्तमा चार दशमलव छ प्रतिशतले कमी आई एक खर्ब ४७ अर्ब ३१ करोड कायम भएको छ । २०७८ साउन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २५ दशमलव दुई प्रतिशत रहेको छ ।

राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पहिलो महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति नौ महिना तीन दिनको वस्तु आयात र आठ महिना तीन दिनको वस्तु तथा सेवा आयात धान्न पुग्ने देखिएको छ ।

चालू खाता ४७ अर्ब ९० करोड ले घाटामा
चालू आर्थिक वर्षको पछिल्लो एक महिनाको मुलुकको चालू खाता एवं शोधनान्तर स्थिति घाटामा देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आवको पहिलो एक महिनामा चालू खाता ४७ अर्ब ९० करोड रुपैयाँले घाटामा देखिएको हो ।

अघिल्लो वर्षको सोही अवधिमा चालू खाता २४ अर्ब ८९ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २० करोड ७७ लाखले बचतमा रहेको चालू खाता समीक्षा अवधिमा ४० करोड २४ लाखले घाटामा रहेको राष्ट्र बैंकले जनाएको छ । यसैगरी चालू आवको पहिलो महिनामा पुँजीगत ट्रान्सफर ३८ प्रतिशतले कमी आई ६७ करोड ९७ लाख रहेको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ६५ दशमलव पाँच प्रतिशतले कमी आई ४८ करोड छ लाख रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर एक अर्ब १० करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी एक अर्ब ३९ करोड रहेको राष्ट्र बैंकले जनाएको छ ।

Open photo

समीक्षा अवधिमा शोधनान्तर स्थिति भने ३८ अर्ब ७५ करोड रुपैयाँले घाटामा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ५१ अर्ब ४६ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४२ करोड ९४ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ३२ करोड ५५ लाखले घाटामा रहेको राष्ट्र बैंकले जानकारी दिएको छ  ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया