Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारगैरआवासीय नेपाली संघको अध्यक्षमा कुल आचार्यको उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली संघको अध्यक्षमा कुल आचार्यको उम्मेदवारी घोषणा


काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)का सल्लाहकार तथा पूर्वउपाध्यक्ष कुल आचार्यले संघको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा उनले २०२१–२०२३ कार्यकालका लागि संघको अध्यक्षमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेका हुन् ।

उम्मेदवारी घोषणा गर्दै आचार्यले पैत्रिक सम्पत्तिको अधिकार, राहदानीसहित तेस्रो पुस्तापछि पनि कायम रहने गरी गैरआवासीय नेपाली नागरिकतालाई कार्यान्वयन गर्न सर्वोच्च प्राथमिकता दिने बताए । साथै उनले आफ्नो दुईवर्षे कार्यकालमा संसारभर एनआरएनएको पन्जीकृत सदस्य संख्या पाँच लाख पु-याउने र राष्ट्रिय समन्वय परिषद्हरूको संख्या कम्तीमा एक सय पु-याउने घोषणा गरे ।

हाल एनसीसीको संख्या ८४ रहे पनि कतिपय एनसीसीहरू निष्कृय रहेका छन् भने संघका पन्जीकृत सदस्यहरूको संख्या एक लाखको हाराहारीमा छ । गैरआवासीय नेपालीहरूलाई मात्रै नभई संसारका विभिन्न देशमा रहेका नेपाली मूलका मानिसहरूलाई पनि जोड्ने उनको योजना रहेको छ । थाइल्याण्ड, म्यानमारलगायतका मुलुकमा बसोबास गर्ने नेपालीलाई ‘पिपुल अफ नेपाली ओरिजिन (पीएनओ)’ को मान्यता दिलाउन पहल गर्ने आचार्यले घोषणा गरे । अध्यक्षका प्रत्यासी आचार्यले वैदेशिक रोजगारीलाई थप व्यवस्थित र मर्यादित बनाउने भन्दै मध्यपूर्व, मलेसियालगायतका मुलुकमा काम गर्ने नेपालीहरूको सुरक्षामा पनि विशेष ध्यान दिने घोषणा गरे । उनले वैदेशिक रोजगारीमा रहेका र थपिने नेपाली महिला कामदारको सुरक्षा र सीपको विकासमा संघले संस्थागत रूपमा ध्यान दिने उनले बताए ।

विदेशमा नेपाली भाषा, कला र संस्कृतिको जगेर्ना गर्दै संसारभरि नेपालको पर्यटन प्रवर्द्धनका लागि अभियान चलाउने उनको योजना छ । प्रवासी नेपालीहरूको खेलकुदप्रतिको चाहना र आकर्षणलाई सम्बोधन गर्न एनआरएनए खेलकुद प्रतिष्ठान स्थापना गर्ने घोषणा पनि आचार्यले गरे । नेपालमा गैरआवासीय नेपालीहरूको लगानी मात्रै नभई प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन पनि आफूले पहल गर्ने बताउँदै आचार्यले भने, ‘विदेशी लगानी भित्र्याउन केही कानुनी जटिलता छन्, त्यसलाई सुल्झाउनुपर्छ, मेरो ध्यान यसमा केन्द्रित हुनेछ ।’ नेपालबाट अवैधरूपमा विदेश गइरहेको सम्पत्तिलाई रोकी नेपालमै लगानीको वातावरण बनाउनु पनि मेरो अर्को प्राथमिकता हो, उनले भने । पर्वतको धाइरिङमा जन्मेका आचार्य हाल बेलायतमा बसोबास गर्दै आइरहेका छन् । उनी लण्डनका स्थापित व्यवसायी हुन् भने समाजसेवी पनि हुन् ।

आचार्यको उम्मेदवारीलाई संघका बहुसंख्यक राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरूले समर्थन जनाएका छन् । आचार्यले अगाडि सारेका एजेन्डा र प्रतिबद्धतासँग सहमति जनाउँदै आइसीसीका अन्य पदमा पनि उम्मेदवारी घोषणा भएको छ । संघको महासचिव पदमा अमेरिका निवासी एनसीसी अमेरिकाको दुई कार्यकाल नेतृत्व गरिसकेका चिकित्सक डा. केशव पौडेलले उम्मेदवारी घोषणा गरेका छन्  ।

अमेरिकास्थित एक अस्पतालका मेडिकल डाइरेक्टर पौडेल एनआरएनए अभियानमा लामो समयदेखि सक्रिय अभियन्ता हुन् । आचार्यको नेतृत्वमा संघलाई पारदर्शी र परियोजनामुखी बनाउने अभियानअन्तर्गत आफूले महासचिव पदमा उम्मेदवारी दिएको पौडेलले बताए । संघको दशौँ विश्व सम्मेलन आगामी अक्टोबरको २३–२५ सम्म काठमाडौँमा हुँदै छ । निर्वाचन समितिले अनलाइन माध्यमबाट विश्वभरबाट एकसाथ मतदान गराउने तयारी गरेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया