Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारभण्डारीको किर्ते कामका कारण लालीगुराँस सहकारी समस्याग्रस्त !

भण्डारीको किर्ते कामका कारण लालीगुराँस सहकारी समस्याग्रस्त !


काठमाडौं । पुल्चोकमा रहेको श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड समस्याग्रस्त भएको छ । सहकारीका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीका कारण सहकारीका बचतकर्ता र ऋणीहरु अब सहकारीको भवनमा समेत प्रवेश गर्न नपाउने भएका छन् ।

भण्डारीले विभिन्न किर्ते कागजातका आधारमा ललितपुर महानगरपालिकाले निर्माण थालेको दुई सय छ वर्ष पुरानो ऐतिहासिक समय् फल्चा निर्माणविरुद्ध मुद्दा मामिला गरेका थिए । फल्चा निर्माणका विषयमा यसअघि सर्वोच्च अदालत, उच्च अदालत र जिल्ला अदालतबाट भएका फैसला तथा आदेशलाई लुकाएर भण्डारीले पछिल्लो समय फेरि उच्च अदालतमा झूटो मुद्दा दायर गरेका थिए । सहकारीकै ऋणमा मनोमानी गर्ने सहकारीकै भवनमा होम प्रो फर्निसिङ सञ्चालन गर्दै आएकी सब्बुसिंह भण्डारीलाई प्रयोग गरेर अदालतलाई झूटो निवेदन दिए पनि अदालतले आइतबार नै अन्तरिम आदेश निष्क्रिय गर्दै फल्चा निर्माण सुचारु गर्न आदेश दिएको थियो ।

सोही आदेशपश्चात् समय् फल्चा पुनर्निर्माण उपभोक्ता समितिले श्री लालीगुराँस सहकारीको भवन छिर्ने गेट नै बन्द गरेर जस्ताले बेरेको हो । सोमबार ललितपुरबासी नेवार समुदायको उपस्थितिमा भवन प्रवेशस्थल नै रोकेर बार लगाइएको छ । सहकारीले स्वीकृत नक्साबेगर पूर्वतर्फ ढोका र सटर निर्माण गरेको भन्दै सहकारी अगाडि महानगरपालिकाले ब्यानर टाँगेर नक्साअनुसार सटर र ढोका निर्माण गर्न भनेको छ । नक्साहरु पनि टाँस्दै महानगरले लेखेको छ, ‘मिति २०५८ सालमा अनिल राजभण्डारीको जग्गामा हाल श्री सहकारी भवन पास गर्दा दक्षिणपट्टि बाटो गरिएको र पूर्वमा ३२७ कित्ता रहेको जानकारी गराउँछु ।’

२०६ वर्ष पुरानो ऐतिहासिक समय फल्चा जीर्ण भएपछि भत्किएको थियो । समय् फल्चाको भग्नावशेषमाथि श्री लालीगुराँस सहकारीको भवन निर्माण भएको थियो । सहकारीका कार्यकारी निर्देशक भण्डारीले मूलबाटो र फूटपाथ प्रयोगलाई लिएर विभिन्न सरकारी अड्डामा मुद्दा मामिला गर्दै आएका थिए । तर, सर्वोच्च अदालतले नै फल्चा निर्माण गर्न आदेश दिए पनि उनले यो आदेश र फैसला लुकाएर विभिन्न अन्य अदालतमा मुद्दा दायर गरेर फल्चा निर्माण रोक्दै आएका थिए ।

फल्चा पुनर्निर्माण समितिका अध्यक्ष रोविन महर्जनका अनुसार सोमबार समितिले जस्ताले बेरेर निर्माण थालेपछि भण्डारीले आफ्ना कर्मचारी ल्याएर निर्माण अवरुद्ध गर्ने दुष्प्रयास गरेका थिए । तर, स्थानीय पुल्चोकबासी सडकमा आएपछि कर्मचारी नै लखेटिएका थिए । विवाद चर्किएपछि ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, समितिका अध्यक्ष महर्जन, प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय र सहकारीका कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीबीच वार्ता भएको थियो । वार्तामा पुगेका भण्डारी निकै हतास र आत्तिएका थिए । उनले सहकारीमा प्रवेश गर्ने द्वार सानो प्रवेश मार्ग भए पनि दिनुपर्ने माग गरेका थिए । तर, मेयर महर्जन र समिति अध्यक्ष रोविन महर्जनले कुनै पनि हालतमा दिन नमिल्ने बताएका थिए ।

वार्ताकारभन्दा पनि सहकारीको प्रतिनिधिको रुपमा प्रस्तुत भएका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले सहकारीलाई प्रवेश मार्ग दिन अनुनय गरेका थिए । उनकै अनुनयलाई आधार मानेर मेयर महर्जन र उपभोक्ता समितिले सात दिनसम्मको म्याद दिएर ढोका खोलिएको छ । सात दिनभित्र सहकारीका बचतकर्ता र सेयर सदस्यले आफ्नो रकम फिर्ता नलिए आगामी दिनमा सहकारी प्रवेशको ढोका नै नहुने पुल्चोकबासीको भनाइ छ । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया