Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारविश्व बैंकका उपाध्यक्षको नेपाल भ्रमण

विश्व बैंकका उपाध्यक्षको नेपाल भ्रमण


काठमाडौं । दक्षिण एसियाका लागि विश्व बैंकका उपाध्यक्ष हार्टविग सेफरले कोभिड–१९ महामारीबाट उत्थानशील पुनर्लाभ प्राप्त गर्नका लागि नेपाललाई सघाउने प्रतिबद्धता दोहो-याउँदै सोमबार आफ्नो पाँच दिने नेपाल भ्रमण सम्पन्न गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा तथा अर्थमन्त्री जनार्दन शर्मासँग अलग–अलग भेट गर्दै उपाध्यक्ष सेफरले नेपालको कोभिड–१९ खोपको तीव्र विस्तार तथा आर्थिक पुनरूत्थानमा जोडसहितको कोभिड प्रतिकार्यको सह्राहना गरे । उक्त बैठकहरूले सुधार कार्यान्वयन तथा द्रुत लगानी र नेपालको दिगो विकासका लागि उच्च सहकार्यको महत्वलाई समेत जोड दिएका थिए ।

‘२०७२ सालको भूकम्पलगायतका विविध आघातहरूबाट थप सशक्तरूपमा माथि उठेको र कोभिड–१९ महामारीबाट पनि थप सबल पुनर्निर्माणका लागि एउटा स्पष्ट नीतिसहित काम गरिरहेको नेपाल वास्तवमै उत्थानशीलताको एउटा बलियो दृष्टान्त हो’, हार्टविग सेफरले भने, ‘विकासका लागि नेपालको साझेदार हुनुमा विश्व बैंक गर्व गर्छ र नेपालको हरित, उत्थानशील र समावेशी पुनरूत्थानका लागि हामी सरकार, विकास साझेदारहरु, निजी क्षेत्र, नागरिक समाज, र अन्य प्रमुख सरोकारवालाहरु मिलेर काम गर्न प्रतिबद्ध छौँ ।’

नेपालको हरित, उत्थानशील र समावेशी विकाससम्बन्धी गत ७ गते आयोजना गरिएको उच्च स्तरीय सम्मेलनको अवसरमा जारी गरिएको काठमाडौं घोषणापत्रमा हस्ताक्षर गर्न विश्व बैंक नेपाल सरकार र विकास साझेदारहरुको साथमा सहभागी भएको थियो । उक्त घोषणापत्रले ग्रिड भिजनप्रतिको नेपाल सरकारको प्रतिबद्धतालाई उजागर गर्दै सम्भावित प्राथमिकता लगानी, बजार प्रोत्साहन र नीतिहरु, संस्थागत कार्यलगायतका क्षेत्रहरू तथा ग्रिडतर्फको नेपालको यात्राका लागि आवश्यक सूचनाहरूसहित साझेदारहरूको सहयोगलाई एकताबद्ध गरेको छ ।

‘विकासको एक नयाँ आयामतर्फ लम्केकोमा म नेपालको प्रसंशा गर्न चाहन्छु, त्यो नयाँ आयाम नेपालको हरित, उत्थानशील र समावेशी विकासको खाका अर्थात् ग्रिड हो । ग्रिड अवधारणाले जनता, पृथ्वी र नेपालको अर्थव्यवस्थाका लागि छोटो, मध्यम, तथा दीर्घकालीन रूपमा फाइदा प्रदान गर्नेछ’, उपाध्यक्ष सेफरले भने, ‘नेपालको दिगो विकासलाई सुदृढीकरण गर्नका लागि काठमाडौं घोषणापत्रमा समर्थन र सहयोग गर्न पाउँदा विश्व बैंक निकै हर्षित छ ।’

प्रादेशिक मुख्यमन्त्रीहरु र मेयरहरु, र निजी क्षेत्रका प्रतिनिधिहरुसँगको पनि बैठकहरुमा पनि उपाध्यक्ष सेफर सहभागी भएका थिए । उनले प्रस्तावित माथिल्लो अरूण जलविद्युत् आयोजना निर्माणस्थल तथा प्रदेश नं १ मा ढल्केबर सबस्टेसनको पनि भ्रमण तथा अवलोकन गरे । विश्व बैंकले प्रस्तावित माथिल्लो अरूण जलविद्युत् आयोजनाको विकासका लागि तथा नेपाल–भारत उच्च भोल्युमको सीमापार विद्युत् व्यापारलाई सहजीकरण गर्नका लागि नेपालकै सबैभन्दा ठूलो ढल्केबर सबस्टेसनको लागि सम्भाव्यता अध्ययन कार्यमा सहयोग गरिरहेको छ ।

भ्रमणको अन्त्यमा सेफरले फेडरेसन इन्टरनेशनल दि अटोमोबाइल (एफआईए) तथा नेपाल अटोमोबाइल स्पोर्ट्स एसोसिएसनको साझेदारीमा सडक सुरक्षामा सचेतना बढाउने हेतुले आयोजित एक विशेष कार्यक्रममा भाग लिए । उक्त कार्यक्रमले राष्ट्रसंघद्वारा स्वीकृत हेलमेट प्रयोगका लागि पैरवी गरेको थियो । यी हेलमेटहरू दुईपांग्रे सवारी चालकहरूका लागि प्रमाणित तथा किफायती छन् । भौतिक पूर्वाधार र यातायात मन्त्रालयको साझेदारीमा हाल चलिरहेको सडक सुरक्षा अभियानको एक अंशको रूपमा सो कार्यक्रमको आयोजना गरिएको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया