Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारके होला चाडबाडमा अत्यावश्यक वस्तु र पेट्रोलियम पदार्थको आपूर्ति ?

के होला चाडबाडमा अत्यावश्यक वस्तु र पेट्रोलियम पदार्थको आपूर्ति ?


काठमाडौं । चाडबाड नजिकिँदै जाँदा सर्वसाधारणहरुमा दैनिक उपभोग्य वस्तुहरुको मूल्य बढ्ने र अभाव हुने समस्या वर्षेनी पाइन्छ । सोही भ्रमलाई चिर्दै सरकार तथा निजी क्षेत्रले यस वर्षको चाडबाडमा दैनिक उपभोग्य वस्तु र पेट्रोलियम पदार्थको अभाव नहुने बताएका छन् ।

चाडबाडमा कुनै पनि वस्तुहरुको अभाव नहुने तथा मूल्य समेत स्थिर रहने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । चाडबाड नजिकिँदै गर्दा दैनिक उपभोग्य सामग्री लगायत अन्य सामग्रीहरुको मागमा वृद्धि हुन्छ । त्यसलाई सन्तुलित गर्ने कार्यमा मन्त्रालय लागेको वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराईले बताए ।

‘दैनिक उपभोग्य सामग्रीको अन्य तुलनामा दशैँ, तिहार र छठ पर्वमा माग बढी हुन्छ । त्यसको आपूर्ति सहज गरिदिनु हाम्रो दायित्व । अभाव हुन नदिनलाई व्यवस्थापन गर्न सरकारको दायित्व त्यो पूरा गर्छौँ’, उनले भने, ‘योसँगै चाडबाडमा माग बढी हुँदा अस्वाभाविक मूल्यवृद्धि हुन जान्छ । त्यसैलाई समेत व्यवस्थित गर्ने काम मन्त्रलायको हो । यो वर्ष मूल्य व्यवस्थित गरिन्छ ।’

चाडबाडको सामग्रीहरुको मूल्य बढेको पाइने बताउँदै त्यो स्वाभाविक वा अस्वाभाविक हो भनी सन्तुलित गर्ने जिम्मेवारी आफूहरुको भएको बताए । ‘चाडबाडको समयमा उपभोक्ता र व्यापारीलाई सन्तुलनमा राखी हामीले बजार व्यवस्थित गर्नुपर्ने हुन्छ । यो कठिन छ तर हामीहरु आफ्नो जिम्मेवारी निर्वाह गर्न पछि पर्दैनौँ’, उनले भने, ‘चाडबाडमा मात्र होइन सामान्य समयमा पनि हामीले उपभोक्ता नठगिऊन् भनेर बजार अनुगमन निरन्तर गर्ने गरेको छौँ । त्यसैले चाडबाडमा मात्र बजार अनुगमन भयो भन्नु गलत हो । हाम्रा विभिन्न निकायमार्फत सदैव बजार अनुगमन निरन्तर गरिरहेका छौँ ।’

विभागका निर्देशक शिवराज सेढाईंले अहिले मात्र नभई बजार अनुगमन निरन्तर गरिरहेको बताए । ‘उपभोक्ता सचेत छन्, सरोकारवालाले हामीलाई घचघच्याएका छन्, हामीले आफ्ना कार्यलाई निरन्तरता दिएको हुनाले बजार स्थिर रहेको छ’, उनले भने, ‘व्यापारीले उपभोक्तालाई मारमा पार्दै आएका छन्, कोभिडको कारण क्रयशक्ति कम भएको समयमा हामीले बजार व्यवस्थित गरेर चाडपर्व सहज बनाउनु जरुरी छ ।’

उनले अघि भने, ‘चाडबाडको समयमा आवश्यक पर्ने सामग्रीको मूल्य संयोजन गर्दै व्यापारी र उपभोक्ताबीच घनिष्ठ सम्बन्ध हुनु जरुरी छ । यसमा दुवै पक्षले ध्यान दिनु आवश्यक छ ।’

निर्देशक सेढाईंले स्रोत नै सफा होस् भन्ने उद्देश्यले विभागले अनुगमन गरेको बताए । ‘उद्योग, प्रतिष्ठान, संस्था, व्यवसाय र व्यापारी नै सफा हुनुपर्छ भनेर अनुगमन गरिएको बताउँदै उनले कानुनले दिएको अधिकार प्रयोग गरी गलत भएमा व्यापारीलाई माफीभन्दा पनि कारबाही नै गर्ने बताए ।

‘अनुगमनको क्रममा साउन र भदौमा गरेर चार सय २४ वटा फर्ममा कैफियत भेटियो । हरेकजसो फर्ममा केही न केही कैफियत छ, त्यसलाई व्यवसायीहरुले सच्याउन आवश्यक छ’, उनले भने ।

चाडबाडका साथै अन्य समयमा पनि बजार अनुगमन भएको बताउँदै उनले अनुगमन कार्य गर्दा विभागको कार्य क्षेत्रको बारेमा समेत बुझिदिन अधिकारीकर्मीलाई आग्रह गरे । ‘अनुगमनका लागि स्थानीय तह, प्रदेशलाई समेत अधिकार छ, हामीले मात्र अनुगमन गर्ने होइन त्यसैले गर्दा हाम्रो भूमिकामा प्रश्न नगर्दा राम्रो’, उनले भने, ‘गलत गरेको समयमा पनि विभागले मात्र कारबाही गर्न नसक्ने अवस्था छ । कानुन अभाव होला, क्षेत्र नपर्नेलगायतका समस्या छ, त्यो सबैले बुझ्न आवश्यक छ ।’

उनले व्यापारीहरुलाई खाने तेलको उचित मूल्य राख्न समेत आग्रह गरे । ‘सरकारी निकायले सोही तेल बेच्दा सस्तो र व्यापारीले बेच्दा बढी किन हुन गयो’, उनले व्यापारीलाई प्रश्न गर्दै भने, ‘त्यसैले उचित मूल्य राखेर बेच्नुहोस् । सचेत हुनुहोस् ।’

नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले चाडपर्वमा पेट्रोलियम पदार्थ (डिजेल, पेट्रोल) को अभाव नहुने बताए । ‘हामीले स्थानीय प्रतिनिधिहरुसँग समन्वय गरी पेट्रोलियम पदार्थ वितरण गरिने एकप्रकारको सम्झौता भएको हुँदा कुनै पनि क्षेत्रमा अभाव नहुने उनको भनाइ छ ।

आयल निगमका निर्देशक वीरेन्द्र गोइतले पेट्रोलियम पदार्थको आपूर्ति सहज हुँदा अभाव नहुने बताए । ‘७९ प्रतिशत पेट्रोलियम पदार्थ मौज्दात रहेको छ । डिजेल बढी अर्थात् ६० प्रतिशत खपत हुने गरेको छ । नियमित आयात भइरहेको छ भने पेट्रोलियम पदार्थ पाइपलाइनमार्फत आएको हुँदा चाडपर्वमा अभाव हुँदैन’, उनले भने, ‘पेट्रोलियम डिपोहरुमा २४ घण्टा वितरण गर्नसक्ने हाम्रो क्षमता छ । आपूर्ति बन्द भए पनि अभाव हुनेछैन ।’

कृषि विभागले कृषिजन्य उपजहरुको मूल्य चाडपर्वमा बढ्ने हुँदा नियमित अनुगमन गरिने जनाएको छ । विभागका सूचना अधिकारी डा. महादेव प्रसाद पौडेलले यतिखेर कृषि उपजहरुको मूल्य बढ्न नदिन मुलुकभर रहेको १० वटा कार्यालयलाई नियमित अनुगमन गर्नका लागि पत्राचार गरेको बताए । उनले आफूहरु पनि वाणिज्य विभागको सदस्य भएको हुँदा बजार अनुगमनको क्रममा सँगै गएर सहयोग गर्ने गरेको तथा आपूर्ति व्यवस्था र मूल्यको बारेमा जानकारी लिएर बजार व्यवस्थित गर्न सदैव लागेको बताए ।

उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले बजार व्यवस्थित हुन नसक्दा उपभोक्ता मारमा परेको बताए । ‘बजार स्वच्छ उपभोक्तामैत्री छैन । यसलाई व्यवस्थित राख्न सरकारी निकायको भूमिका हुन्छ त्यसलाई निर्वाह गर्नु जरुरी छ’, उनले भने, ‘उपभोक्ता हितको लागि ऐन छ, त्यसको कार्यान्वयन गरी बजार व्यवस्थित गराउनु आवश्यक छ ।’

उनले सरकारी अधिकारीहरुले तथ्यांक संकलन गरी माग र आपूर्तिबीच सन्तुलन मिलाउनुपर्ने बताए । यस्तै अर्को उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जनले दाल, चिनी, चामललगायतका सामग्री अभावको हल्ला सिर्जना गराएर उपभोक्तालाई मारमा पार्ने काम समेत बन्द गर्नुपर्ने बताए ।

यस्तै नेपाल उद्योग वाणिज्य महासंघ र चेम्बर अफ कमर्सका अधिकारीहरुले भने त्रासपूर्ण अनुगमन गर्न नहुने बताए । अनुगमन टोली आउँछ भने पछि डराउनुपर्ने केही न केही कारबाही गर्ने व्यवसायीमा डर हुन्छ, नियतवश गल्ती गरेमा कारबाही र भूलवश गल्ती गरेमा सच्याउन मौका दिनुपर्ने उनीहरुले माग गरे ।

उनीहरुले अस्वाभाविक मूल्यवृद्धि गर्ने नगरेको दाबी गरे । भूपरिवेष्ठित मुलुक भएको कारण आपूर्ति गर्दा नै सामग्रीहरुको मूल्य बढ्ने उनीहरुको भनाइ छ । चाडपर्वमा खाना पकाउने ग्यासको अभाव नहुने बताइएको छ । सरकारी तथा निजी अधिकारीहरुले दैनिक उपभोग्य सामग्री तथा पेट्रोलियम पदार्थ र ग्यासको अभाव छैन भन्ने भ्रम चिर्नको लागि सोमबार काठमाडौंमा भएको बजार अनुगमन र सरोकारवालाको भूमिका अन्तर्क्रिया कार्यक्रममा सो भनाइ व्यक्त गरेका हुन् ।

चिनीको पर्याप्त मौज्दात : वाणिज्य तथा आपूर्ति सचिव दिनेश भटराईले चिनीको अभाव नहुने बताए । सरकार र निजी क्षेत्र गरेर करिब एक लाख २० मेट्रिक टन चिनी मौज्दात रहेको बताउँदै चाडपर्वमा चिनी अभाव नहुने बताए । एक वर्षको लागि दुई लाख ५० हजार मेट्रिक टनले धान्ने गरेको बताउँदै उनले साढे १७ हजार मेट्रिक टन चिनी आयात गरिएको तथा १० हजार मेट्रिक टन चिनी पाइपलाइनमा रहेको बताए ।

उनले तीन महिनालाई धान्ने चिनी मौज्दात रहेको बताए । सहरमा मात्र नभई दूरदराज गाउँमा समेत चिनीको अभाव नहुने बताउँदै उनले अभाव हुन नदिन सरकार लागिपरेको बताए । वाणिज्य तथा आपूर्ति विभागका महानिर्देशक प्रकाश पौडेलले चिनीलाई बढी प्राथमिकता दिएको कारण भ्रम सिर्जना भएको बताए । ‘चामाललाई भन्दा चिनीलाई बढी प्राथमिकता दियो अनि पाइँदैन भन्ने भ्रम सिर्जना भयो । चिनी पर्याप्त छ कहिले पनि अभाव हुँदैन’, उनले भने ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया