Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारविद्युत् नियमन आयोग र प्राधिकरणबाट भएका निर्णय सच्याउन आग्रह

विद्युत् नियमन आयोग र प्राधिकरणबाट भएका निर्णय सच्याउन आग्रह


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाललाई मंगलबार ऊर्जा मन्त्रालयमा भेटी जलविद्युत्को प्रचुर सम्भावना हुँदाहुँदै पनि उद्यमी व्यवसायीले लाभ लिन नसकिरहेको अवस्थामा विद्युत् नियमन आयोग र नेपाल विद्युत् प्राधिकरणका पछिल्ला निर्णयहरुप्रति गम्भीर ध्यानाकर्षण गराएको छ । दुवै निकायबाट भएका निर्णयहरु समग्रमा उद्योग व्यवसायलाई निरुत्साहित गर्ने हिसाबले आएकाले त्यसलाई तत्काल संशोधन गर्न महासंघले आग्रह गरेको छ ।

नियमन आयोगद्वारा यही भदौ ३० मा सार्वजनिक सूचना प्रकाशित गरी डिमान्ड शुल्क बढाउन सिफारिस गरेको थियो भने प्राधिकरणले लामो समयदेखि विद्युत् खरिद सम्झौता (पीपीए) रोकिराखेको अवस्था छ ।

डिमान्ड शुल्कवृद्धि हुँदा औद्योगिक लागत बढ्न गई आर्थिक गतिविधि संकुचित हुने हुँदा लक्षित आर्थिक वृद्धि र रोजगारी सिर्जनामा समेत प्रतिकूल असर पर्ने कुरा सो अवसरमा जानकारी गराइयो । महासंघले प्रतिस्पर्धी उत्पादन र रोजगारी सिर्जनाका लागि विद्युत् महशुल न्यून गरी अन्य शुल्क हटाउँदै जानुपर्ने माग गरिरहेको बेला आयोगले उद्योगहरुका लागि टीओडी मिटरमार्फत निश्चित समयमा विद्युत् महसुल बढी लिन पाउने सिफारिस समेत गरेबाट महासंघ आश्चर्यमा परेको छ ।

कोभिडको हालको विषम परिस्थितिमा डिमान्ड शुल्क वृद्धि र टीओडीमार्फत महसुल वृद्धिका लागि नियमन आयोगबाट गरिएको सिफारिस समयसापेक्ष देखिँदैन । त्यसैले डिमान्ड शुल्क र महसुल बढाउन सिफारिस कार्यान्वयन नगरी उद्योगहरुलाई सहुलियत दरमा विद्युत् उपलब्ध गराउन निर्देशन जारी गर्न समेत महासंघका तर्फबाट ऊर्जामन्त्रीसमक्ष अनुरोध गरियो ।

साथै २०७५ साल फागुनदेखि रोकी राखिएको पीपीए भौतिक पूर्वाधार भएका र ग्रिड सुनिश्चित भएका आयोजनाहरुको पहिचान गरी ती आयोजनाहरुसँग तत्काल पीपीए गर्न पनि सो अवसरमा अनुरोध गरिएको थियो । सो अवसरमा मन्त्री भुसालले महासंघका सुझावलाई आफूले अध्ययन गरी सक्दो सहयोग गर्ने विश्वास दिलाए ।

महासंघबाट गएको प्रतिनिधिमण्डलमा महासंघका उपाध्यक्षहरू दिनेश श्रेष्ठ, अन्जन श्रेष्ठ र रामचन्द्र संघई, ऊर्जा समितिका सभापति गोपाल खनाल, उद्योग समितिका सभापति भरतराज आचार्य, ऊर्जा समितिका सहसभापति शैलेन्द्र गुरागाईं, उद्योग समितिका सहसभापति सुशील थापा, महासंघका निमित्त महानिर्देशक गोकर्णराज अवस्थी रहेका थिए । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया