Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारश्री लालीगुराँस सहकारीको झूटमाथि झूटैझूट !

श्री लालीगुराँस सहकारीको झूटमाथि झूटैझूट !


काठमाडौं । सञ्चालकहरुको चरम लापरबाहीका कारण ललितपुरको पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था धराशायी मात्रै बनेको छैन, सहकारीको केन्द्रीय कार्यालय नै बन्द हुने अवस्थामा पुगेको छ । सहकारीका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीले विभिन्न किर्ते अभियोगसहित उपत्यकाका नेवार समुदायको ऐतिहासिक समय् फल्चाविरुद्ध विभिन्न अदालतमा पटक–पटक मुद्दा दायर गर्दा यस्तो अवस्था सिर्जना हुनपुगेको हो ।

सर्वोच्च अदालतको आदेश तथा फैसलाका आधारमा ऐतिहासिक समय् फल्चा निर्माण गर्ने ललितपुर महानगरपालिकाको अभियानविरुद्ध भण्डारीले विभिन्न अदालतमा मुद्दा हालेर अवरोध गरेका थिए । तर, उनको अवरोध नै झूटो साबित भएपछि अदालतबाट उनी पराजित भइसकेका छन् । सहकारीले अदालतमा झूटो मुद्दा दायर गरेको, ललितपुरका नेवार समुदायको भावनामा खेलबाड गरेको विषयमा आर्थिक दैनिकलगायत सञ्चारमाध्यमले समाचार प्रकाशित गरेपछि सहकारीका सञ्चालकहरुले झूटको सहारा लिएर बचाउमा उत्रिएका छन् ।

सहकारीका सञ्चालक समिति अध्यक्ष अमरदास श्रेष्ठले सहकारीले गरेको बदमासीको ढाकछोप गर्र्दै पटक–पटक विज्ञप्ति निकालेका हुन् । मंगलबार श्रेष्ठले फल्चा निर्माणपछि सहकारी समस्याग्रस्त भएको र मूल प्रवेशद्वार नै बन्द भएका कारण कारोबारमा समस्या भएको स्वीकार गरेका थिए ।

बुधबार फेरि श्रेष्ठले अर्को विज्ञप्ति निकाल्दै आर्थिक दैनिक र एक अनलाइनमा प्रकाशित समाचारलाई झूटो भन्दै फर्जी अफवाह फैलाइएको छ । कित्ता नम्बर ३२७ मा ऐतिहासिक समय् फल्चा रहेको तस्बिर समेत हुँदाहुँदै सहकारीले फल्चा नै नभएको भन्दै जिल्ला अदालत ललितपुर, उच्च अदालत पाटन र सर्वोच्च अदालतमा झूटो मुद्दा हालेको थियो । तर, अदालतले आदेशमै सहकारीको झूटबारे उल्लेख गरेको छ ।

विभिन्न अड्डा अदालतलाई झूटो निवेदन दिएर गुमराहमा पार्ने क्रियाकलापमा सहकारीका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारी भए पनि झूटको रक्षाकवचमा अध्यक्ष श्रेष्ठ अघि सरेका छन् । श्रेष्ठ ललितपुरकै नेवार समुदायका भएका कारण नेवार समुदायलाई जुधाउने हिसाबले उनलाई यस्तो विज्ञप्ति निकाल्न बाध्य बनाएको स्रोतले जनाएको छ ।

ललितपुरको कुपण्डोल जावलाखेल सडक खण्डस्थित पुल्चोकमा रहेको २०६ वर्ष पुरानो समय फल्चा हडपेर श्री लालीगुराँस सहकारीले भवन निर्माण गरेको थियो । ललितपुर महानगरपालिकाले ऐतिहासिक फल्चा निर्माण थालेपछि भण्डारीले झूटो मुद्दा दायर गरेका थिए ।

पछिल्लो समय उच्च अदालत पाटनले फल्चा निर्माण गर्न आदेश दिएपछि फल्चा पुनर्निर्माण उपभोक्ता समितिले सहकारीको मूलढोका नै छेकेर बार लगाएको थियो । त्यसो त सहकारीले पूर्वतर्फ ढोका बनाउन नपाउने भएपछि मापदण्डविपरीत ढोका तथा सटर बनाएको पाइएको थियो । मापदण्डविपरीत भएका कारण समितिले ढोका नै छेकेर जस्ताले बारेको थियो । जस्ताले बारेपछि भण्डारीले आफ्ना कर्मचारी लगाएर प्रतिरोधमा उतारेका थिए । तर, स्थानीय पुल्चोकबासी नेवार समुदाय प्रतिरोधमा उत्रिएका थिए । उनीहरुको प्रतिरोधमा सहकारीका कर्मचारीको भागाभाग भएको थियो ।

प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा भएको वार्तामा भण्डारीले प्रवेश दिन अनुनय विनय गरेका थिए । उनको अनुनय अस्वीकार गरेका ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई सीडीओ घनश्याम उपाध्यायले अनुनय गरेका थिए । उपाध्यायकै अनुनयका कारण सात दिनका लागि सहकारी प्रवेशको ढोका खोलिएको छ । सात दिनपछि ढोका बन्द हुने भएका कारण बचतकर्ताहरु रकम झिक्न भीड लागेको बताइएको छ । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया