Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसेयर लगानीकर्ता अग्रवाललाई कारबाही माग गर्दै धितोपत्र बोर्डमा उजुरी

सेयर लगानीकर्ता अग्रवाललाई कारबाही माग गर्दै धितोपत्र बोर्डमा उजुरी


काठमाडौं । सेयर लगानीकर्ता दिपेन्द्र अग्रवाललाई कारबाही गर्न माग गर्दैै धितोपत्र बोर्डमा उजुरी दर्ता भएको छ । अग्रवालले सेयर बजार सुधारको लागि आन्दोलन गरेको बहानामा सेयरबजारमा चलखेल गरी आफ्नो अनुकूल हुुने गरी फाइदा लिन खोजेको भन्दै बोर्डमा उनीविरुद्ध उजुरी दर्ता भएको हो ।

बोर्ड स्रोतका अनुसार अग्रवालविरुद्ध कारबाहीको माग गर्दै बेनामी उजुरी परेको छ । विगत केही हप्तादेखि लगानीकर्ताको नाममा एक समूह आन्दोलन र सहमति भन्दै सेयर बजारमा उच्च चलखेल गर्दै आएको छ । ‘कहिले राष्ट्र बैंक, सेबोन त कहिले अर्थमन्त्री अनि कहिले अर्थमन्त्रीले गभर्नरलाई फोन गरे जस्ता आधारहीन विषयले समग्र नेप्सेले ठूलो उत्तरचढाव व्यहोरेको छ’, उजुरीमा भनिएको छ ।

दिपेन्द्र अग्रवालले अग्रसरता लिई बनाएको सो समूहको आक्रोश बजारबाट लाभ लिन नसकेको र आफूहरुले बनाएको योजनाअनुसार अरुलाई उच्च मूल्यमा सेयर बेच्न नसकेको स्पष्ट रुपमा देखिन्छ । अग्रवाल आफैँमा आक्रामक सट्टेबाजी हुन् । क्लबहाउसमा उनको थुप्रै व्यक्तिसँग भनाभन र झगडा परेको छ । यसरी बजारमा आन्दोलन र सहमति भन्दै उपयुक्त समयमा आफूसँग भएको ठूलो सेयर उच्च मूल्यमा बेच्न प्रयासरत मानिसहरुको डिम्याट एकाउन्ट छानबिन गरी ट्रेडिङ एकाउन्ट बन्द गरेर मात्र वार्ता र सहमतिमा आउन नेपाल धितोपत्र बोर्ड सञ्चालक समितिसमक्ष उजुरीकर्ताले माग गरेका छन् । अन्यथा पहुँच नभएका, आन्दोलनमा सहभागी नभएका सोझा लगानीकर्ता फस्ने निश्चित रहेको उजुरीमा उल्लेख छ ।

‘यता वार्ता सफल भयो भन्ने उता आफूसँग भएको सेयर धमाधम बेच्ने प्रवृत्ति कहिलेसम्म हावी हुन दिने ?’, उजुरीमा भनिएको छ, ‘साथै पछिल्लो समयमा धितोपत्र बोर्डले बजार सुधार र स्थायित्वको लागि गरेको कामहरुको स्वागत गर्दै धन्यवाद प्रकट गर्छ । आन्दोलनरत समूह र तिनका अगुवाले गरेका कुकार्य र विभिन्न सञ्चारमाध्यममा आएका समाचार यसै पत्र साथ संलग्न गरेर पठाएको छु । फेरि पनि उचित छानबिनसहित कारबाहीका लायक मानिसहरुलाई सजायको भागेदार बनाइयोस् । धन्यवाद।’


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया