Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबौद्धिक सम्पत्ति नक्कल गर्नेमा शतप्रतिशत स्वदेशी उत्पादन

बौद्धिक सम्पत्ति नक्कल गर्नेमा शतप्रतिशत स्वदेशी उत्पादन

नाम चलेका उद्योगीले समेत बौद्धिक सम्पत्ति नक्कल गर्छन् : निर्देशक घिमिरे


काठमाडौं । नेपालमा बौद्धिक सम्पत्ति नक्कल गर्ने प्रवृत्ति रोकिएको छैन । बौद्धिक सम्पत्ति नक्कल गर्नेमा शतप्रतिशत स्वदेशी उद्योगीहरु समेत रहेको पाइएको छ । पछिल्लो समयमा बौद्धिक सम्पत्ति नक्कल तथा चोरीमा कमी आए पनि रोकिन भने नसकेको उद्योग विभागले जानकारी दिएको छ । बौद्धिक सम्पत्ति अर्थात् विश्वमा लोकप्रिय र स्थापित उत्पादनको ट्रेडमार्क, पेटेन्ट तथा डिजाइन नेपाली उत्पादनकर्ता तथा उद्योगीहरुले नक्कल गर्ने प्रवृत्ति रहेको कानुन शाखाका निर्देशक एवम उपसचिव दिपक घिमिरेले आर्थिक दैनिकलाई बताए ।

‘बौद्धिक सम्पत्ति कुनै पनि संस्था, समुदाय वा व्यक्तिभित्र रहेको बौद्धिकता, सिर्जनात्मकता हुनुपर्ने । तर नेपालमा भने त्यसलाई बिर्सिएर नक्कल गर्ने प्रवृत्ति मात्र रहेको छ’, उनले भने, ‘बौद्धिक सम्पत्ति नक्कल गर्नेमा नाम चलेका उद्योगी समेत रहेको पाउँछौँ । लगानीकर्ता सदैव प्रमुख हुने हुँदा उद्यमीहरु नै नक्कल गर्नमा लागेका छन् जो स्वयं आफैँ बौद्धिक सम्पत्ति उत्पादन गर्न सक्षम छन् ।’

स्वदेशी उद्योगी तथा व्यवसायीहरुले ट्रेडमार्क, लोगो र पेटेन्ट तथा डिजाइन नक्कल गर्दा विभागसमक्ष विदेशीहरु उजुरी लिएर आउने गरेको पाइन्छ । सोही क्रममा आर्थिक वर्ष २०७७/०७८ मा बौद्धिक सम्पत्ति नक्कल गरेको भन्दै एक सय ७४ वटा उजुरी विभागमा परेको थियो । जसमध्ये सो वर्ष ५७ वटा छिनोफानो भएको थियो । छ सय ६७ वटा बौद्धिक सम्पत्तिसम्बन्धी विवाद भने कायमै रहेको छ ।

विभागमा ट्रेडमार्क, पेटेन्ट तथा डिजाइन दर्ता हुने गरेको छ । कुनै पनि उद्योग तथा व्यवसायीले ट्रेडमार्क, लोगो र पेटेन्ट तथा डिजाइन विभागसमक्ष दर्ता गरेपछि बुलेटिन प्रकाशन गर्छ । ९० दिनको समयसीमामा कसैले दाबी गर्न नआएमा दर्ता गर्नेलाई ट्रेडमार्क, पेटेन्ट तथा डिजाइन विभागले प्रदान गर्छ । नयाँ ट्रेडमार्क, लोगो र पेटेन्ट तथा डिजाइन दर्ता गर्ने प्रक्रिया निरन्तर चलिरहे पनि उजुरी आउने क्रम रोकिएको छैन । बजारमा उत्पादन आएपछि मात्र बौद्धिक सम्पत्ति नक्कल गरेको थाहा हुँदा दर्तापछि पनि उजुरी आउने गरेको विभागले जनाएको छ ।

विभागमा हालसम्म ५३ हजार ५३ वटा ट्रेडमार्क दर्ता भएका छन् जसमध्ये २८ हजार ८५ वटा स्वदेशी र २३ हजार एक सय ३७ वटा विदेशी रहेका छन् । यस्तै पेटेन्ट तथा डिजाइन एक सय ९५ वटा र पेटेन्ट ७६ वटा दर्ता भएका छन् । यसले के प्रस्ट पार्छ भने नेपालमा सबैभन्दा बढी ट्रेडमार्क नक्कल गर्ने गरेको पाइन्छ । आफ्नो उत्पादनलाई सजिलै बजार पाउनको लागि नेपाली उत्पादनकर्ताहरुले ट्रेडमार्क सबैभन्दा बढी नक्कल गर्ने गरेको उपसचिव घिमिरे बताउँछन् । उनले विदेशी लोकप्रिय ट्रेडमार्क, लोगो प्रयोग गर्दा प्रयोगकर्ताले छिटो विश्वास गर्ने हुँदा उत्पादित सामग्रीको बजारमा समस्या नहोस् भनेर त्यसो गरेको बताए ।

यस्तै चालू आर्थिक वर्षमा बौद्धिक सम्पत्तिसम्बन्धी सात सय २४ वटा उजुरी दर्ता भएकोमा ५७ वटा छिनोफानो भएको छ । आर्थिक वर्ष २०७६/०७७ मा सात सय १३ वटा बौद्धिक सम्पत्तिसम्बन्धी उजुरीमध्ये ३६ वटा छिनोफानो भएको थियो । सोही वर्ष पाँच सय ३६ वटा उजुरीको भने निर्णय हुनसकेन । त्यस्तै आर्थिक वर्ष २०७५/०७६ मा बौद्धिक सम्पत्तिसम्बन्धी आठ सय १३ वटा उजुरीमध्ये दुई सय ७७ वटा उजुरीको निर्णय भएको थियो । सोही वर्ष पनि पाँच सय ३६ वटा उजुरीको निर्णय हुन सकेन ।

बौद्धिक सम्पत्ति नक्कलपछि भने विदेशी उत्पादनकर्ताले विभागमा आएर उजुरी दिने गरेको पाइन्छ । उजुरी आएसँगै विभागले आफ्नो प्रक्रिया अघि बढाउने गरेको पाइन्छ । उजुरी आएसँगै सो विषयमा अनुसन्धान तथा निर्णय गर्ने अधिकार भने विभागको महानिर्देशकलाई दिएको छ । नेपालमा बौद्धिक सम्पत्ति नक्कल तथा चोरी गरेमा कैद तथा जरिवाना गर्ने समेत अधिकारको व्यवस्था गरिएको छ । नेपालमा प्याटेन्ट, डिजाइन तथा टे«डमार्क ऐन, २०२२, प्रतिलिपि अधिकार ऐन, २०५९ तथा प्रतिलिपि अधिकार नियमावली, २०६१ प्रचलनमा रहेको छ । यसका साथै अन्तर्राष्ट्रिय सन्धि सम्झौताअनुरुप समेत विभागले कारबाही गर्ने गरेको पाइन्छ ।

नेपाल मात्र नभएर अविकसित तथा विकासशील राष्ट्रहरुले बौद्धिक सम्पत्तिको नक्कल गर्ने गरेको पाइन्छ । कारबाही प्रक्रिया अघि बढाए पनि नक्कल गर्ने प्रवृत्ति भने रोकिन कठिन भएको विभागले जनाएको छ । अहिले पनि सातामा १५/२० वटा बौद्धिक सम्पत्ति नक्कल गरेको भन्दै उजुरी आउने गरेको उनले आर्थिक दैनिकलाई बताए । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया