Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारलगानीमा रहेको पुनर्कर्जा एक खर्ब १८ अर्ब नाघ्यो

लगानीमा रहेको पुनर्कर्जा एक खर्ब १८ अर्ब नाघ्यो

एक लाख ११ हजार चार सय ७१ ऋणले लिए सहुलियतपूर्ण कर्जा


काठमाडौं । नेपाल राष्ट्र बैंकले सहुलियत दरमा प्रदान गर्दै आएको पुनर्कर्जा चालू आर्थिक वर्षको साउन मसान्तसम्ममा एक खर्ब १८ अर्ब ४९ करोड रुपैयाँ लगानीमा रहेको छ । यस अवधिमा एक लाख ११ हजार चार सय ७१ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भई एक खर्ब ७२ अर्ब १७ करोड कर्जा बक्यौता रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

सोमध्ये कृषि तथा पशुपक्षी व्यवसाय कर्जाअन्तर्गत ४८ हजार चार सय ९८ ऋणीलाई प्रवाह भएको एक खर्ब १२ अर्ब ७५ करोड कर्जा रहेको छ भने महिला उद्यमशील कर्जाअन्तर्गत ६० हजार तीन सय २२ महिला उद्यमीलाई प्रवाह भएको ५५ अर्ब ७९ करोड कर्जा रहेको छ । सहुलियतपूर्ण कर्जाका अन्य शीर्षकअन्तर्गत दुई हजार छ सय ५१ ऋणीको तीन अर्ब ६४ करोड कर्जा बक्यौता रहेको राष्ट्र बैंकले जानकारी दिएको छ । ‘व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७’ बमोजिम कोभिड–१९ प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यम क्षेत्रको व्यवसाय निरन्तरतामा सहयोग पु-याउन ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि व्यवस्था गरिएको कर्जा २०७८ साउन मसान्तसम्ममा एक अर्ब स्वीकृत भएको छ ।

राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७७/०७८ को लागि साधारणतर्फ ११ हजार दुई सय ९६ जनाको ऋणको लागि ९८ अर्ब ७५ करोड रुपैयाँ पुनर्कर्जा स्वीकृत भएको थियो । यसैगरी चालू आवको साउन मसान्तसम्ममा भने ११ जना ऋणाीको लागि एक अर्ब ११ करोड ७० लाख रुपैयाँ पुनर्कर्जा स्वीकृत भएको छ । आव २०७७/०७८ मा विशेष पुनर्कर्जाअन्तर्गत २०४० ऋणीको लागि १४ अर्ब ६२ करोड रुपैयाँ स्वीकृत भएको छ ।

चालू आवको साउन मसान्तमा भने यो शीर्षकअन्तर्गत तीन जना ऋणीको लागि ४५ करोड ५० लाख रुपैयाँ कर्जा स्वीकृत भएको छ । लघुु, घरेलु तथा साधा उद्यम शीर्षकअन्तर्गत भने आव २०७७/०७८ ३५ हजार पाँच सय ५४ जना ऋणीको लागि ३५ अर्ब ३८ करोड रुपैयाँ स्वीकृत भएको छ । राष्ट्र बैंकका अनुसार यी सबै गरी आव २०७७-०७८ सम्ममा कुल ४८ हजार आठ सय ९० जना ऋणाीको लागि एक खर्ब ४८ अर्ब ७५ करोड रुपैयाँ पुनर्कर्जा स्वीकृत भएको थियो । २०७८ साउन मसान्तमा भने कुल १४ जना ऋणीको लागि एक अर्ब ५७ करोड २० लाख रुपैयाँ पुनर्कर्जा स्वीकृत भएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

यसैगरी राष्ट्र बैंकले चालू आवको पहिलो महिनामा रिभर्स रिपोमार्फत २८ अर्ब ३५ करोड र निक्षेप संकलन उपकरणमार्फत ३१ अर्ब ६५ करोड गरी कुल ६० अर्ब तरलता प्रशोचन गरेको जानकारी दिएको छ । अघिल्लो वर्षको सोही अवधिमा रिभर्स रिपोमार्फत ६० अर्ब तरलता प्रशोचन भएको थियो ।

राष्ट्र बैंकका अनुसार चालू आवको पहिलो महिनामा रिपोमार्फत चार अर्ब छ करोड र स्थायी तरलता सुविधामार्फत ५५ अर्ब ५५ करोड गरी कुल ५९ अर्ब ६२ करोड तरलता प्रवाह गरिएको छ । यस अवधिमा राष्ट्र बैंकले विदेशी विनिमय बजार अर्थात् वाणिज्य बैंकहरुबाट अमेरिकी डलर पाँच करोड ९५ लाख खुद खरिद गरी सात अर्ब आठ करोड तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर ४३ करोड ५७ लाख खुद खरिद गरी ५२ अर्ब १९ करोड तरलता प्रवाह गरिएको थियो ।

यसैगरी चालू आवको पहिलो महिनामा अमेरिकी डलर ४२ करोड बिक्री गरी ५० अर्बबराबरको भारतीय रुपैयाँ खरिद भएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर ३२ करोड बिक्री गरी ३८ अर्ब ३७ करोडबराबरको भारतीय रुपैयाँ खरिद भएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

Open Photo


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया