Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसुरेन्द्र भण्डारीको अवरोधबीच ऐतिहासिक समय् फल्चा द्रुत गतिमा निर्माण

सुरेन्द्र भण्डारीको अवरोधबीच ऐतिहासिक समय् फल्चा द्रुत गतिमा निर्माण


काठमाडौँ । श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीको जालझेल बाबजुद पनि पुल्चोकस्थित ऐतिहासिक समय् फल्चा निर्माण कार्य द्रुत गतिमा अघि बढेको छ ।महानगरपालिकाले आफ्नो वार्षिक कार्यक्रमअन्तर्गत ३० लाख रुपैयाँ बजेट विनियोजन गरेर फल्चा निर्माण थालेको थियो । भण्डारीले विभिन्न अदालतमा सात पटकभन्दा बढी मुद्दा मामिला गरेर फल्चाको एक आना सात पैसा जग्गा खाने प्रपञ्च थालेका थिए । तर, ललितपुरबासी नेवार समुदायको प्रतिरोध र महानगरपालिकाको कानुनी लडाइँका कारण फल्चा निर्माण अघि बढेको छ ।

‘फल्चा निर्माण द्रुतगतिमा अघि बढेको छ । अब यो सहकारी नै यहाँबाट भाग्नुपर्ने हुन्छ । किनभने पूर्वतर्फबाट सहकारीले ढोका पाउनेछैन’, निर्माणस्थलमा रहेका ८० वर्षीय एक वृद्धले आर्थिक दैनिकसँग भने, ‘हामी पुल्चोकबासीको शानको रुपमा रहेको फल्चा कुनै पनि हालतमा बन्छ । अब कुनै शक्ति लागेर भत्किनेछैन । यदि सहकारीले फेरि जालझेल ग¥यो भने हामी यो सहकारीलाई नै यहाँबाट लखेट्छौँ ।’
फल्चा निर्माणमा सक्रिय पृथविन्दु महर्जनका अनुसार फल्चा निर्माण निकै द्रुतगतिमा भइरहेको छ ।

पछिल्लो समय फल्चा निर्माणमा अवरोध गर्ने भण्डारीको प्रयास समेत विफल भएको थियो । उनले उच्च अदालत पाटनमा आफ्नै ‘महिला मित्र’ सब्बु सिंह भण्डारीलाई प्रयोग गरेर मुद्दा हालेका थिए । उनको मुद्दाको प्रारम्भिक सुनुवाइमा फेरि फल्चा निर्माण कार्य रोक्न अन्तरकालीन आदेश दिएको थियो । तर, सर्वोच्च अदालत, उच्च अदालतकै यसअघिका फैसला र निर्णय लुकाएर निवेदन दिएको पाइएपछि उच्च अदालतले अन्तरकालीन आदेशलाई निरन्तरता दिनु नपर्ने आदेश गरेको थियो । उक्त आदेशपछि फल्चा निर्माण पुनः थाल्ने तयारी गर्दा भण्डारीले केही दिनअघि सहकारीकै कर्मचारीलाई अघि सारेर प्रतिरोध गराएका थिए । तर, ललितपुरका नेवार समुदाय उल्टिएपछि सहकारीका कर्मचारीको भागाभाग भएको थियो ।

घटनापश्चात् भागेर सीडीओ कार्यालय पुगेका भण्डारीले पूर्वतर्फको ढोकाबाट प्रवेशको वातावरण मिलाइदिन सीडीओ घनश्याम उपाध्यायसँग रोइकराइ गरेका थिए । भण्डारीकै रोइकराइका कारण सीडीओ उपाध्यायले सात दिनका लागि पूर्वतर्फको ढोकाबाट प्रवेशद्वार मिलाइएको छ ।
समय् फल्चा पुनर्निर्माण उपभोक्ता समितिका अध्यक्ष रोविन महर्जनका अनुसार गत असोज ११ गते सात दिनका लागि मात्रै अल्टिमेटम दिइएको थियो । उक्त अल्टिमेटम समेत सोमबार सकिएको छ । म्याद सकिए पनि उपभोक्ता समितिले बाटो भने बन्द गरेको छैन ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया