Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसिभिल ठगीमा संलग्न १२ जनाको विवरण सार्वजनिक

सिभिल ठगीमा संलग्न १२ जनाको विवरण सार्वजनिक


काठमाडौँ । पूर्वसांसद एवं सिभिल बैंक सञ्चालक समितिका अध्यक्ष समेत रहेका इच्छाराज तामाङको नेतृत्वमा संगठित रुपमा सिभिल सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेडमा ७० करोड रुपैयाँभन्दा बढी रकम घोटाला भएको भन्दै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले तामाङसहित १२ जनालाई पक्राउ गरेको छ ।

सीआईबीका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक श्याम कुमार महतोका अनुसार उक्त सहकारीमा बचत रकम जम्मा गर्ने एक सय ३७ जना पीडित बचतकर्ताहरुको उजुरीका आधारमा पूर्वसांसद समेत रहेका तामाङसहित १२ जनालाई पक्राउ गरिएको हो । प्रवक्ता महतोका अनुसार पक्राउ पर्नेहरुमा इच्छाराज तामाङ (सिभिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका पूर्वअध्यक्ष, पूर्वसभासद एवं सिभिल बैंकको अध्यक्ष), केशवलाल श्रेष्ठ (सञ्चालक समितिका अध्यक्ष), भगवान बहादुर सिंह (सहजकर्ता प्रबन्धक), मायोनानी महर्जन (जुनियर असिस्टेन्ट मेनेजर), एलिना तुलाधर (जुनियर असिस्टेन्ट मेनेजर), शंकर प्रसाद पाठक (जुनियर अधिकृत), संगीत श्रेष्ठ (असिस्टेन्ट), राकेश महर्जन (लेखा अधिकृत), बुद्धराज तामाङ (जुनियर सहायक प्रबन्धक), कौस्तुभ केतन ढुंगाना (जुनियर सहायक प्रबन्धक), विजय विक्रम शाह (सिभिल होम्सका वरिष्ठ प्रबन्धक) र हरिहर लामिछाने (पूर्व लेखा समिति सदस्य) रहेका छन् ।

एक सय ३७ जना पीडितहरुको उजुरीको आधारमा संगठित रुपमा सहकारी ठगी गरेको आरोपमा पक्राउ परेका सिभिल होम्समा इच्छाराज तामाङसहित १२ जनालाई पक्राउ गरिएको प्रहरी उपरीक्षक महतोले बताए । सिभिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका निक्षेपकर्ता सदस्यहरुले उक्त संस्थामा बचत तथा मुद्दती खाता खोली जम्मा गरेको रकमको सावाँ तथा ब्याज रकम बचत तथा मुद्दती खाताको अवधि पुगिसकेपछि खाताबाट रकम झिक्नको लागि पटक–पटक ताकेता गर्दा पनि फिर्ता नपाएकोले आफ्नो निक्षेप जोखिममा रहेको ठानी सम्बन्धित संस्थाका कर्मचारी तथा पदाधिकारीहरुलाई लामो समयदेखि पटक–पटक ध्यानाकर्षण गराएको खुलेको छ । यसरी ध्यानाकर्षण गराउँदा समेत नियमानुसार पाउनुपर्ने निक्षेप तथा सोको ब्याज रकम उपलब्ध गराइदिनेतर्फ आवश्यक पहल नगरेको तथा उक्त को–अपरेटिभ लिमिटेडमा रहेका सर्वसाधारणको बचतको ठूलो हिस्सा सहकारी ऐन, २०७४ र सहकारी नियमावली, २०७५ को प्रावधानविपरीत एकै व्यक्ति संस्थापक रहेको विभिन्न परियोजनाहरुमा लगानी गरेको देखिएको थियो ।

उक्त लगानीबाट प्राप्त लाभ चरम बेथितिका कारण संस्थाले प्राप्त गर्न नसकी उक्त को–अपरेटिभ जोखिममा रही सहकारी संस्थाबाट कर्जा लगानी भई सम्पन्न गरिएका विभिन्न परियोजनाहरुबाट निर्माण गरिएका संरचनाहरु बिक्री गर्दा प्राप्त रकम सहकारी संस्थामा नबुझाई विदेशी मुलुकमा समेत लगि सम्पत्ति शुद्धीकरणको कसुर गरेको हुनसक्ने हुँदा सहकारी ऐन २०७४ को दफा (१२२) बमोजिमको कसुर गरेको देखिन आएको जनाइएको छ ।

सोही कारण बचतकर्ताहरुको निक्षेप समेत जोखिममा परेको तथा आफ्नो जीवनभरको सानो–सानो बचतबाट संकलित पुँजी दैनिक उपभोग्य तथा स्वास्थ्य उपचारलगायतका अत्यावश्यक काममा प्रयोग गर्नबाट वञ्चित हुनुपरेको कारण विभिन्न एक सय ३७ जना पीडित बचतकर्ताहरुले उक्त को–अपरेटिभको बचत तथा मुद्दती खातामा रहेको कुल ७० करोड ८७ लाख १३ हजार आठ सय २१ रुपैयाँ ३२ पैसा रकम संगठित रुपमा सहकारी ठगी गरेको आरोपमा संलग्न व्यक्तिहरु पक्राउ गरी आवश्यक कानुनी कारबाही प्रक्रिया सुरु गरेको प्रहरी उपरीक्षक महतोको भनाइ छ ।

प्रवक्ता प्रहरी उपरीक्षक महतोले अन्य निक्षेपकर्ता तथा सर्वसाधारणहरुले उक्त को–अपरेटिभबाट निक्षेप तथा ब्याज रकम नपाएको भए कानुनबमोजिम आवश्यक थप कारबाहीको लागि समेत सीआईबीमा सम्पर्क गर्न आग्रह गरेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया