Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारशैक्षिक सुधारका लागि प्रधानाध्यापकसँग कार्यसम्पादन

शैक्षिक सुधारका लागि प्रधानाध्यापकसँग कार्यसम्पादन


महेन्द्र शाही
सोलुखुम्बु्, माघ १५
शैक्षिक सुधारका लागि सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले प्रधानाध्यापकहरूसँग कार्यसम्पादन सम्झौता गरेको छ । सामुदायिक विद्यालयको सवलीकरणका लागि मुक्लीमा आयोजित शिक्षा सम्मेलनको अवसरमा गाउँपालिकाले ५२ सामुदायिक विद्यालयका प्रध्यानाध्यापकसँग कार्यसम्पादन सम्झौता गरेको हो । सोमबार गरिएको सम्झौतामा एक महिना, ६ महिना र एक वर्ष भित्र गाउँपालिका र प्रध्यानाध्यापकले गर्नुपर्ने कामको फेयरिस्त उल्लेख गरिएको छ ।

२०७७ माघ मसान्तसम्मको अवधिमा सम्झौतापत्रमा उल्लेख बुँदाहरू कार्यान्वयनमा ल्याइसक्नुपर्ने प्रावधान राखिएको छ । एक महिनाभित्र प्रध्यानाध्यापकहरूले आफ्नो विद्यालयलाई पूर्ण सरसफाइ विद्यालय घोषणा गर्नुपर्ने, विद्यालयमा रहेका भौतिक संरचना, प्रयोगशाला, कम्प्यूटर ल्याव, पुस्तकालयको उचित प्रयोग गर्ने, शिक्षक, विद्यार्थी, अभिभावक आचारसंहिता निर्माण गरी लागू गर्नुपर्नेछ भने पठनपाठन र अतिरिक्त क्रियाकलापको योजना बनाई कार्यान्वयन सुरु गर्नुपर्ने, पोशाक अनिवार्य गर्ने, शिक्षकको कार्यविभाजन गर्ने, सहायक प्रध्यानाध्यापक नियुक्ति गर्नेलगायतका काम गरिसक्नुपर्ने सम्झौतापत्रमा उल्लेख गरिएको छ ।

छ महिनाभित्र गर्नुपर्ने गरी सम्झौतामा विद्यालय सुधार योजना निर्माण गरी लागू गर्ने, व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र अभिभावकको भेला चौमासिक रूपमा डाक्ने र सार्वजनिक सुनुवाइ गर्ने, हरेक महिना स्टार्फ मिटिङ, हरेक २ महिनामा शिक्षक अविभावक संघको मिटिङ र विद्यालयको प्रगति विवरण गाउँपालिकामा बुझाउने, विद्यालयमा मद्यपान तथा धुम्रपानलाई बन्देज लगाउनेलगायतका काम गर्नुपर्ने गरी प्रध्यानाध्यापकसँग सम्झौता गरिएको प्रमुख प्रशासकीय अधिकृत अविलाल राईले जानकारी दिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया