Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकोशी करिडोर २२० केभी प्रसारण लाइनको पहिलो खण्ड निर्माण सकियो

कोशी करिडोर २२० केभी प्रसारण लाइनको पहिलो खण्ड निर्माण सकियो


धनकुटा । कोशी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत पहिलो प्याकेजको प्रसारण लाइन निर्माणसम्पन्न भएको छ । पहिलो प्याकेजअन्तर्गत सुनसरीको इनरुवाबाट संखुवासभाको बसन्तपुर, बानेश्वर हुँदै तुम्लिङटारसम्मको २२० केभी डबल सर्किट टावर निर्माण गर्ने र टावरको एकतर्फ मात्रतार तान्ने कार्यसम्पन्न भएको हो ।

अनुमानित लागत ११ करोड २० लाख अमेरिकी डलर रहेको प्रसारण लाइन आयोजना नेपाल सरकारको लगानी र भारत सरकारले एक्जिम बैंक दिएका सहुलितपूर्ण ऋणमा निर्माण भएको हो । एक्जिम बैंकबाट आयोजनाका लागि नौ करोड अमेरिकी डलर सहुलितपूर्ण ऋण प्रवाह भएको छ । कोशी करिडोर प्रसारण लाइन आयोजनामार्फत तुम्लिङटारदेखि बसन्तपुरसम्म करिब एक हजार मेगावाट, ढुंगेसाँघु (ताप्लेजुङ) देखि बसन्तपुरसम्म करिब एक हजार मेगावाट र बसन्तपुरदेखि इनरुवासम्म करिब दुई हजार मेगावाट विद्युत् प्रसारण गर्न सकिन्छ ।

नेपाल विद्युत् प्राधिकरण र भारतीय एक्जिम बैंकद्वारा धनकुटाको हिलेमा गत सोमबार संयुक्त कार्यक्रम आयोजना गरी पहिलो प्याकेजअन्तर्गतको प्रसारण लाइन निर्माणसम्पन्न भएको घोषणा गरिएको हो । कार्यक्रममा एक्जिम बैंकका प्रतिनिधि विस्जजित गर्गले प्रसारण लाइन आयोजनाको पहिलो प्याकेज निर्माणसम्पन्न भएको साँचो ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव मधुप्रसाद भेटुवाल र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हस्तान्तरण गरेका थिए ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले प्रसारण लाइन निर्माणपछि प्रदेश नं १ मा विद्युत् प्रसारण तथा वितरणका लागि मेरुदण्ड तयार भएको बताए । कोशी करिडोर र कावेली करिडोर प्रसारण लाइनलाई लिंक गर्न लागिएको जानकारी दिँदै उनले आयोजनाअन्तर्गतका सबस्टेसनहरूको निर्माणसम्पन्न भएपछि यस क्षेत्रको विद्युत् आपूर्ति गुणस्तरीय हुने बताए । ऊर्जा मन्त्रालयका सहसचिव भेटुवालले प्रसारण लाइनको निर्माणबाट अरुण र तमोर जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् ग्राहकसम्म पु-याउन पूर्वाधार तयार भएको बताए ।

प्रधिकरणले कोशी कोरिडोरमा निजी तथा सरकारी तवरमा निर्माण हुने जलविद्युत् आयोजनाहरूको वर्तमान कार्य प्रगति तथा भावी योजनालाई मध्यनजर आयोजनाहरूवाट उत्पादन हुने विद्युत् प्रसारणको लागि सो लाइनको दोस्रो सर्किटको तार तान्ने कार्य र सम्बन्धित सबस्टेसनहरूमा २२० केभी लाइन तथा पावर ट्रान्सफरमरहरूको क्षमता विस्तार गर्ने योजना बनाएको छ । आयोजनाको प्रथम चरणको कार्यको लागि जस्तै दोस्रो चरणको निर्माण कार्य अर्थात् दोस्रो सर्किट तार तान्ने र सम्बन्धित सबस्टेसनहरूको क्षमता विस्तारको लागि आवश्यक अनुमानित लागत ४० मिलियन अमेरिकी डलर नेपाल सरकारमार्फत प्राधिकरणलाई लगानी जुटाइदिने सम्बन्धमा भारतीय एक्जिम बैंकलाई पत्राचार गरिसकेको छ ।

प्रसारण आयोजना तीनवटा प्याकेजमा विभाजन गरी निर्माण गरिएको छ । पहिलो प्याकेजमा इनरुवा–तुम्लिङटार प्रसारण लाइन, दोस्रो प्याकेजमा तीनवटा सबस्टेसन र तेस्रो प्याकेजमा तेह्रथुमको वसन्तपुरको ताप्लेजुङको ढुंगेसाँघुसम्म प्रसारण लाइन तथा सबस्टेसनको निर्माण गर्ने रहेको छ । अरुण र तमोर नदी र तिनीहरूका सहायक नदीहरूबाट उत्पादन हुने विद्युत्लाई राष्ट्रिय प्रसारण ग्रिडमा आबद्ध गर्न निर्माणाधीन कोशी करिडोर नेपालको हालसम्मको सबभन्दा लामो दूरीको २२० केभी प्रसारण लाइन हो ।

एक नम्बर प्रदेशका भोजपुर, संखुवासभा, तेह्रथुम र ताप्लेजुङमा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्न कोशी करिडोरको निर्माण गरिएको हो । प्याकेज १ को निर्माण भएको छ भने २ र ३ को क्रमशः ८०–७० प्रतिशत निर्माण सकिएको छ । प्राधिकरणले निजी क्षेत्रका २८ आयोजनाको पाँच सय १६ मेगावाट विद्युत् यही प्रसारण लाइनमा जोड्ने गरी विद्युत् खरिद सम्झौता (पीपीए) गरिसकेको छ । ती आयोजना निर्माणको विभिन्न चरणमा छन् ।

आयोजनाको दोस्रो प्याकेजअन्तर्गतका संखुभासभाको बानेश्वर तथा तुम्लिङटार र वसन्तपुरमा २२०/१३२/३३ केभीका तीनवटा सबस्टेसनहरू र इनरुवा सबस्टेसनमा ‘बे एक्सटेन्सन’को काम अन्तिम चरणमा छन् । आयोजनाको सम्पूर्ण कार्य मार्च २०२२ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । इनरुवामा अहिले २२० केभीको सबस्टेसन निर्माणाधीन छ । उक्त सबस्टेसन निर्माण पूरा नहुन्जेलसम्मका लागि इनरुवा–वसन्तपुर–तुम्लिङटार प्रसारण लाइनलाई अस्थायी रूपमा ३३ केभीमा चार्ज गरी सञ्चालनमा ल्याइएको छ ।

संखुवासभाको किटिंगीडाँडादेखि सुनसरीको धरानसम्म ६६ किमि प्रसारणलाई गत भदौ २ गते ३३ केभीमा चार्ज गरिएको हो । प्याकेज २ अन्तर्गत सबस्टेसनहरूको निर्माण र नेपाल–भारत विद्युत् प्रसारण तथा व्यापार आयोजनाबाट निर्माणाधीन २२०/१३२/३३ केभी इनरुवा सबस्टेसन सम्पन्न गरी इनरुवा–वसन्तपुर–वानेश्वर –तुम्लिङटार प्रसारण लाइनलाई डिसेम्बर, २०२१ सम्ममा २२० केभीमा चार्ज गर्ने लक्ष्यका साथ काम भइरहेको छ ।

हाल ३३ केभीमा चार्ज गरिएको प्रसारण लाइनमार्फत भोजपुर, संखुवासभा र तेह्रथुममा निजी क्षेत्रका आयोजनाबाट उत्पादित विद्युत् प्रवाह गरिएको छ । तिरतिरे–बसन्तपुर–धनकुटा–धरान ३३ केभी प्रसारण लाइनको क्षमताले नपुग्दा भोेजपुर, संखुवासभा र तेह्रथुममा सञ्चालित आयोजनाहरू वर्खाको समयमा पूर्ण क्षमतामा चल्न सकिरहेका थिएनन् । आयोजनाहरूको जडित क्षमता करिब ३३ मेगावाट छ ।

संखुवासभाको तिरतिरेमा अहिले रहेको ३३ केभी लाइनलाई कोशी करिडोर प्रसारण लाइनमा जोडी सुनसरीको धरान उपमहानगरपालिका–१७ स्थित चतरा–धरान ३३ केभी लाइनमा ल्याइएको छ । करिडोरको पहिलो प्याकेजको इनरुवा–वसन्तपुर–वानेश्वर–तुम्लिङटार २२० केभी प्रसारण लाइन निर्माण गर्न भारतीय कम्पनी कलपत्रु पावर ट्रान्समिसन लि. २५ फेब्रुअरी २०१६मा ठेक्का सम्झौता गरिएको थियो । ठेक्का सम्झौता १४ जुन २०१६ मा कार्यान्वयमा आएको थियो । पहिलो प्याकेजको अनुमानित लागत तीन करोड ७३ लाख डलर (करिब चार अर्ब) छ ।

दोस्रो प्याकेजअन्तर्गत इनरुवा, वसन्तपुर, वानेश्वर र तुम्लिङटारमा २२०/१३२/३३ केभीको सबस्टेसन निर्माणका लागि भारतीय कम्पनी एल एन्ड टीसँग ११ जुलाइ २०१८ मा ठेक्का सम्झौता भएको थियो । सबस्टेसको निर्माण मार्च २०२२ भित्र सक्ने लक्ष्य राखिएको छ । यो प्याकेजको अनुमानित लागत दुई करोड ५३ लाख डलर (करिब दुई अर्ब ९१ करोड) छ । तेस्रो प्याकेजमा वसन्तपुर–ढुंगेसाँघु ३५ किलोमिटर प्रसारण लाइन निर्माणाधीन छ । एक सय ३२ वटा टावर निर्माण गर्नुपर्ने यस खण्डको काम आगामी माघभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यो प्रसारण लाइनलाई १३२ केभीमा चार्ज गरिनेछ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया