Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअर्थमन्त्री शर्मा र गभर्नर अधिकारीबीच चरम द्वन्द्व

अर्थमन्त्री शर्मा र गभर्नर अधिकारीबीच चरम द्वन्द्व


काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकर र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीच चरम द्वन्द्व सुरु भएको छ । विगतमा अर्थमन्त्री र गभर्नरबीच सम्बन्ध राम्रो भएजस्तो देखिए पनि पछिल्लो समय भने यी दुईबीचको द्वन्द्व सतहमा नै देखिएको हो ।

नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारी अहिले कोभिड १९ को संक्रमणबाट ग्रस्त भएका छन् । उनलाई कोरोना लागेको एक साता भइसकेको छ । तर यहीबीचमा अर्थमन्त्री शर्माले भने सेयर बजारमा देखिएको समस्या, तरलता अभाव, मुलुकको वर्तमान अर्थतन्त्रलगायतका विषयमा नेपाल राष्ट्र बैंकसँग जवाफ माग गरेको छ । ‘तर गभर्नर अधिकारीले भने आफू कोभिड १९ बाट संक्रमित भएको बहाना बनाउँदै अर्थमन्त्रीले सोधेको कुुनै पनि प्रश्नको जवाफ अर्थ मन्त्रालयलाई दिएका छैनन् । यसले गर्दा पनि अर्थमन्त्री र गभर्नर अधिकारीबीचको सम्बन्ध चिसिएको पुष्टि हुन्छ’, राष्ट्र बैंक उच्च स्रोतले भनेको छ ।

विगतमा झण्डै ३२ सय अंकसम्म पुगेको सेयरबजार अहिले घटेर २६ सयको हाराहारीमा पुुगेको छ, यसरी सेयरबजार ओरालो लाग्दा लगानीकर्ताहरुले झण्डै आठ खर्ब रुपैयाँ गुुमाइसकेका छन्, यो अवस्था आउनुुको प्रमुुख कारण नै गभर्नर हुुन् । उनले चालू आर्थिक वर्षको मौद्रिक नीतिमा सेयर धितो अर्थात् मार्जिन लेन्डिङ शीर्षकमा लगाएको कर्जाको क्याप नै प्रमुुख कारण हो, सेयर लगानीकर्ताहरुले भनेका छन् । सेयर धितो कर्जामा लगाएको चारदेखि १२ करोड रुपैयाँ सीमाकै कारण सेयरबजार ओरालो लागेको भन्दै सेयबजारको यो ओरालो रोक्न लगानीकर्ताहरुले अर्थमन्त्री शर्मालाई ध्यानाकर्षण गराएका थिए । सो पश्चात् अर्थमन्त्री शर्माले सेयरबजारमा देखिएको वर्तमान समस्या तत्काल समाधान गरी आम लगानीकर्ताहरुको लगानीको सुरक्षाको प्रत्याभूति दिन गभर्नर अधिकारीलाई अर्थमन्त्री शर्माले आग्रह गरेका थिए ।

अर्थमन्त्रीको सोही आग्रहबमोजिम गभर्नर अधिकारीले यस विषयमा छलफल गरेर लगानीकर्ताहरुको समस्या समाधान गर्ने बताएका थिए । गभर्नर अधिकारीले अर्थमन्त्री शर्माले सेयरबजारमा देखिएको समस्या समाधान गर्छु भनेको पनि झण्डै एक महिना नाघिसक्यो, तर सेयर बजारको अवस्था जस्ताको त्यस्तै छ, उल्टै अहिले वित्तीय प्रणालीमा तरलताको अभाव देखिएको छ, डलरको सञ्चिति घटेको छ, यसको प्रमुख कारण नै गभर्नर अधिकारी हुुन्, स्रोतले भनेको छ ।

‘वित्तीय प्रणालीमा देखिएको यही असन्तुलन र यसलाई समाधान गर्नको लागि अझैसम्म ठोस कदम नचालेकै कारण अर्थमन्त्री शर्मा गभर्नर अधिकारीसँग रुष्ट भएका हुन सक्छन्’, स्रोतले भनेको छ । विगतमा अर्थमन्त्रीले दिएको सुझावका विषयमा गभर्नर अधिकारी अलि बढी नै रेपेर गएका कारण पनि यो समस्या उत्पन्न भएको हुुनसक्ने दाबी स्रोतले गरेको छ । गभर्नरले अर्थमन्त्रीबाट आफू असुरक्षित भएको ठानेको र अर्थमन्त्रीले पनि आफ्नो लागि गभर्नर अधिकारी असहयोगी ठानेकै कारण दुई शक्तिकेन्द्रबीच चरम द्वन्द्व सुरु भएको दाबी स्रोतले गरेको छ । ‘त्यही कारण पनि अहिले वित्तीय प्रणालीमा धेरै समस्या देखिएको हो’, स्रोतले भनेको छ । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया