Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसबैखाले घरेलु उपकरण विद्युत्बाट चलाउने गरेर संरचना निर्माण गर्न आग्रह

सबैखाले घरेलु उपकरण विद्युत्बाट चलाउने गरेर संरचना निर्माण गर्न आग्रह


काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले सबैखाले घरेलु उपकरण विद्युत्बाट चलाउने गरेर संरचना निर्माण गर्न आग्रह गरेकी छन् । ललितपुरको महालक्ष्मी उद्योग वाणिज्य संघले विजयादशमी, दीपावली, नेपाल संवत् ११४२ तथा छठ पर्वका उपलक्ष्यमा आइतबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले एक वर्षभित्र एलपी ग्यास विस्तापित गर्नेगरी विद्युतीय चुलो प्रयोग गर्न आग्रह गरेकी हुन् ।

लोडसेडिङका समयमा सबैभन्दा कम विद्युत् खपत गर्ने संरचना निर्माण गरिएको उल्लेख गर्दै उनले बत्ती मात्र बाल्नका लागि बनाइएका संरचनामा सबैखाले उपकरण विद्युत्बाट चलाउन नसक्ने अवस्था पनि हुन सक्ने बताइन् । ‘अब विद्युत्को चुलो बाल्ने गरी संरचना निर्माण गर्दै जाऔँ, आफ्नै देशको जलविद्युत्को अधिकतम प्रयोग गरौँ’, उनले भनिन् । उनले सामाजिक एवं आर्थिक रूपान्तरणको आधार भनेको ऊर्जा, सडक र खानेपानीको उपलब्धताबाट हुने बताउँदै सबै खाले ऊर्जाका स्रोतलाई विस्थापित गरेर जलविद्युत्को प्रयोगतर्फ अगाडि बढ्नुपर्ने समय आएको उल्लेख गरिन् ।

मन्त्री भुसालले आगामी दिनमा यातायात र उद्योगीले मागेजति विद्युत् उपलब्ध गराइने प्रतिबद्धता समेत व्यक्त गरिन् । यस्तै सबै ठाउँमा ऊर्जाका रूपमा जलविद्युत्को प्रयोग गर्न आग्रह गरिन् । स्वदेशी विद्युत् खपतलाई बढवा दिने उद्देश्यले आफूले मन्त्रालय सम्हालेपछि महसुल दरमा कमी गरेको उनको भनाइ छ । उनले भनिन्, ‘खास गरेर घरायसी प्रयोजनमा त्यस्तो निर्णय भएको छ । अब एलपी ग्यासभन्दा विद्युतीय चुलो सस्तो हुन्छ ।’

मन्त्री भुसालले गरिबीको रेखामुनि रहेका नेपाली जनतालाई निःशुल्क विद्युत् उपलब्ध गराउने निर्णय गरेको जानकारी दिँदै आफ्नो निर्णयले ग्रामीण जनताका लागि महत्वपूर्ण योगदान पुग्ने बताइन् । कृषि क्षेत्र मुलुकको आर्थिक आधार भएको उल्लेख गर्दै उनले खेतीयोग्य जमिनमा सिँचाइ पु-याउने र त्यसका लागि आवश्यक पर्ने विद्युत्मा सहुलियत दिने नीतिलाई आफूले बढवा दिएको स्पष्ट पारिन् । सबै खेतीयोग्य जमिनमा सिँचाइ पु-याउन सके उत्पादन र उत्पादकत्व बढ्ने भन्दै उनले वार्षिक दुई खर्बको कृषिजन्य आयात न्यूनीकरण गर्न मद्दत पुग्ने बताइन् । यसले व्यापारघाटा कम भई देशको आर्थिक एवं सामाजिक क्षेत्रमा योगदान दिने उनको भनाइ छ ।

यस्तै कार्यक्रममा उनले महालक्ष्मी नगर कपडा उद्योगले परिचित क्षेत्र भएको उल्लेख गर्दै उनले यस क्षेत्रमा टेक्स्टाइल उद्योगका रूपमा विकास गर्न आग्रह गरिन् । उनले त्यसका लागि आफूले नीतिगत तहबाट सक्दो सहयोग गर्ने विश्वास दिलाइन् । कार्यक्रममा उद्योेग वाणिज्य संघका अध्यक्ष सञ्जयनारायण श्रेष्ठले नगरभित्रको अव्यवस्थित विद्युतीय पोलको व्यवस्थापन र विद्युतीय संरचना सुधारमा सहयोग गर्न आग्रह गरेका थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया