Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारपोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सन्तोषजनक

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सन्तोषजनक

हालसम्म ८५ प्रतिशत निर्माणकार्य सम्पन्न


पोखरा । प्रधानमन्त्री शेरबहादुर देउवाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणकार्य सन्तोषजनक रहेको बताएका छन् । पोखरा महानगरपालिका–१४ छिनेडाँडामा निर्माणाधीन विमानस्थलको सोमबार निरीक्षण गर्दै उनले निर्माण कार्यप्रति सन्तुष्टि जनाएका छन् ।

प्रधानमन्त्री देउवाले विमानस्थल सञ्चालनमा ल्याउन समस्याका रूपमा रहेको विमानस्थलको दक्षिणतर्फ रिट्ठेपानी डाँडा काट्ने काम अघि बढाउन सरकारले सहजीकरण गर्ने समेत बताए । प्रधानमन्त्री देउवालाई पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना निर्देशक प्रदीप अधिकारीले हालसम्मको भौतिक प्रगति तथा निर्माणका क्रममा आइपरेका समस्याका बारेमा जानकारी गराएका थिए । अधिकारीका अनुसार विमानस्थलको हालसम्म ८५ प्रतिशत निर्माणकार्य सम्पन्न भएको छ ।

पूर्ववत् सम्झौताअनुसार गत साउनमा सम्पन्न हुनुपर्ने उक्त आयोजना विश्व्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण निर्धारित समयमा पूरा हुन नसकेको हो । विमानस्थल आयोजना प्रमुख विनेश मुनकर्मीले आयोजनाको म्याद एक वर्ष थप भएकाले यस अवधिमा सबै काम सम्पन्न भएर विमानस्थल सञ्चालनमा ल्याउने तयारी रहेको उनले जानकारी दिए । विमानस्थलको दुई हजार पाँच सय मिटर लामो धावनमार्ग (रनवे) गत वर्ष नै सम्पन्न भएको थियो । टर्मिनल भवन, एटीसी टावर, ह्यांगरलगायतका १४ वटा भवन निर्माणकार्य सम्पन्न भएर साजसज्जा र विद्युत् तथा उपकरण जडान गर्ने काम भइरहेको छ ।

यसैगरी ट्याक्सी–वे, ह्यांगर, एप्रोन, पार्किङ निर्माणलगायतका काम सम्पन्न भएको आयोजनाले जनाएको छ । विमानस्थलको मुख्य प्रवेशद्वारको सडक निर्माण सम्पन्न भएर सडकको बीच भागमा सडक बत्ती जडान गरिएको छ । जग्गा अधिग्रहणको ९९ प्रतिशत कार्य सकिएको छ । विमानस्थल तीन हजार आठ सय ९९ रोपनी क्षेत्रफलमा फैलिएको छ । २२ अर्ब रुपैयाँको लगानीमा चीनको सीएएमसी इन्जिनिरिङ कम्पनीले विमानस्थल निर्माण गरिरहेको छ । विमानस्थलका लागि विसं २०३१ मा छिनेडाँडाको तीन हजार एक सय रोपनी जमिन अधिग्रहण गरिएको थियो । प्रधानमन्त्रीको निरीक्षणका क्रममा आयोजनाका तर्फबाट रिट्ठेपानी डाँडा कटान, ल्यान्डफिल साइट र आयल निगमको डिपो निर्माण आदि काममा ढिलाइलगायतका विषयमा बुँदागतरूपमा जानकारी गराइएको आयोजना प्रमुख मुनकर्मी बताए ।

‘एप्रोचमा पर्ने रिठेपानी डाँडा कटान, ल्यान्डफिल साइट र आयल डिपो वर्षातको समयमा नहरको पानीको समस्या समाधान गर्न ठोसरूपमा काम अघि बढ्न सकेको छैन, यसका सम्बन्धमा प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएका छौँ’, उनले भने । निरीक्षणका क्रममा गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति व्यवस्था मन्त्री मणिभद्र शर्मा कँडेल, भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रीकुमार खड्का, शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठ, कास्की कांग्रेसका सभापति कृष्ण केसीलगायतको उपस्थिति थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया