Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारदलीय भागबण्डामै विराटनगर भन्सार र आराकामा नयाँ प्रमुखको पदस्थापन

दलीय भागबण्डामै विराटनगर भन्सार र आराकामा नयाँ प्रमुखको पदस्थापन


विराटनगर । संघीय सरकारमा हुँदै आएको दलीय सत्ता राजनीतिकको शृंखलाले पहिलो पटक विराटनगर भन्सार र आन्तरिक राजस्व कार्यालय विराटनगरमा ठूलै प्रभाव पर्न पुगेको छ । विराटनगर भन्सारमा कार्यालय प्रमुखका रूपमा ताराप्रसाद सापकोटा र आन्तरिक राजस्व कार्यालय विराटनगरको प्रमुखका रूपमा सुर्य प्रसाद पोखरेललाई अर्थ मन्त्रालयले नयाँ जिम्मेवारी दिएर पदस्थापन गरेको छ ।

उनीहरू दुवैको सरुवा र पदस्थापन दशैँ बिदाको एक दिन पहिले अर्थात् सप्तमीका दिन कार्यालय समय सकिनासाथ गरिएको बताइएको छ । नयाँ जिम्मेवारीका साथ विराटनगर भन्सारमा सरुवा भई आउने तारा प्रसाद सापकोटा यसभन्दा पहिले आन्तरिक राजस्व कार्यालय कलंकीमा कार्यरत थिए । त्यसैगरी आन्तरिक राजस्व कार्यालय विराटनगरको प्रमुखका रूपमा आएका सुर्य प्रसाद पोखरेललाई अर्थ मन्त्रालयले आन्तरिक राजस्व विभाग लाजिम्पाटबाट सरुवा गरी आन्तरिक राजस्व कार्यालय विराटनगरको प्रमुखका रूपमा पदस्थापन गरेको हो ।

एउटा कार्यालयबाट अर्को कार्यालयमा सरुवा भई जाने कर्मचारीको नीति नै भए पनि यस पटक अर्थ मन्त्रालयले कर्मचारी सरुवाको विषयलाई ठूलै उपलब्धि प्राप्तिको विषय बनाएको कुरा कर्मचारीवृत्तमा चर्चा हुनेगरेको छ । संघीय सरकारमा भएको गठबन्धन सरकारले कर्मचारी सरुवामा पनि दलीय भावनाका आधारमा सरुवा गरेको आरोप कर्मचारी संगठनको छ । अर्थ मन्त्रालयले पनि दलीय भागबण्डाअनुसार नै विराटनगर भन्सारको प्रमुखका रूपमा सरुवा गरेका उपसचिव तारा प्रसाद सापकोटा माओवादी नेता वर्षमान पुनको नजिकका राष्ट्रिय कर्मचारी संगठनका सदस्य हुन् ।

त्यसैगरी आन्तरिक राजस्व कार्यालय विराटनगरको प्रमुखका रूपमा पदस्थापन भएका उपसचिव सुर्य प्रसाद पोखरेल कांग्रेस निकट कर्मचारी युनियन संघको जिम्मेवारीमा रहेको कर्मचारी हुन् । दुवै उपसचिव नयाँ जिम्मेवारीका साथ सरुवा भई आउँदा कार्यालयले त नेतृत्व पाएको छ । तर कर्मचारीवृत्तमा दलीय भागबण्डामा आउनेबाट आशातीत काम हुने वातावरण नबन्ने दाबी गर्न थालिएको छ ।

प्रदेश १ मा रहेको संघीय सरकार मातहतका कार्यालयहरूमध्ये सरकारी राजस्व उठाउने मुख्य मेरुदण्डका रूपमा रहेको विराटनगर भन्सारमा पहिलो पटक पार्टी भागबण्डामा कार्यालय प्रमुखको पदस्थापन भएको दाबी भन्सार कर्मचारीको नै रहेको छ । दुवै कार्यालय राजस्व संकलनका लागि मुख्य भूमिकामा रहेको हुँदा जुनसुकै दलबाट सरुवा भई आए पनि दुवै नयाँ कार्यालय प्रमुखबाट निर्भीकता र निष्पक्षतापूर्वक आफ्नो जिम्मेवारी निभाउने ननिभाउने भन्ने कुराको छिनोफानो उनीहरूको आगामी कार्यले तय हुनेछ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया