Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमोतिपुर घटनाका मुख्य नाइके पक्राउ

मोतिपुर घटनाका मुख्य नाइके पक्राउ

सुकुमबासीको नाममा सरकारी जग्गा कब्जा गर्न खोज्ने हुकुमबासीको योजना विफल


बुटवल । देशभित्र एउटा यस्तो गिरोह अदृश्य रूपमा सक्रिय रहेको छ कि त्यो गिरोहलाई देशभर लगभग कता–कता सरकारी जग्गा छ भन्ने कुरा पूर्ण रूपमा जानकारी छ, जति सम्बन्धित क्षेत्रका सरोकारवालाहरूलाई छैन । उनीहरू जहाँ बस्ती बसाल्न मिल्ने सरकारी खाली जग्गा हुन्छ त्यहाँ सुकुमबासीको नाममा कब्जा गर्दछन् । कब्जा गरेर केही वर्षपछि सामान्य रूपमा बस्ती बसी जग्गा बिक्री हुने अवस्था आएपछि बिक्री गरेर हिँड्छन् । देशभरका सुकुमबासी बस्तीहरूको तथ्याङ्क संकलन गरेर हेर्ने हो भने वास्तविक सुकुमबासीबाहेक खरिदबिक्री भएका जग्गा जमिनहरूमा सायद उनीहरूकै नाम दोहोरो मात्र नभई तेहेरिन्छ पनि ।

गत असोज २४ गते आइतबार रूपन्देहीको मोतिपुरमा पनि सुकुमबासीको नाममा सरकारी जग्गा कब्जा गर्न पाउनुपर्छ भन्दै एउटा गिरोहले बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका र शुद्धोधन गाउँपालिका गरी तीन स्थानीय तहअन्र्तगत रहेको निर्माणाधीन मोतिपुर औद्योगिक क्षेत्रमा कब्जा गर्ने असफल प्रयास ग¥-यो । उक्त दिन सुरक्षाकर्मी र औद्योगिक क्षेत्र कब्जा गर्न खोज्ने समूहबीच दिनभर भिडन्त भई सो क्षेत्र तनावग्रस्त बन्यो । चार जना सर्वसाधारणहरूको मृत्यु भयो भने कयौँ सर्वसाधारण र सुरक्षाकर्मीहरू घाइते भए ।

सुकुमबासीको नाममा योजनाबद्ध तरिकाबाट भएको उक्त आन्दोलन वास्तविक सुकुमबासीहरूको नभएर सरकारी जग्गा कब्जा गर्न खोज्ने गिरोहको भएको सरकारी संयन्त्रहरू भनाइ छ । २०७२ चैतमा उक्त क्षेत्रमा पाँच वर्षभित्र औद्योगिक क्षेत्र निर्माण गर्ने सरकारको पूर्वघोषणाअनुरूप १२ अर्ब लागतमा औद्योगिक क्षेत्र निर्माण गर्ने योजनासहित २०७७ फागुन २१ गते सिलान्यास पनि भएको थियो ।

कुल नौ सय ४६ दशमलव ४६ बिघा क्षेत्रफलमा औद्योगिक क्षेत्र निर्माण गर्न औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको कार्यसमितिले डीपीआर स्वीकृत गरे पनि आठ सय १३ बिघा क्षेत्रफलको मात्र सरकारसँग लालपुर्जा थियो । बाँकी एक सय ३३ दशमलव ४६ बिघा क्षेत्रफलको लालपुर्जा नहुँदा उक्त जग्गाको लालपुर्जा प्राप्त नभएसम्म औद्योगिक क्षेत्रको विस्तृत काम अगाडि बढाउन कठिन भएको थियो ।

उक्त जग्गा वर्षौँदेखि सर्वसाधारणहरूले भोगचलन गर्दै आएकोले त्यहाँबाट सिधै हस्तक्षेप गरेर हटाउन सरकारलाई त्यसै त कठिन भइरहेको थियो त्यसमाथि पनि सुकुमबासीको नाममा उग्रवादी शैलीले कब्जा गर्न सुकुमबासी खुलेको होहल्ला गरी विभिन्न जिल्लाबाट आएका मानिसहरूले आन्दोलन गर्दा असोज २४ गते दशैँको मुखैमा दुःखद घटना घट्न पुग्यो । सुरक्षा निकायका अनुसार पछि उक्त क्षेत्रमा खोजतलास गर्दा दुई हजारभन्दा बढी वियरका बोत्तलमा पेट्रोल बम, विभिन्न घरेलु हातहतियार बरामद भएको छ । जुन बरामदले औद्योगिक क्षेत्र कब्जा वास्तविक सुकुम्बासीहरूको नभएर सुकुमबासीको नाममा कब्जा गर्न खोज्ने एउटा गिरोहको भएको पनि प्रस्ट हुन्छ ।

यता मोतिपुरमा रहेको उक्त सरकारी जग्गा जबरजस्ती कब्जा गर्न खोज्ने गिरोहका मुख्य नाइकेलाई जिल्ला प्रहरी कार्यालय रूपन्देहीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार पक्राउ पर्नेमा शुद्धोधन गाउँपालिका–६, कपिलवस्तु स्थायी घर भई बुटवल उपमहानगरपालिका–११ देवीनगर अस्थायी रूपमा बसोबास गर्दै आएर ४४ वर्षीय साबिर अलि मुसलमान रहेका छन् । मुसलमानलाई यही कात्तिक १ गते राति ८ : ३० बजे देवीनगरस्थित कोठाबाट पक्राउ गरेको छ । पक्राउ परेका मुसलमानलाई इलाका प्रहरी कार्यालय बुटवलमा मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत सार्वजनिक शान्तिविरुद्धको कसुरमा मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालयबाट दश दिनको म्याद थप गरी प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी सहायक प्रवक्ता भाष्कर चन्दका अनुसार पक्राउ परेका मुसलमानले सरकारी जग्गा कब्जा गर्न मानिसहरूलाई उक्साउने, टोलीहरू गठन गरेर परिचालन गर्ने, जग्गा बाँडफाँट गर्ने, विभिन्न समितिहरू गठन गरी अध्यक्षता ग्रहण गर्ने, ब्यानर निर्माण गर्ने, माइनेटिङ तयार गर्नेजस्ता कार्यहरू गर्दै जग्गा कब्जाको रणनीति बनाएका मुसलमानलाई सोही आधारमा खोजतलास गर्ने क्रममा प्रहरीले पक्राउ गर्न सफल भएको हो । उनलाई आफ्नै डेराबाट तीन थान ब्यानर, माइनटिङको प्रतिलिपी, १३ थान टोली गठन गरेको सम्पर्क नम्बर र नामसहितको कागजातको प्रतिलिपी, दुई थान बस्ती विकासको सहयोग रसिद बरामद गरेको छ ।

वास्तविक सुकुमबासी नभई सुकुमबासीको नाममा सरकारी जग्गा कब्जा गर्न खोज्ने गिरोहका नाइके पक्राउ पर्नु, आन्दोलनमा चार जना घाइते हुनु, सरकारले जबरजस्ती जग्गा कब्जा गर्न खोज्नेलाई पन्छाउन आदेश दिनुले यतिबेला उक्त गिरोहको आत्मबल गिरेको छ । सरकार आक्रामक रूपमा प्रस्तुत भई राज्यको जग्गा राज्यकै नाममा हुनुपर्छ भन्ने योजनाले सुकुम्बासीको नाममा जग्गा कब्जा गर्न खोज्ने गिरोहको योजना पूर्ण रूपमा विफल भएको छ । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया