Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबाढी पहिरोपीडितका लागि घोषित सहयोग रकम तत्काल उपलब्ध गराउन माग

बाढी पहिरोपीडितका लागि घोषित सहयोग रकम तत्काल उपलब्ध गराउन माग


काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले बाढी पहिरोपीडितका लागि सरकारले घोषणा गरेको सहयोग रकम तत्काल उपलब्ध गराउन माग गरेका छन् । गत असोज ३१ गतेदेखि नेपालको विभिन्न जिल्लामा परेको भारी वर्षाका कारण गएको पहिरो र बाढीमा परेर जीवन गुमाएका तथा घरबास क्षतिग्रस्त भएर पराश्रित भएका नेपाली नागरिकको परिवारलाई तत्काल राहत र आवास निर्माणको लागि सरकारले घोषणा गरेको सहयोग रकम छिटो उपलब्ध गराउन महतले सरकारसँग आग्रह गरेका हुन् ।

डा. महतले आइतबार एक विज्ञप्ति जारी गर्दै प्रदेश सरकार र स्थानीय सरकारले दिने राहत रकम पनि समन्वयात्मक ढंगले वितरण गर्न अनुरोध गरेका छन् । कांग्रेस सहमहामन्त्री डा. महतले नेपाली कांग्रेससहित अन्य राजनीतिक दलहरूले वर्षा र बाढी पहिरोबाट पीडितहरूको उद्धार, राहत र बसोबासको व्यवस्थाको लागि पहल गर्न गरेको अनुरोधलाई सकारात्मक रूपमा ग्रहण गरी राहत सहयोग घोषणा गरेर बाढी, पहिरो र वर्षाले पु-याएको नोक्सानीको स्थलगत निरीक्षणमा स्वयम अग्रसर भएका प्रधानमन्त्री शेरबहादुर देउवाको पहलकदमीको पनि सराहना गरेका छन् ।

कात्तिक ३ गते बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले बाढी पहिरोमा परी जीवन गुमाएका व्यक्तिका परिवारलाई दुई लाख रूपैयाँ आर्थिक सहयोग दिने र एकभन्दा बढी सदस्यको मृत्यु भएको भए प्रतिव्यक्ति थप एक लाख रूपैयाँ दिन तथा प्राकृतिक प्रकोपमा परेर आवास गुमाएका, खाद्यान्नबाली तथा जग्गाजमिन र व्यवसाय गुमाएर गुजरा चलाउन समस्या भएका नागरिकको पाँच जनाको परिवारलाई १५ हजार र सोभन्दा ठूलो परिवारलाई २० हजार रूपैयाँ उपलब्ध गराउने तथा बाढी पहिरोमा परेर घाइते हुने सबैको निःशुल्क औषधोपचार गर्ने निर्णय पनि गरेको थियो ।

सरकारले घर भत्किएर बिचल्ली भएकालाई प्रतिघर ५० हजार रूपैयाँ दिने तथा घर पुनर्निर्माणका लागि पहाडमा चार लाख, हिमालमा पाँच लाख र तराईमा तीन लाख रूपैयाँ उपलब्ध गराउने निर्णय पनि गरेको छ भने घर निर्माणको लागि जग्गा नभएकाहरूको लागि थप तीन लाख दिने निर्णय पनि गरेको छ । सरकारले बाढी पहिरो र वर्षाबाट भएको क्षतिको आकलन गरी प्रतिवेदन पेश गर्न मन्त्रालयहरूलाई निर्देशन दिनुका साथै क्षतिग्रस्त सडक, पुल, विमानस्थलको मर्मत सम्भार गरेर सञ्चालन गर्न, विपत् प्रभावित क्षेत्रमा रोग फैलन नदिन, प्रभावितहरूको उद्धार, राहत र पुनस्र्थापना वा पुनर्बासको व्यवस्थामा प्रदेश र स्थानीय तहबीच समन्वय गर्ने व्यवस्था मिलाउने पनि निर्णय गरेको थियो ।

असोजको अन्तिम दिनदेखि नेपालको सुदूरपश्चिमबाट पसेको वर्षाले पाकेर भित्र्याउन तयार भएको धानबालीमा ठूलो क्षति पु-याएकोले नेपालका किसानहरू चिन्तित भएको उल्लेख गर्दै डा. महतले स्थानीय, प्रदेश र संघीय सरकारबीच समन्वय कायम गरी क्षतिको यथार्थ विवरण संकलन गरेर क्षतिअनुसारको सहयोग दिन अत्यावश्यक रहेको बताएका छन् । डा. महतले देशभरका किसानहरू पीडित भएको यो दुःखद घडीमा देशका बीमा कम्पनीहरूलाई किसानलाई कृषि बीमाको जानकारी गराएर बाली बीमा गराउन उत्प्रेरित गर्न पनि आग्रह गर्दै यसले भविष्यमा बालीको क्षतिपूर्ति सहज हुनजाने पनि बताएका छन् ।

यस्तै उनले खासगरी भारतीय उपमहाद्वीप र पश्चिमी अरब सागरमा विकसित हुने मौसमी प्रणालीको प्रत्यक्ष असर नेपालमा पर्ने उल्लेख गर्दै यससम्बन्धी जानकारी विशेष प्राथमिकतासाथ सार्वजनिक गर्न जल तथा मौसम विज्ञान विभागलाई अनुरोध गरेका छन् । डा. महतले नेपालका सम्पूर्ण सञ्चार माध्यमहरूलाई पनि मौसमसम्बन्धी समाचारलाई प्राथमिकतामा राखेर लक्षित वर्गमा सूचना प्रवाहित गर्न सहयोग गर्न आग्रह गरेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया