Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसमय् फल्चा निर्माणमा सुरेन्द्र भण्डारीको अझै अवरोध

समय् फल्चा निर्माणमा सुरेन्द्र भण्डारीको अझै अवरोध


काठमाडौं । ऐतिहासिक समय् फल्चाको भग्नावशेषमाथि निर्माण गरिएको श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाको भवनको माथिल्लो भाग पनि भत्काउनुपर्ने भएको छ ।

समय् फल्चा पुनर्निर्माण उपभोक्ता समितिका अध्यक्ष रोविन महर्जनका अनुसार फल्चा निर्माणका लागि सहकारीको भवनले अवरोध गरिरहेको र माथिल्लो भाग पनि भत्काउनुपर्ने बताए । महर्जनका अनुसार तिहारअघि नै फल्चा निर्माणसम्पन्न हुँदै छ ।

‘हामी सकेसम्म तिहारअघि नै सम्पन्न गर्ने लक्ष्यका साथ काममा अघि बढेका छौँ । काठको काम अलिकति बाँकी छ । काठ आउनेबित्तिकै त्यो पनि सुरु हुन्छ । यदि तिहारअघि सकिएन भने तिहारपछि केही दिनमै सकिनेछ’, महर्जनले भने ।

अध्यक्ष महर्जनका अनुसार गारो लगाउने काम पनि अब सम्पन्न भइसकेको छ । उनका अनुसार समय् फल्चाको उचाइनजिकै रहेको मछिन्द्रनाथको लामो पाटी ‘धमा’कै सरह हुनेछ । सोही उचाइमा पाटी फल्चा निर्माण हुँदा श्री लालीगुराँस सहकारीको भवनको सिसा समेत फुटाउनुपर्छ । निर्माणमा संलग्न एक मजदुरका अनुसार फल्चाको छानो एक पाखाको बनाउँदा पनि सहकारीको माथि रहेको अवैध संरचना भत्काउनैपर्छ ।

‘त्यो सिसाहरु पनि भत्किनेछ । त्यहाँ सिसा लगाएर बनाउन पाउने उनीहरुको जग्गाको सीमा नै छैन । उसले त्यो ओगटेर बसेको भाग हो । मुख्य सिमाना त्यसको पछाडि छ । त्यो उसले हडपेर नै राखेको भयो’, अध्यक्ष महर्जनले भने, ‘१० फिटजति भत्काउनैपर्ने देखिन्छ । उहाँको प्रशासन हेर्ने स्टाफलाई हामीले अनुरोध गर्नेछौँ । उहाँहरुले भत्काउनुभएन भने हामीले भत्काउनुपर्छ । हामीले भत्काउँदा राम्रो हुँदैन उहाँहरुले नै भत्काउनुपर्छ ।’

ललितपुरको कुपण्डोल–जावलाखेल सडकखण्ड अन्तर्गत पुल्चोकमा रहेको २ सय ७ वर्ष पुरानो समय् फल्चाको भग्नावशेष हडपेर श्री लालीगुराँस बहुउद्देश्यीय सहकारीले भवन बनाएको थियो । ललितपुर महानगरपालिकाले वार्षिक कार्यक्रमअन्तर्गत पुरानो समय फल्चा निर्माणका लागि बजेट विनियोजन गरेको थियो ।

फल्चा निर्माण गर्ने अभियानविरुद्ध सहकारीका कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले विभिन्न अदालतमा झूटा मुद्दा दायर गरेर अवरोध गर्दै आएका थिए । सर्वोच्च अदालतको फैसला तथा आदेशलाई लुकाएर उनले उच्च अदालत र जिल्ला अदालतमा पटक–पटक मुद्दा दायर गरेका थिए । तर, ती सबै अदालतमा उनले दायर गरेको झूट निवेदन खारेज भएपछि महानगरले फल्चा निर्माण थालेको थियो । फल्चा निर्माणविरुद्ध उनले पुल्चोककै चार जना महिलालाई जागिर लगाएर उक्साएका थिए । ती महिलाहरुमध्ये १ जनाले अहिले जागिर छाडेको बताइएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया