Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारझण्डै २० महिनापछि प्रतिबद्ध कामदार भोलि दक्षिण कोरिया जाँदै

झण्डै २० महिनापछि प्रतिबद्ध कामदार भोलि दक्षिण कोरिया जाँदै

करिब २ हजार प्रतिबद्ध कामदारको लागि ढोको खुलेको महशुस


काठमाडौं । झण्डै २० महिनापछि प्रतिबद्ध कामदार दक्षिण कोरिया जान पाउने भएका छन् । सरकारी प्रयास तथा दक्षिण कोरियाली सरकार कोभिड–१९ लाई लिएर सकारात्मक भएसँगै नेपाली प्रतिबद्ध कामदारलाई दक्षिण कोरिया खुला भएको छ । योसँगै पहिलो चरणमा ४८ जना प्रतिबद्ध कामदारहरु बुधबार (भोलि) कोरिया जाने भएका हुन् ।

मानव संसाधन बोर्ड कोरियाबाट एक सय १९ जनाको ‘कन्फर्मेसन सर्टिफिकेट अफ इन्सुलेसन (सीसीभीआई)’ आइसकेको भए पनि पहिलो चरणमा भने ४८ जना युवाहरु मात्र कोरिया जानेछन् । ‘कोरिया लैजाने ४८ जना प्रतिबद्ध कामदारहरुको भिसा प्रक्रिया कोरियाली पक्षले गरिसकेको हुदाँ अब बुधबारको उडानको तयारीमा बस्दा हुन्छ’, ईपीएस शाखा, ग्वार्कोका निर्देशक सुरेश राउतले आर्थिक दैनिकलाई भने ।

कोरिया जाने युवाहरुले कोभिडविरुद्धका आवश्यक नियमहरु भने पालना गर्नुपर्नेछ । ‘कोरियाली पक्षको आग्रह तथा हामी आफैँ अर्थात् दुवै पक्षको सल्लाहअनुरुप हामीले पनि कोभिडबाट सुरक्षित रहनको लागि भन्दै कोरिया जाने युवाहरुलाई निश्चित शर्त राखेको हौँ’, उनले भने, ‘जसले गर्दा कोरिया प्रवेशमा युवाहरुलाई थप सहज हुनेछ ।’

पहिलो चरणमा उड्ने नेपाली युवाहरुले उडान हुनुअघि ४८ घण्टाको अनिवार्य पीसीआर जाँच रिपोर्ट पेश गर्नुपर्नेछ । भोलि बेलुका ५ बजे पीसीआर चेकको लागि क्वारेन्टिन बसेको सम्बन्धित स्थानमै स्वाब संकलन गर्ने कार्यक्रम रहेकोले स्वास्थ्यकर्मीलाई युवाहरुले स्वाब दिई चेकजाँच गर्नुपर्नेछ । चेकजाँचपछिको रिपोर्ट भने यस शाखा र सम्बन्धित व्यक्तिाई उपलब्ध हुनेछ । मापदण्डअनुसार पीसीआर चेकजाँचमा पोजिटिभ आएको व्यक्तिको उडान भने हाललाई स्थगित हुनेछ ।

यस्तै कोरिया जाने प्रतिबद्ध कामदारलाई बुधबार दिउँसो २ बजे भर्चुअल माध्यमबाट पूर्वप्रस्थान अभिमुखीकरण सञ्चालन गरिनेछ । सो अभिमुखीकरणको लागि प्राप्त हुने अनलाइन लिंकबाट अनिवार्य रुपमा सबै जना सहभागी हुनुपर्नेछ । अनलाइन लिंकको विवरण सम्बन्धित व्यक्तिको मोबाइलमा पठाइनेछ ।

स्वास्थ्य प्रोटोकल पालना गरी अन्तर्राष्ट्रिय हवाइ उडानको नियमानुसार ईपीएस शाखाले तोकेअनुसार समयमै विमानस्थल प्रस्थान गरी चेकइन गर्नुपर्नेछ । ‘सेल्फ’ क्वारेन्टिनको स्थलगत अनुगमन भने गणतन्त्र कोरियाको प्रतिनिधि र ईपीएस शाखाबाट संयुक्त रुपमा कुनै पनि समयमा हुने प्रावधान राखिएको छ ।

यसैबीच निर्देशक राउतले कोभिडविरुद्धको प्रावधानबीच पनि कोरिया रोजगारी लामो प्रयासपछि खुला गर्न सकेकोमा खुसी लागेको बताए । ‘हाम्रो ढिलासुस्तीका कारणले गर्दा श्रीलंका, थाइल्याण्ड, कम्बोडियालगायतका मुलुकबाट कामदार लैजान थालेकोले गर्दा हामीलाई नेपाली युवाहरु जान नपाउनाले भन्ने एक किसिमको त्रास थियो’, उनले भने, ‘यसबाट मुक्त भएका छौँ । अब चरण–चरण गरेर एक सय १९ जना प्रतिबद्ध कामदारहरु कोरिया जानुहुनेछ । कोरियाली पक्षले हरेक चरणमा ५० जना लैजाने भन्नुभएको छ।’ उनले यसलगत्तै अर्को महिना पुनः ५० जना कोरिया जाने बताए । ‘तर हामीले अर्को पटकमा बाँकी सीसीभीआई प्राप्त प्रतिबद्ध कामदार (७१ जना) लाई लैजानुपर्ने माग गरेका छौँ । हेरौँ सायद सम्भव होला’, उनले भने ।

प्रतिबद्ध कामदार जाने भएसँगै करिब दुई हजार जना प्रतिबद्ध कामदार कोरिया जान पाउनेछन् । ईपीएस भाषा परीक्षा पास गरेका तथा नियमित प्रक्रियाबाट पाँच वर्ष काम गरी नेपाल फर्केर अर्को प्रक्रियामार्फत पुनः जान तयार भएका करिब दुई हजार जना युवाहरु कोरिया रोजगारीको पर्खाइमा रहेका थिए । कोरियाली रोजगारदाताको मागअनुरुप नै प्रतिबद्ध कामदार पठाइएको र बाँकी पनि विस्तारै जान पाउने हुँदा युवाहरुलाई राहत मिलेको अधिकारीहरुको भनाइ छ ।

‘जति पनि प्रतिबद्ध कामदार कोरिया जानुहुनेछ, उहाँहरुले नेपालमा मात्र नभई कोरियामा समेत कोभिडविरुद्धका शर्तहरु पूरा गर्नुपर्ने हुन्छ । आफनै खर्चमा । कोरियाली पक्षले नेपाल, श्रीलंका, थाइल्याण्ड, कम्बोडियालगायतका मुलुकबाट जति पनि कामदार लगेका छन् उनीहरुलाई कोभिडविरुद्धको शर्त अनिवार्य पालना गर्न लगाएका छन्’, उनले थपे, ‘सोहीअनुरुप नेपाली युवाहरुले पनि कोरियाली पक्षको शर्तअनुरुप कोरिया प्रवेशसँगै दुई साता क्वारेन्टाइन बस्नुपर्ने हुन्छ । जसको खर्च युवाहरु स्वयंले व्यहोर्नुपर्नेछ ।’

कोरिया जाने युवाहरुले कोभिडविरुद्धको पूर्ण खोप (एक/दुई डोज) लगाउनुपर्ने बाध्यकारी शर्त छ । युवाहरुको बीमा सम्झौता समेत अनिवार्य गरिएको छ। कोरियामा क्वारेन्टिन बस्दा कुनै दुर्घटना भएमा सहजीकरण होस् भनेर बीमा अनिवार्य गरिएको बताइएको छ ।

यसैबीच कोरियामा आवश्यक क्वारेन्टिन खर्चको लागि सटही सुविधा भने राष्ट्र बैंकले आफूमातहतका कार्यालयलाई अधिकार प्रदान गरिसकेको छ । वैदेशिक रोजगार विभागको सिफारिस पत्र समेतको आधारमा प्रतिबद्ध कामदारलाई थप अधिकतमा एक हजार पाँच सय अमेरिकी डलरसम्म सटही सुविधा विद्युतीय कार्डको माध्यमबाट उपलब्ध गराउन आफू मातहतका कार्यालयालाई निर्देशन दिइसकेको राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक रामु पौडेलले बताए । यसका लागि उसले स्वयं राष्ट्र बैंक, बैंकिङ विभाग लगायत सम्पूर्ण प्रदेशस्थित कार्यालयहरु, इजाजतपत्र प्राप्त ‘क’ वर्गका वाणिज्य बैंकहरु, राष्ट्रियस्तरका ‘ख’ वर्गका विकास बैंकहरुलाई सटही सुविधाको सेवा प्रदान गर्न निर्देशन दिएको हो ।

काठमाडौं–सोल सिधा उडान : दुवै पक्षको सहमतिअनुरुप काठमाडौं–सोल सिधा उडान हुनेछ । जसले गर्दा युवाहरुलाई सहज हुने समेत निर्देशक राउतले बताए । रोजगारदाताको चाहना तथा नेपाली पक्षको निर्णयअनुरुप काठमाडौं–सोल सिधा उडान गरिएको हो । ‘मन्त्रिपरिषद् निर्णयमार्फत काठमाडौं–सोल सिधा उडान गरिएको हो’, उनले भने । युवाहरु कोरिया जाने उडानको लागि आफ्नै खर्चमा टिकटको व्यवस्था गरी उड्नेछन् । शाखाले कोरिया उडानको लागि बोलपत्र आह्वान गरे पनि कुनै एयरलाइन्स कम्पनीले माग पूरा गर्न नसक्दा युवाहरु स्वयंले फ्लाइट खोज्नुपरेको शाखाले जानकारी दिएको छ । ‘सीसीभीआई प्राप्त बाँकी युवाहरुको लागि भने अर्को महिना उडान हुनेछ । हामीले प्रतिबद्ध कामदारको लागि हरेक महिना उडान भर्नको लागि छलफल अघि बढाएका छौँ, कोरियाली पक्षको जवाफको पर्खाइमा छौँ’, उनले भने । हरेक महिना उडान भएमा बाँकी दुई हजार जना प्रतिबद्ध कामदार चाँडै नै कोरिया जान पाउनेछन् ।

यस्तै नेपाली पक्षले भने भाषा परीक्षा पास गरेर बसेका युवाहरुलाई पनि लैजान माग गरेको छ। रोजगारदाताले प्रतिबद्ध कामदारको मात्र माग गरेको कारणले गर्दा हाललाई भने भाषा परीक्षा पास गरेका कामदारलाई पठाउन नसकिएको शाखाको भनाइ छ । कोभिडका कारण पछिल्लो समय २०७६ फागुन १८ का लागि तय भएको उडान रद्द हुनपुगेको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया