Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारउद्योग क्षेत्रमा १५ मुलुकबाट ४१ अर्ब लगानी प्रतिबद्धता

उद्योग क्षेत्रमा १५ मुलुकबाट ४१ अर्ब लगानी प्रतिबद्धता


प्रवीण राउत
काठमाडौं, माघ १६
नेपालको उद्योग क्षेत्रमा विदेशी लगानीकर्ताहरुले झण्डै ४१ अर्ब रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । चालू आर्थिक वर्ष (२०७६/७७) को छ महिना अर्थात् साउनदेखि पुससम्मको अवधिमा १५ मुलुकका लगानीकर्ताहरुले नेपालको उद्योग क्षेत्रमा ४० अर्ब ६८ करोड ५६ लाख लगानी उद्योग विभागबाट स्वीकृत गराएका छन् । एक सय ५० वटा उद्योग स्थापना तथा सात हजार आठ सय ६९ जनालाई रोजगारी दिने भन्दै उनीहरुले उक्त लगानी स्वीकृत गराएका हुन् ।

उद्योग क्षेत्रमा सबैभन्दा बढी लगानी स्वीकृत गराउनेमा चिनियाँ लगानीकर्ता छन् । त्यसपछि क्रमशः भारत, बेलायत, अमेरिका, संयुक्त अरब इमिरेट्स (युएई), क्यानडालगायतका लगानीकर्ताहरु रहेका छन् । उनीहरुले कृषिजन्य, पर्यटन, निर्माण, ऊर्जा, खनिज, सेवा र उत्पादनमूलक उद्योग गरी आठ प्रकारका उद्योगमा लगानी गर्न सो रकम स्वीकृत गराएका विभागले जनाएको छ  ।

छ महिनाको अवधिमा चीन (मेनल्याण्ड) र हङकङका लगानीकर्ताहरुले क्रमशः नेपालमा उद्योग स्थापना गर्न १६ अर्ब ९६ करोड ९७ लाख र एउटा उद्योग स्थापना गर्न पाँच करोड लगानी रकम विभागबाट स्वीकृत गराएका छन् । चीन (मेनल्याण्ड) र हङकङका लगानीकर्ताहरुले क्रमशः एक सय ८८ वटा र एउटा उद्योग स्थापना गर्नका लागि सो लगानी प्रतिबद्धता जनाएका हुन् । उनीहरुले उद्योग स्थापनासँगै क्रमशः छ हजार सात सय १६ र ३५ जनालाई रोजगारी दिने बताएका छन् ।

लगानी रकम स्वीकृति गराउनेमा दोस्रो स्थानमा भने भारतीय लगानीकर्ताहरु छन् । उनीहरुले नेपालमा दशवटा उद्योग स्थापना गर्ने भन्दै विभागबाट नौ अर्ब ७७ करोड ४९ लाख स्वीकृत गराएका छन् । उद्योग स्थापनासँगै उनीहरुले चार सय एक जनालाई रोजगारी दिने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । यस्तै बेलायती र अमेरिकी लगानीकर्ताहरुले उद्योग क्षेत्रमा क्रमशः छ अर्ब ६६ करोड ४३ लाख र चार अर्ब ४८ करोड २८ लाख लगानी स्वीकृत गराएका छन् । उनीहरुले क्रमशः चार र दुईवटा उद्योग स्थापना गर्नका लागि सो रकम स्वीकृत गराएका हुन् भने उद्योग स्थापनासँगै क्रमशः ४१ जना र ३५ जनालाई रोजगारी दिने बताएका छन् ।

संयुक्त अरब इमिरेटस (युएई) का लगानीकर्ताहरुले दुईवटा उद्योगको लागि एक अर्ब १२ करोड ४८ लाख लगानी स्वीकृत गराएका छन् भने क्यानडाका लगानीकर्ताहरुले एउटा उद्योग स्थापना गर्ने भन्दै ५० करोड लगानी स्वीकृत गरेका छन् । क्यानडाले ७० जनालाई रोजगारी दिने बताँउदै युएईले रोजगारी दिने विषयमा उल्लेख गरेको छैन  । फ्रान्सका लगानीकर्ताहरुले दुईवटा उद्योग स्थापना गर्ने भन्दै २५ करोड तथा दक्षिण कोरियाका लगानीकर्ताहरुले दुईवटा उद्योग स्थापना गर्ने भन्दै २१ करोड रुपैयाँ लगानी स्वीकृत गराएका छन् । उद्योग स्थापनासँगै उनीहरुले क्रमशः ७२ जना र ३४ जनालाई रोजगारी दिने समेत
बताएका छन् ।

बंगलादेशका र जापानका लगानीकर्ताहरुले क्रमशः एउटा र दुईवटा उद्योग स्थापना गर्ने भन्दै १५/१५ करोड लगानी स्वीकृत गराएका छन् भने उनीहरुले उद्योग स्थापनासँगै ३१ जना र ४१ जनालाई रोजगारी दिने बताएका छन्  । यसबाहेक पोल्याण्ड, अष्ट्रेलिया र पाकिस्तानका लगानीकर्ताहरुले क्रमशः १/१ वटा र दुईवटा उद्योग स्थापना गर्ने भन्दै विभागबाट क्रमशः १५ करोड, पाँच करोड र १० करोड रुपैयाँको लगानी स्वीकृत गराएका छन् । उनीहरुले क्रमशः ३५, एक सय १५ र एक सय पाँच जनालाई रोजगारी दिने बताएका छन् ।

मलेसियाका लगानीकर्ताहरुले भने एउटा उद्योग स्थापना गर्ने भन्दै पाँच करोड ९० लाख लगानी प्रतिबद्धता जनाएका छन् भने ३८ जनालाई रोजगारी दिने बताएको छ  । योसँगै प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) मा सुधार आएको विभागका अधिकारी बताउँछन् । उनीहरुका अनुसार ऐन, एकल विन्दु सेवा केन्द्र लगायतको सुविधाका कारणहरु नेपालको उद्योग क्षेत्रमा विदेशी लगानीकर्ताहरु आकर्षित भएका हुन् । लगानी स्वीकृत गराए पनि लगानी रकम भने न्यून आउँदा स्वीकृतिलाई हेरेर चित्त बुझाउन नहुने अर्थविद्हरुको भनाइ छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया