Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारएक सय १० प्रतिशतले निर्यात व्यापार वृद्धि !

एक सय १० प्रतिशतले निर्यात व्यापार वृद्धि !


काठमाडौं । उत्पादनमूलक उद्योगको अभावका कारणले गर्दा नेपालले बाह्य मुलुकसँगको व्यापारमा घाटा व्यहोरिरहेको छ । यसका बाबजुद पनि निर्यात व्यापारमा भने पछिल्लो तीन महिनामा एक सय १० प्रतिशतले वृद्धि भएको छ ।

भन्सार विभागका अनुसार चालू आर्थिक वर्ष ०७८/०७९ को तीन महिना (साउनदेखि असोज मसान्त)सम्मको अवधिमा मुलुकले ६५ अर्ब पाँच करोड २८ लाख रुपैयाँबराबरको निर्यात व्यापार गरेको छ । मुलुकको निर्यात व्यापार वृद्धि गर्नेमा सामग्रीमा भने विभिन्न प्रकारका तेल, धागो, गलैँचा र कपडाहरु रहेका छन् । तीन महिनाको अवधिमा २२ अर्ब दुई करोड रुपैयाँको भटमासको प्रशोधित तेल, नौ अर्ब ८५ करोड रुपैयाँको पाम तेल, एक अर्ब ८२ करोड रुपैयाँको सूर्यमुखी तेल, दुई अर्ब ४५ करोडको गलैँचा, एक अर्ब २६ करोड यार्न (धागो) र ८२ करोडको लत्ताकपडा बाह्य मुलुकमा निर्यात भएको छ ।

गत आर्थिक वर्ष ०७७/०७८ को सोही अवधिको तुलनामा मुलुकको निर्यात व्यापार शतप्रतिशतभन्दा बढीले वृद्धि भएको छ । गत आर्थिक वर्षको तीन महिनाको अवधिमा ३१ अर्ब चार करोड ६० लाख रुपैयाँको निर्यात व्यापार रहेको थियो ।

यस्तै तीन महिनाको अवधिमा गत आर्थिक वर्ष ०७७/०७८ को तुलनामा आयात व्यापार ६४ प्रतिशतले वृद्धि अर्थात् चार खर्ब ७८ अर्ब ५२ करोड रुपैयाँको रहेको छ । नेपालले आयात गर्ने प्रमुख सामग्रीहरुमा पेट्रोलियम पदार्थ, भटमासको कच्चा पदार्थ र मोबाइल तथा टेलिफोनलगायतका सामग्री छन् ।

तीन महिनाको अवधिमा २३ अर्ब ३२ करोडको डिजेल, २० अर्ब ६० करोड रुपैयाँको भटमास, १७ अर्ब १७ करोड रुपैयाँको मोबाइल तथा टेलिफोन सेट, १३ अर्ब चार करोड रुपैयाँको पाम आयलको कच्चा पदार्थ, १२ अर्ब ८६ करोडको पेट्रोल र दुई अर्ब सात करोडको हवाइ इन्धन आयात गरिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा दुई खर्ब ९२ अर्ब २६ करोडको आयात व्यापार रहेको थियो ।

गत आर्थिक वर्षको तीन महिनाको अवधिमा चालू आर्थिक वर्षको सोही अवधिमा मुलुकको व्यापारघाटा ५८ प्रतिशतले वृद्धि भई अर्थात् चार खर्ब १३ अर्ब ४७ करोड रुपैयाँ व्यहोरेको छ । मुलुकमा उत्पादनमूलक उद्योगमा कमी हुँदा उत्पादनमा स्वतः ह्रास आउँछ जसले गर्दा निर्यातजन्य सामग्रीको चरम अभाव हुनपुग्छ । जसले गर्दा मुलुकले बाह्य मुलुकसँगको व्यापारमा घाटा व्यहोर्नुपर्छ ।

गत आर्थिक वर्षको सोही अवधिमा दुई खर्ब ६१ अर्ब २२ करोड रुपैयाँ व्यापारघाटा रहेको थियो । गत आर्थिक वर्षको तुलनामा व्यापारघाटा पनि करिब शतप्रतिशत बढेको पाउन सक्छौँ ।

पछिल्लो तीन महिनामा कुल वैदेशिक व्यापार भने ६८ प्रतिशतले वृद्धि हुँदा पाँच खर्ब ४३ अर्ब ५७ करोड रुपैयाँको हुनपुगेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिमा भने तीन खर्ब २३ अर्ब ३१ करोड रुपैयाँ रहेको थियो । यस्तै नेपालको ठूलो अन्तरको व्यापारघाटा अमेरिका, बेलायत, फ्रान्स, दक्षिण कोरिया, दक्षिण अफ्रिकालगायतका मुलुकसँग समेत रहेको छ । मुलुकभर रहेको २४ वटा भन्सार विन्दुबाट सामग्री आयात हुने गरेको भए पनि निर्यात भने आधाभन्दा कम भन्सार विन्दुबाट हुने गरेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया