Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारप्रदेश २ सरकारले ल्यायो विश्वविद्यालयसम्बन्धी दुई अध्यादेश

प्रदेश २ सरकारले ल्यायो विश्वविद्यालयसम्बन्धी दुई अध्यादेश


जनकपुरधाम । प्रदेश २ सरकारले विश्वविद्यालय स्थापनासम्बन्धी दुईवटा अध्यादेश प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले वीरगञ्ज प्राविधिक विश्वविद्यालय र कृषि विश्वविद्यालय सप्तरी स्थापनासम्बन्धी अध्यादेश जारी गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिए ।

प्रदेश प्रमुखबाट अध्यादेश जारी भएलगतै दुवै विश्वविद्यालय स्थापनाको बाटो खुला हुनेछ । कृषि तथा प्राविधिकसम्बन्धी उच्चस्तरीय जनशक्ति उत्पादन तथा कृषि र प्राविधिकसम्बन्धी अध्ययन अनुसन्धानलाई समय सापेक्ष, व्यापक, व्यावहारिक र स्तरीय बनाउन प्रदेशस्तरीय कृषि तथा प्राविधिक विश्वविद्यालय स्थापना आवश्यक देखिएकोले नेपालको संविधानको धारा २०२ बमोजिम प्रदेशसभा सञ्चालनमा नरहेको अवस्थामा अध्यादेश सिफारिस गरेको उनले बताए ।

जनकपुरधाममा मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थाापना गरी सञ्चालनमा ल्याइसकेको प्रदेश सरकारले राजविराजमा कृषि विश्वविद्यालय र विरगंजमा प्राविधिक विश्वविद्यालय स्थापना गर्न लागेको हो । यसैगरी प्रदेश सरकारले ग्रीनसिटी क्लिन सिटीअन्तर्गत पहिलो चरणमा जनकपुरधाम, राजविराज र विरगञ्जमा सरसफाई, बिजुली बत्ति तथा वृक्षारोपण कार्य सञ्चालन गर्ने निर्णय समेत गरिएको प्रवक्ता साहले बताए । मन्त्रिपरिषद्ले प्रदेश सरकारद्वारा सञ्चालित विकास निर्माणको कार्यलाई प्राविधिकसहितको उच्चस्तरीय टोलीद्वारा स्थलगत निरीक्षण गराई ढिलासुस्ती एवं गुणस्तरहीन काम गरी रहेको पाइए त्यस्ता ठेक्केदार कम्पनीलाई बैंक ग्यारेन्टी जफतदेखि कालो सूचीमा राख्नेसम्मको कारबाही प्रक्रिया अघि बढाउने निर्णय समेत गरेको छ ।

त्यस्तै, मन्त्रिपरिषद्को बैठकले एसिडपीडित पर्साका मुस्कान खातुनालाई थप उपचारको लागि प्रदेश सरकारले पाँच लाख रूपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज सम्पन्न बैठकले थप उपचारको पर्खाइमा रहेका मुस्कानलाई थप पाँच लाख रूपैया उपलब्ध गराउने निर्णय गरेको हो । यसअघि प्रदेश सरकारले एसिडपीडित जनकपुरकी आरती साहलाई समेत पाँच लाख रूपैयाँ उपलब्ध गराएको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया