Techie IT
×
गृहपृष्ठbreakingसिन्धुु विकास बैंकमा हिनामिना

सिन्धुु विकास बैंकमा हिनामिना


काठमाडौँ । सिन्धुु विकास बैंकको दोलालघाट शाखामा ग्राहकको निक्षेप रकम हिनामिना देखिएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले रकम हिनामिना गरेको अभियोगमा उक्त बैंकको दोलालघाट शाखा प्रमुख सुमन खरेललाई पक्राउ गरेपछि उक्त शाखामा ग्राहकको रकम हिनामिना भएको पुष्टि भएको हो ।

सीआईबीका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक श्याम कुुमार महतोका अनुसार रकम हिनामिना गरेको अभियोगमा सोमबार पक्राउ परेका काभ्रेको साबिक भुम्लुटार गाविस हाल भुम्लु गा.पा. वडा नं. ८ घर भएका ३१ वर्षीय खरेललाई मंगलबार सात दिनको म्याद थप गरिएको हो ।

प्रारम्भमिक अनुसन्धानअनुसार सिन्धु विकास बैंकको काभ्रे, दोलालघाट शाखाले दैनिकरुपमा संकलन हुने कारोबारबाट जम्मा भएको मौज्दात रकमलाई एनसीसी बैंकको सिन्धुपाल्चोकको बाह्रबीसे शाखामा नियमितरुपमा जम्मा गर्ने गरेको थियो ।

‘तर सिन्धुु विकास बैंकको दोलालघाट शाखामा कार्यरत शाखा प्रमुख खरेलले एक करोड ७९ लाख ९० हजार आठ सय ५५ रुपैयाँ एनसीसी बैंकको खातामा जम्मा नगरी आफूले रकम निकाली बैंकको सम्पत्ति अपचलन गरेको देखियो’, सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक महतोले भने । यसरी ग्राहकको निक्षेप रकम अपचलन गरी बैंकिङ कसुर गर्ने कार्यमा संलग्न खरेललाई कात्तिक ८ गते पक्राउ गरी उच्च अदालत पाटनबाट सात दिनको म्याद थप गरिएको प्रवक्ता महतोले जानकारी दिए ।

पक्राउ परेका खरेलमाथि हाल बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम आवश्यक कानुनी कारबाहीका लागि अनुसन्धान भइरहेको पनि प्रवक्ता महतोको भनाइ छ । ‘सामान्यतया रकम अपचलनसम्बन्धी यस्तो घटनामा सामान्यतया दुई जना व्यक्ति संलग्न हुुने गरेको देखिन्छ, एउटा रकम लाने ल्याउने र अर्को रकमको हिसाबकिताब चुस्त दुरुस्त राख्ने तर सिन्धुु विकास बैंकको दोलालघाट शाखामा भएको रकम अपचलनमा भने हालसम्म खरेलको मात्र संलग्नता देखिएको छ’, प्रवक्ता महतोले भने ।

उक्त शाखामा पहिला रकम लाने ल्याउने काम खरेलले गर्ने गरेको र पछि सोही व्यक्तिलाई नै बैंकले उक्त शाखाको इन्चार्ज दिएकाले पनि हालसम्मको अनुसन्धानमा खरेलको मात्र संलग्नता देखिएको हो । अनुसन्धान गर्दै जाँदा अन्य कर्मचारीहरुको पनि संलग्नता देखिए उनीहरुमाथि पनि अनुसन्धान हुने उनले बताए ।


क्याटेगोरी : breaking, समाचार


तपाईको प्रतिक्रिया