Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारदुई सय ३१ बैंक तथा वित्तीय संस्था मर्जरमा सामेल

दुई सय ३१ बैंक तथा वित्तीय संस्था मर्जरमा सामेल


काठमाडौं । हालसम्म दुई सय ३१ वटा बैंक तथा वित्तीय संस्थाहरु मर्जर तथा प्राप्ति प्रक्रियामा सामेल भएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले बैंक तथा वित्तीय संस्था गाभ्ने, गाभिने तथा प्राप्तिसम्बन्धी प्रक्रिया सुरु गराएपश्चात् २०७८ भदौ मसान्तसम्ममा कुल दुई सय ३१ वटा बैंक तथा वित्तीय संस्था मर्जर तथा प्राप्ति प्रक्रियामा सामेल भएका हुन् । यसमध्ये एक सय ७२ वटा संस्थाको इजाजत खारेज हुन गई कुल ५९ वटा संस्था मात्र कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुको कुल संख्या भने यस अवधिमा एक सय ३२ वटा कायम भएको छ । सो अनुरुप २७ वटा वाणिज्य बैंक, क्षेत्रीय र राष्ट्रियस्तरका समेत गरी १८ वटा विकास बैंक, १७ वटा फाइनान्स कम्पनी, ६९ वटा लघुवित्त वित्तीय संस्था र एउटा पूर्वाधार विकास बैंक सञ्चालनमा रहेको राष्ट्र बैंकले जानकारी दिएको छ । सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकहरुले भने सात सय ५० स्थानीय तहमा शाखा विस्तार गरेका छन् ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी चालू आर्थिक वर्षको दोस्रो महिनाको विस्तृत प्रतिवेदनअनुसार सातवटा प्रदेशका सात सय ५३ स्थानीय तहमध्ये अब वाणिज्य बैंकहरुको शाखा पुग्न बाँकी रहेको स्थानीय तहको संख्या तीन मात्र रहेको छ । जसमध्ये धादिङ जिल्लाको रुवीभ्याली, जाजरकोट जिल्लाको जुनीचाँदे गाउँपालिका र बझाङ जिल्लाको काँडा गाउँपालिका समेत गरी तीनवटा जिल्लाको तीन स्थानीय तहमा वाणिज्य बैंकहरुको शाखा पुग्न बाँकी देखिएको छ ।

यस अवधिमा बैंक तथा फाइनान्स कम्पनीहरुको कुल शाखा संख्या भने १० हजार आठ सय ३२ पुगेको छ । जसमध्ये वाणिज्य बैंकहरुको कुल शाखा संख्या चार हजार सात सय ७५, विकास बैंकहरुको एक हजार २९, फाइनान्स कम्पनीहरुको दुई सय ३७ र लघुवित्त वित्तीय संस्थाहरुको चार हजार आठ सय ४१ वटा शाखाहरु सञ्चालनमा रहेका छन् । राष्ट्र बैंकका अनुसार यसअघि अर्थात् २०७८ असार मसान्तसम्ममा बैंक तथा फाइनान्स कम्पनीहरुको कुल शाखा संख्या १० हजार छ सय ६३ रहेको थियो ।

राष्ट्र बैंकका अनुसार २०७८ को भदौ मसान्तसम्ममा प्रदेश नम्बर एकमा एक सय ३७ स्थानीय तह रहेकोमा एक सय ३७ स्थानीय तहमा बैंकहरुको शाखा पुगेको छ । प्रदेश नम्बर दुईमा पनि एक सय ३६ स्थानीय तह रहेकोमा एक सय ३६ स्थानीय तहमा नै बैंकहरुको शाखा पुगेको छ । बागमती प्रदेशमा भने एक सय १९ स्थानीय तह रहेकोमा एक सय १८ स्थानीय तहमा बैंकहरुको शाखा पुगेको छ । यसैगरी गण्डकी प्रदेशमा ८५ स्थानीय तह रहेकोमा ८५ स्थानीय तहमा बैंकहरुको शाखा पुगेको छ । लुम्बिनी प्रदेशमा पनि एक सय नौ स्थानीय तह रहेकोमा एक सय नौ नै स्थानीय तहमा नै बैंकहरुको शाखा पुगेको छ ।

Open photo

कर्णाली प्रदेशमा भने ७९ स्थानीय तह रहेकोमा ७८ स्थानीय तहमा बैंकहरुको शाखा पुगेको छ । यसैगरी सुदूरपश्चिम प्रदेशमा ८८ स्थानीय तह रहेकोमा ८७ स्थानीय तहरुमा बैंकहरुको शाखा पुगेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया